२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

उज्यालोको खोजीमा दृष्टिविहीन राना दम्पती

शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका रामा राना र सुदामा राना जन्मजात दृष्टिविहीन दम्पती हुन्। दुवै जनाले जन्मैदेखि संसार देख्न पाएनन्। जीवनलाई बुझ्ने र महसुस गर्ने दृष्टि भने गुमाएका छैनन्।

विसं २०५२ मा गाउँकै बासिन्दाकै पहलमा विवाह बन्धनमा बाँधिएका हुन्। दृष्टिविहीन भएकाले दुवैको सहारा उनका छिमेकी छन्। अहिले पनि रामा सुदामा दम्पती छिमेकीकै सहयोगमा सानो घरमा बसोबास गर्छन्। त्यो घर पनि गाउँका बासिन्दाले बनाइदिएका हुन्। “आमाबुबाले जग्गा राख्नुभएन, अहिले बस्नका लागि छ–सात धुर जग्गा मात्र छ। त्यसमै असल छिमेकीले घर बनाइदिंदा बस्न पाएका छौं”, रामाले भने।

दुवैले अपाङ्गका आधारमा नीलो कार्ड पाएका छन् र वडा कार्यालयबाट नियमित भत्ता पाउँछन्। यही भत्ताको रकम नै दृष्टिविहीन दम्पतीको मुख्य आम्दानीको स्रोत हो। “त्यही पैसाले नुन, तेल, चामल, दाल, साबुन र औषधोपचारका लागि खर्च गर्छौं”, सुदामा बताउँछन्।

छिमेकीहरूले दुवै जनाका लागि खाना पकाउनेदेखि घर सफा गर्ने लगायत दैनिक कार्यमा सहयोग गर्छन्। सुदामा अनुमान र अन्दाजका भरमा कपडा धुन्छिन् र ससाना घरायसी काम आफैं गर्न प्रयास गर्छिन्। “सहारा कोही छैन, जो आउँछन् ती नै हेर्छन्”, रानाले भनिन्। दुवैका सन्तान भने छैनन्।

रामाले झारफुक पनि गर्छन्। उनका अनुसार बाल्यकालदेखि नै यो सीप सिकेका हुन्। “झारफुक गराउँदा ठीक भएका मानिसहरूले खुसी भएर केही पैसा दिनुहुन्छ, कहिलेकाहीँ घरमै बोलाएर पनि आउनुहुन्छ”, उनले भने। यही सानो आम्दानीले पनि घरखर्चमा केही राहत पुग्ने गरेको उनी बताउँछन्।

“आँखा देखिँदैन तर मनको उज्यालो कहिल्यै निभ्दैन”, सुदामा मुस्कुराउँदै भन्छन्। रामा र सुदामाको जीवन जिउने सकारात्मक  सोचले जीवन दृढ बनाएको स्थानीय नवराज पन्तले बताए। “दृष्टिविहीन राना दम्पती अत्यन्तै सरल र सकारात्मक सोच भएका व्यक्ति हुन्”, उनले भने, “कठिनाइका बीच पनि दुवै कहिल्यै गुनासो गर्दैनन्, बरु उनीहरूको आत्मबलले गाउँका अरूलाई पनि जीवनप्रतिको दृष्टिकोण सिकाएको छ।”

गाउँका बासिन्दा राना दम्पतीलाई साँचो माया र सहानुभूतिको उदाहरणीय जोडी रूपमा वर्णन गर्छन्। जीवनमा दृष्टि नभए पनि उनीहरूले एक अर्कामा उज्यालो पाएका छन्। अँध्यारो संसारमा पनि आत्मबल, माया र सहानुभूतिको उज्यालोले कसरी जीवनलाई अघि बढाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन् रामा र सुदामा राना।  

प्रकाशित: २२ आश्विन २०८२ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App