२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

महंगो बन्दै बास्सा नाच, जोगाउनै मुस्किल

बागलुङ बजारमानिकालिएको बास्सा नाच । तस्विरः संगम/नागरिक ।

सबैभन्दा अगाडि गणेश । त्यसपछि रामसीता, लक्ष्मण र अनुमानको पोशाकमा सजिएका व्यक्तिहरु अगाडि अगाडि छन् । पछिपछि राम सीताको कथामा भजन चलिरहेको छ । यो दृश्य हो, बागलुङमा प्रस्तुत गरिएको बास्सा नाचको । प्याखं अर्थात् बास्सा नाच नेवारी संस्कृतिको प्रमुख नाच हो । भक्तपुरबाट बागलुङ आएसंगै बागलुङमा देखाईदै आएको यो नाच जोगाउन अब कठिन हुँदै गएको छ । आर्थिक रुपमा पनि खर्चिलो हुने र कलाकारको सहभागिताको हिसाबले पनि धेरै चाहिने भएकाले अहिले यसप्रति कम रुची हुन थालेको छ ।  

जनैपूर्णिको भोलीपल्ट प्रतिपदा तिथीमा निकाल्ने यो नाच झण्डै हराउने अवस्थामा पुगेपछि अहिले यसको संरक्षणको प्रयास थालिएको छ । बास्सा नाच गाईजात्राकै एउटा भाग हो । गाईजात्रा देखाउँदा बास्सा नाचलाई समावेश गरिन्छ । मुख्यरुपमा वर्षभरी दिवङ्गत भएका परिवारबाट यो नाच िनकाल्ने चलन थियो । पछिल्लो समय दिवङ्गत व्यक्तिको परिवारजनले यो नाच निकाल्ने आँट गर्न छोडेपछि अहिले सामुहिक रुपमा निकाल्न थालिएको छ । राधाकृष्ण मन्दिर सेवा समितिको अगुवाईमा बास्सा नाच जोगाउने प्रयास जारी रहेको समितिका अध्यक्ष रमेशकुमार राजभण्डारी बताउँछन् ।

‘गाईजात्राकै अंशहो, दिवङ्गत व्यक्तिको घरबाट निकाल्ने चलन थियो,’ उनी भन्छन्,‘पछिल्लो समय मृतक परिवारबाट यो नाच निकाल्ने चाहाना कम हुँदै गएपछि मैले नै प्रयास गरेर २०७५ सालदेखि राधाकृष्ण मन्दिरबाट सामुहिक रुपमा निकाल्न थालेका छौं ।’ यो नाच धेरै नै खर्चिलो हुने भएकाले पनि दिवङ्गत व्यक्तिको परिवारले नाच निकाल्ने आँट नगर्ने गरेको उनी बताउँछन् । ‘यो नाच दिवङ्गत व्यक्तिको योगदानको बारेमा गीत बनाएर गाउने र चर्चा गर्ने गरी नाचिने नाच हो,’उनले भने,‘त्यसका लागि मृतक व्यक्तिको बारेमा पहिले कालाकारले गीत तयार गर्नुप¥यो त्यसपछि रिहसल गर्दा १५÷२० दिन लागि हाल्ने कलाकारको समूह पनि ठूलो हुने र उनीहरुलाई खाजा खुवाउने तथा श्रृङ्गार लगायतमा धेरै खर्च हुने गर्दा धनी परिवारले पनि यो नाँच सञ्चालनका लागि आँट गर्दैनन् ।’  

अहिले राधाकृष्ण मन्दिर सेवा समितिले यो नाच निकाल्न थालेपछि दिवङ्गत परिवार सबैले यसैमा हातेमालो गर्ने गरेको उनले सुनाए । ‘एउटै परिवारले नाच सञ्चालन गर्ने आँट नगरे पनि हामीले गरेको कार्यक्रममा हातेमालो भने गर्न आएका छन्,’ उनी भन्छन्,‘त्यसबाट कलाकारको श्रृङ्गार खानाखाजा खर्च उठ्छ ।’ ८÷१० जना कलाकारलाई भगवानको रुप दिन धेरै नै श्रृङ्गार गर्नुपर्ने भएकाले त्यसमा पनि खर्च आउने गरेको उनले बताए । ‘राधा, पार्वती, सीता बनाउनका लागि श्रृङ्गार गर्न व्युटिपार्लरमै पठाउनुपर्छ,’उनले भने,‘अहिले पोशाकहरु भने सबै हामीले किनेर ल्याएका छौं ।’  

