आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यान बनाइने भएको छ। उद्यानको राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शिलान्यास गरेका छन्।
भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्तरुप दिने चिन्तन समेटिएको छ। रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा स्थापना, त्यसको भित्रीभागमा भानुभक्तको जीवनीको झलक, उपयुक्त स्थानमा भानुभक्तसहित नेपालका विविध भाषाका आदिकवि र प्रमुख स्रष्टाका मूर्ति स्थापना भानुभक्तको साहित्यिक व्यक्तित्वलाई चिनाउने अवधारणा समावेश छ। रामायण मन्दिर निर्माण गरी भानुभक्तको कृतित्वलाई मूर्त रूप दिने अवधारणा पनि छ।
त्यसैगरी साहित्यग्राम, प्रज्ञाभवन, वनस्पति उद्यान र मनोरञ्जन उद्यान निर्माण गर्नु र भानुभक्तकालीन वस्ती र बजार क्षेत्र विकास गर्ने अवधारणा योजनामा रहेका छन्। उद्यानको अर्को प्रमुख अवधारणा सप्तधाम निर्माण गर्ने रहेको छ। यो अवधारणा वर्तमान नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातैप्रदेश र प्रमुख सांस्कृतिक स्थलका लघु संरचना निर्माण गर्ने तयारी छ।
यसअन्तर्गत नेपालको सात प्रदेशका सात प्रसिद्ध धाम निर्माण गरिने छ। पहिलो चरणमा कोशीको बराहक्षेत्रधाम, मधेशको जनकपुरधाम, बाग्मतीको पशुपतिनाथधाम, गण्डकीको मुक्थिनाथ धाम, लुम्बिनीको लुम्बिनीधाम, कर्णालीको चन्दननाथधाम र सुदूपश्चिमको वैद्यनाथधाम समेटिएका छन्। उद्यानको शिलान्यास गर्दै राष्ट्रपति पौडेलले स्रष्टा मुलुकको पूँजी र पहिचान भएकाले स्रष्टाको सम्मान गरी भाषा, साहित्यको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए।
भानु साहित्य उद्यानलाई नेपालको साहित्यिक तथा सांस्कृतिक स्वरुपलाई जीवन्तता प्रदान गरी नेपाल र नेपालीको पहिचानलाई अझ अगाडि बढाउने अभियानका रूपमा बुझ्न जरुरी रहेको उनले बताए। संघीय र प्रदेश सरकारसँग यस क्षेत्रको पहुँच मार्गका रूपमा रहेको कच्ची सडकलाई सुदृढीकरण गर्न र खानेपानीको आपूर्तिका निम्ति स्थायी स्रोत पहिचान गरी तत्काल कार्यान्वयन गर्न पनि उनले आग्रह गरे।
‘भौतिक निर्माणको चरण प्रारम्भ भएको छ, त्यसलाई सघाउन सबै पक्षले आ–आफ्नो क्षेत्रबाट योगदान दिनु जरुरी छ। निर्माणको चरण समाप्त नहुँदै चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकाताको केन्द्रका रूपमा समृद्ध बनाउन यो योजना अघि बढाउनु आवश्यक छ,’ उनले भने।
राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशका साहित्यकारलाई चुँदी रम्घामा आमन्त्रण गरी साहित्यिक, सांस्कृतिक कार्यक्रम आयोजना गर्न, विद्यार्थीको शैक्षिक भ्रमणमा चुँदी रम्घालाई अनिवार्य गन्तव्यका रूपमा समावेश गर्न तथा पदमार्गको विकास एवम् चुँदी रम्घालाई रामायण र नेपाली संस्कृतिका अन्य केन्द्रसँग जोड्ने योजना बनाई सबै प्रकारका पर्यटकलाई चुँदी रम्घामा पुर्याउने योजना बनाउनुनपर्नेमा जोड दिए।
‘भानुभक्तले आजभन्दा दुई सय वर्षअघि संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरी प्राचीन संस्कृतिसँग नेपाली समाजको भावनात्मक सम्बन्ध मजबुत तुल्याएको छ,’ उनले भने, ‘भानुभक्तका कवितामा पाइने नेपाली भाषाको सहज प्रयोग तथा नेपाली लोकलयको मिठासका कारण उनका कविताले नेपाली साहित्यको जग मजबुत तुल्याएका थिए।’
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रधानमनत्रीत्वकालमा २०५३ मा नेपाल सरकारले भानु जन्मस्थल विकास समिति गठन गरेको तथा पछि आफूले २०७० तिर भानु साहित्य उद्यानको अवधारणा प्रस्ताव गरेको राष्ट्रपतिले बताए। भानु साहित्य उद्यानको परिकल्पनालाई साकार तुल्याउन सुरुमा भानु नगरपालिकामार्फत् योजना अघि बढाउनु परेको र अहिले शहरी विकास मन्त्रालयबाट यो आयोजना अघि बढ्न थालेको छ।
प्रकाशित: १४ वैशाख २०८३ १६:४७ सोमबार



-600x400.jpg)

