१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : हालसम्म २८९ पर्यटकको उद्धार, ५९१ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ को उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये २८९ विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिए।

उद्धार गरिएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतका रहेका छन्। हालसम्म भारतका १८०, चीनका ८९, माल्टा चार, जर्मन चार, इटाली, रसिया, टर्की र अमेरिकाका दुई–दुई, बुल्गेरिया,ओमन, पोर्चुगल र स्वीजरल्यान्ड एक–एक, पर्यटकको उद्धार गरिएको हो।

यस्तै, विभिन्न देशका ५९१ पर्यटक अझै सम्पर्कविहीन छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धारकार्यलाई तीव्र पारेका छन्। घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ।

यस्तै, बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले पर्यटकलाई यात्रा गर्दा सडक र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न बोर्डले आग्रह गरेको छ।

बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ। बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित: १५ भाद्र २०८३ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App