वर्षभरी मृत्यु भएका व्यक्तिहरुको दिवङ्गत आत्माको चिरशान्तिका लागि यो नाच निकाल्ने गरिन्छ । उमेर नपुगेको व्यक्तिको मृत्यु भएको डोकोमा बसाहा बनाई प्रदर्शन गरिन्छ भने महिलाको मृत्यु भएमा बाँसबाट निर्मित तायमचालाई रंगिन कपडा बेरेर प्रदर्शन गर्ने गरिन्छ । पुरुष व्यक्तिको मृत्यु भएको खण्डमा सेतो कपडामा गाईको फोटो र मृतकको फोटो सजाई नगर परिक्रमा गराईने प्रचलन रहेको राजभण्डारी बताउँछन् । राभण्डारीका अनुसार पुराणमै यमलोकको ढोका वर्षभरी नै बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतकका आत्माले यमलोक प्रवेश पाउने विश्वासका साथ यो नाच देखाईन्छ ।  

बास्सा नाच निकाल्दा गणेश शिवपार्वती, राधाकृष्ण, राम सीता, लक्ष्मण र हनुमानको रुपमा कलाकारहरुलाई सिंगार्ने चलन छ । अचेल कलाकार पाउने गाह्रो पर्न थालेको राजभण्डारी बताउँछन् । ‘रिहसल पनि गर्नुपर्छ, त्यसमाथि श्रृङ्गार गरेर बस्नुपर्ने भएका कारण कलाकार बन्ने मान्छे पाउनै कठिन हुन थालेको छ,’उनले भने,‘भवगानको रुप धारण गर्ने भएपछि त्यसको श्रृङ्गारमा लामो हुन्छ ।’ राधाकृण मन्दिर सेवा समितिमार्फत विभिन्न संस्कृतिक र परम्पराको जगेर्ना गर्ने प्रयास गरिरहेको राधाकृष्ण मन्दिर सेवा समितिका सचिव हरिप्रसाद उपाध्याय बताउँछन् । ‘हाम्रा विभिन्न चलन र संस्कृति छन् हामीले समितिमार्फत हिन्दु परम्परा अनुसारको संस्कृति जोगाउन हरदम लागि रहेका छौं ।’  

बागलुङमा नेवारी संस्कृति हराउन नदिनकालागि नेवार युवाहरुको संस्था नेवा ल्याम्हपुचले भदोरौ जात्राको विशेष संयोजन गर्दै आएको यस संस्थाका अध्यक्ष जय राजभण्डारी बताउँछन् । ‘युवा पुस्ताको सहभागिता भएन भने हाम्रो संस्कार र संस्कृति हराएर जान्छ भनेर हामीले युवाहरुलाई विशेष सहभागीता गराउनका लागि पहल गरिरहेका छौं,’ उनले भने, ‘संस्कृति जोगाउने र पुस्ता हस्तान्तरण गर्ने प्रयास छ ।’  

नेपाल भाषा मंकाखलःबागलुङमा सचिव सुदिप राजभण्डारीले नेवारी संस्कृतिका बाजा र संगितहरुको संकलन गर्ने कार्य भैरहेको बताए । ‘हामीले संस्कृति अन्तर्गतका बाजा र गीतहरुको संकलन गर्ने, पोशाकहरु संकलन गर्ने र युवा पुस्तालाई यसप्रति लाग्न जागरुक बनाउने काम गरेका छौं, ’उनले भने ।  

यसपटक बास्सा नाच राधाकृष्ण मन्दिरमा निस्किएको र ६ वटा परिवार बा गाईजात्रा निस्किएको नेपाल भाषा मंकाखलःबागलुङका अध्यक्ष जयराम भारीले जानकारी दिए । ‘बास्सा नाच न सामुहिक रुपमा निकाल्न थालिएको छ, बागलुङ ६ जना व्यक्तिको यो वर्ष मृत्यु भएको थियो, उहाँहरुको परिवारबाट गाईजात्रा निकालिएको छ,’अध्यक्ष भारीले भने ।

प्रताप मल्लले छोराको मृत्युपछि शोकमा डुबेकी रानीलाई खुसी पार्न गाईजात्राको प्रारम्भ गरेको बताईन्छ । आफ्नो घरमा जस्तो शहरमा धेरैको एक वर्षमा मृत्यु भएको भनेर रानीको चित्त बुझाउन यो परम्पराको थालनी गरेको भन्ने भनाई छ । भक्तपुरबाट बागलुङमा विभिन्न पेशा व्यवसाय गर्न आएका नेवार समुदायले आफुसंगै ल्याएको संस्कार संस्कृतिहरु अहिलेसम्म जोगाएर राखेका छन् । सोमबारदेखि कृष्ण जन्माष्टमीसम्म भदौरे जात्राअन्तर्गतका विभिन्न जात्रा प्रस्तुत गर्ने मंकाखलःबागलुङले जनाएको छ ।  

प्रकाशित: २५ श्रावण २०८२ १६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App