‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा कुरा गरेको तीन दिनपछि रसुवामा बाढीले सबै बगायो रे भन्ने सुनेँ। मेरी कान्छी बाँच्यो होला कि नहोला ?‘
बाँकेको राप्तीसोनारी गाउँपालिका-२ राजपुरकी ८३ वर्षीया खीमादेवी पुनमगरको आँखामा अहिले यही एउटा प्रश्न मात्र घुमिरहेको छ।
चाउरी परेको अनुहार, धमिलिँदै गएको दृष्टि, आँखाभरि टिलपिलाएका आँसु र हातमा पटुकाको पुरानो फेरो। त्यही फेरोले घरीघरी आँसु पुछ्दै उनी रसुवाको चीन सीमा नजिकै खाजा पसल सञ्चालन गर्दै आएकी आफ्नी कान्छी छोरी एकमाया पुन मगर (केसी) लाई सम्झिन्छिन्।
‘छोरीले तिहारमा घर आउँछु भनेकी थिई। घर आउँछु भनेर मायाले फोन गरेकी छोरी आज कहाँ पुगी, कस्तो अवस्थामा छे, केही थाहा छैन,’ खीमादेवीले भक्कानिँदै गहभरि आँसु पारेर भनिन्, ‘छोरी जिउँदै फर्केर आओस्, मलाई यो बुढेसकालमा त्योभन्दा ठूलो अरू केही चाहिँदैन।’
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बस्ती, सडक र जलविद्युत् आयोजनाका संरचनासँगै सयौँ नागरिकलाई बगाएर बगर बनाइदिएपछि खीमादेवीको मनमा छोरीको चिन्ताले गहिरो घर गरेको छ। भदौ १० गते नै बाढीले सबै सखाप पारेको खबर उनले आफ्नी माइली बुहारी तिलाकुमारी पुनमगरबाट थाहा पाएकी थिइन्।
बुहारीले मोबाइलको सानो पर्दामा बाढीको उर्लँदो भेल र उर्लिएको लेदोको भिडियो देखाएपछि खीमादेवीको मन झनै अत्तालियो। त्यसयता उनका आँखाले छोरी आउने मूल बाटो कुरिरहेका छन्।
कानले कतैबाट छोरीको मीठो आवाज सुन्न खोजिरहेको छ। तर, दिन बित्छ, फोनको घण्टी बज्दैन। कुनै गतिलो खबर आउँदैन। टेलिभिजन र रेडियोबाट आउने हरेक विपद्का सूचनाले उनलाई आशाभन्दा बढी अनिष्टको डर दिइरहेको छ।
‘मलाई धनसम्पत्ति केही चाहिँदैन,’ खीमादेवीले पटुकाको फेरोले आँखाको डिल पुछ्दै भनिन्, ‘मेरी छोरी मात्रै फर्केर आओस्। उसले फोनमा वाचा गरे जस्तै यो तिहारमा आँगनमा आइपुगोस्। म उसलाई आफ्नै आँखाले एकपटक देख्न पाऊँ।’
शव भेटिएको सरकारी खबर, तर मान्न तयार छैन आमाको मन
चौवालीस वर्षीया एकमाया विगत पाँच वर्षदेखि रसुवामा आफ्नै खाजा पसल सञ्चालन गर्दै आएकी थिइन्। श्रीमान् प्रकाश केसीसँग करिब १२ वर्षअघि कामको सिलसिलामा काठमाडौं छिरेकी उनले पछि उत्तरी सीमाक्षेत्र रसुवा पुगेर व्यवसाय सुरु गरिन्। दुई छोराकी आमा एकमायाको पसल राम्रो चल्न थालेपछि उनले गाउँबाट आफ्नै नातेदार तथा बेरोजगार आफन्तहरूलाई पनि कामको अवसर दिएर उतै बोलाएकी थिइन्।
तर, भदौ १० को कालो बिहानीले सबै सपना चकनाचुर पारिदियो। बाढीपछि एकमाया अन्य हजाराैं नागरिक जस्तै एकाएक सम्पर्कविहीन बनिन्।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक बेपत्ताको सूचीमा उनको नाम समावेश भयो। त्यसको केही समयपछि उनको शव तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पूर्वबेँसी भन्ने स्थानमा भदौ ११ गते फेला परेको सरकारी विवरण सार्वजनिक भयो।
सरकारी कागजमा नाम दर्ता भए पनि परिवारका लागि त्यो विवरणले अझै पूर्ण निश्चितता दिएको छैन। परिवारका सदस्यहरूले अझै पनि त्यो कठोर सत्यलाई आत्मसात् गर्न सकिरहेका छैनन्। अझ ८३ वर्षीया आमाको मनले त छोरीको मृत्यु भइसकेको कुरा कुनै हालतमा स्विकार्न मानेको छैन।
‘मेरी छोरी नै हो भनेर म कसरी मानूँ ? उसले त भर्खरै घर आउँछु भनेर मीठो स्वरमा फोन गरेकी थिई,’ खीमादेवीले अडिग विश्वास व्यक्त गर्दै भनिन्, ‘मेरी छोरी कतै ओडारमा वा अस्पतालमा बाँचेर बसेकी पो छे कि ? एकपटक घरको आँगनमा आएर ‘आमा’ भनेर बोलाइदिए मलाई पुग्छ।’
