रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी घाइते भएकामध्ये काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ३३ जना डिस्चार्ज भएका छन्।
उद्धार गरी ट्रमा सेन्टर ल्याइएका कुल ४८ जना घाइतेमध्ये स्वास्थ्यमा सुधार आएपछि ३३ जनालाई डिस्चार्ज गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार हाल ट्रमा सेन्टरमा १५ जना घाइतेको उपचार भइरहेको छ। अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यसैबीच, बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन नागरिकका आफन्तजनलाई सूचना आदानप्रदानमा सहजता पुर्याउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ।
सहायता कक्षमार्फत परिवारका सदस्यहरूले घाइतेको पछिल्लो स्वास्थ्य अवस्था बुझ्ने र सम्पर्कविहीन आफन्तको विवरण टिपाउने कार्य गरिरहेको प्रवक्ता थापाले जानकारी दिए।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै तीव्र गतिमा जारी रहेको प्रहरीले जनाएको छ।
सरकार तथा सुरक्षा निकायले उद्धार गरिएका घाइतेको उपचारसँगै हराइरहेकाहरूको खोजी र पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखेका छन्।
प्रकाशित: १५ भाद्र २०८३ १६:३७ सोमबार





