साेमबारबाट अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक खण्डको कालिकोटको गगने खोलाको सडक एकतर्फी सञ्चालनमा आएको हो।लेदोसहितको पहिरोले गगने खोलाको सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाउन मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन (जेसिबी) परिचालन गरेर बिहान साढे ९ बजेतिर सडक सञ्चालनमा ल्याइएको हो।
गगने खोलामा आएको लेदोसहितको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक सञ्चालनमा आएको कालिकोट प्रहरीले जनाएको छ। सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालिकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन्।
लगातार पानी परिरहेकाले फेरि पनि पहिरो आउन सक्ने भन्दै सडक डिभिजन कार्यालय जुम्लाले एउटा जेसिबी मेसिन त्यही नजिकै राखेको छ भने अर्को मेसिन हुल्म पठाइएको प्रहरीले जनाएको छ। त्यस्तै, सोमबार बेलुकी झरेको कर्णाली राजमार्गको कालिकोट-जुम्ला सडक खण्डमा पर्ने खाँडाचक्र-५ बिहानी खोला र वडा -४ मा पर्ने छेकाको पहिरो राति नै हटाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २० श्रावण २०८२ १०:३९ मंगलबार





