१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : पर्यटकको अवस्थाबारे जानकारी दिन ‘सूचना डेस्क’ स्थापना गरिने

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका तथा उद्धार गरिएका पर्यटकको बारेमा जानकारी दिन ‘सूचना डेस्क’ स्थापना गरिने भएको छ।

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन व्यवसायी सङ्घसंस्थाबीच आइतबार भएको बैठकले बाढीमा बेपत्ता भएका पर्यटकको खोजी तथा उद्धारकार्यलाई तीव्र बनाइ आवश्यक जानकारी दिन ‘सूचना डेस्क’ स्थापना गर्ने निर्णय गरेको हो।

बैठकले बेपत्ता पर्यटकको खोजीका लागि समन्वय बढाउने र एकीकृत सूचना प्रणाली लागू गर्ने निर्णय गरेको विभागका महानिर्देशक रामकृष्ण लामिछानेले बताए।

बैठकले बोर्ड, विभाग, पर्यटक प्रहरी र पर्यटन क्षेत्रका छाता सङ्गठनको प्रतिनिधित्व रहने गरी एक ‘सूचना डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ। उक्त डेस्कले उद्धार गरिएका, बेपत्ता भएका र समग्र स्थितिको नियमित जानकारी दिने महानिर्देशक लामिछानेले बताए।

यस्तै, बैठकले पर्यटन व्यवसायी तथा ट्राभल कम्पनीले आफ्ना सम्पर्क व्यक्ति (फोकल पर्सन)मार्फत बेपत्ता पर्यटकको आधिकारिक विवरण उपलब्ध गराउनुपर्ने र सम्बन्धित दूतावाससँग समन्वय गर्न आग्रह गरेको छ। बेपत्ता पर्यटकका परिवारलाई सम्बन्धित कम्पनीमार्फत समयमै र सही जानकारी उपलब्ध गराउने सुनिश्चितता गरिनेछ।

यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत पर्यटकको मात्र विवरण (उद्धार गरिएका, बेपत्ता वा मृतक) हेर्नेगरी छुट्टै एकाइ स्थापना गर्न मन्त्रालयमार्फत अनुरोध गर्ने, बाढीका कारण पर्यटन पूर्वाधारमा पुगेको क्षतिको विवरण सङ्कलन गरी बुझाउन व्यवसायीलाई आग्रह गरिएको छ।

प्रकाशित: १५ भाद्र २०८३ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App