एकमायासँगै कामको सिलसिलामा रसुवा पुगेकी उनकै भतिजी जानकी घर्तीमगर र भतिज सेतुनाथ योगी पनि बाढीपछि बेपत्ता छन्।
गाउँमै बेरोजगार अवस्थामा रहेका आफन्तलाई सहारा र रोजगारी दुवै हुने ठानेर एकमायाले उनीहरूलाई आफ्नै खाजा पसलमा काममा लगाएकी थिइन्। तर, रोजगारीको खोजीमा रसुवा पुगेका यी युवाहरूको परिवार अहिले बाँकेको राजपुरमा एउटा-एउटा फोनको घण्टी र एक-एक खबरको प्रतीक्षामा छटपटाइरहेको छ।
राजपुर निवासी तिलक घर्तीमगरकी छोरी जानकी घर्तीमगर अहिले पनि बेपत्ताको सूचीमै छिन्। जानकीको रसुवा यात्रा रहरले होइन, बाध्यताले तय भएको थियो।
वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर एक दलालले उनीबाट ५ लाख रुपैयाँ ठगेर फरार भएको थियो। त्यसपछि गाउँको सहकारीबाट लिएको चर्को ऋणको किस्ता तिर्नुपर्ने दबाब परेपछि जानकी काम खोज्दै फुपु एकमायाको पसलमा पुगेकी थिइन्।
छोरीलाई रसुवा नजान बारम्बार आग्रह गरेको त्यो क्षण सम्झिँदा अहिले पनि तिलकका आँखा रसाइहाल्छन्।
‘मैले छोरीलाई त्यति टाढा नजा, उतै काम गर्न पर्दैन भनेको थिएँ। बरु म यतै ऋणपान गरेर भए पनि एउटा विद्युतीय रिक्सा किनिदिन्छु, गाउँघरमै चलाएर बसौँला भनेको थिएँ,’ तिलकले विगत सम्झिँदै भने, ‘तर उसले मेरो कुरा मानिन। ‘हैन बुवा, म फुपुकोमा गएर काम सिक्छु, पछि आफ्नै खुट्टामा उभिएर व्यवसाय गर्छु’ भन्थी।’
छोरीको आँट र जिम्मेवारीबोधप्रति गर्व गर्दै तिलकले सुनाए, ‘ऊ हाम्रो घरको छोरी मात्र होइन, छोरा जस्तै थिई।’
तर, छोरी बेपत्ता भएपछि अहिले तिलकको आँगनमा भयानक सन्नाटा छाएको छ। कतैबाट कुनै शुभ समाचार आउने आशामा परिवारका सदस्यहरू एकअर्काको मुख हेरेर दिन काटिरहेका छन्।
‘आजसम्म छोरीको कुनै खबर आएको छैन। मन अत्यन्तै आत्तिएको छ,’ तिलकले रुँदै भनिन्, ‘कहिले जिउँदै छे जस्तो लाग्छ, कहिले केही भइसक्यो कि जस्तो लाग्छ। उसलाई केही भइहाल्यो भने हामी यो बुढेसकालमा कसरी बाँच्ने ?’ यति ठूलो शोकले घेरे पनि तिलकको मनले छोरी सकुशल फर्किने आशा अझै पूर्ण रूपमा मारेको छैन।
जानकीसँगै खाजा पसलमा काम गर्न रसुवा पुगेका राजपुरकै ४७ वर्षीय सेतुनाथ योगीको परिवार पनि अहिले यस्तै छटपटी र अन्योलमा बाँचिरहेको छ। करिब १० महिनाअघि कामका लागि रसुवा पुगेका सेतुनाथका घरमा ३० वर्षीया श्रीमती टीका योगी र दुई साना छोराहरू छन्।
टीका अहिले आफ्ना दुई नाबालक छोराहरूको अनुहार हेर्दै आँखामा आँसु लिएर श्रीमान्को बाटो कुरिरहेकी छिन्।
‘मेरा श्रीमान्लाई केही भइहाल्यो भने मैले यी साना बाबुहरूलाई कसरी हुर्काउने ?’ टीकाले भक्कानिँदै भनिन्, ‘उहाँ बाढीबाट बाँचेर घाइते मात्रै भएर फर्किनुभयो भने पनि म आफ्नो भएको सबै जायजेथा र सम्पत्ति बेचेर उपचार गराउँथेँ। मलाई जसरी भए पनि उहाँ घर फर्किनुभएको हेर्नु छ।’
बाढी आउनुभन्दा ठीक एक दिनअघि साँझ ५ बजे सेतुनाथले घरमा फोन गरेर परिवारका सबै सदस्यसँग कुरा गरेका थिए। आफू पूर्ण सुरक्षित रहेको र आउँदो दसैंमा खर्चसहित घर फर्किने उनले बताएका थिए। त्यो अन्तिम फोन कल अहिले टीकाको मनमा बारम्बार गुन्जिरहन्छ।
‘उहाँले दसैंमा जसरी पनि घर आउँछु भन्नुभएको थियो। त्यो आवाज अझै मेरा कानमा गुन्जिरहेको छ,’ टीकाले भनिन्, ‘दसैंको टीकाको दिनसम्म उहाँ साँच्चिकै ढोकाबाट मुस्कुराउँदै भित्र पस्नुहुन्छ कि भन्ने एउटा झिनो आशा अझै मनमा बाँकी छ।’
उता सेतुनाथका ७६ वर्षीय वृद्ध बुवा हीरानाथ योगीका लागि छोरा बुढेसकालको बलियो सहारा थिए। छोरा बेपत्ता भएको खबर सुनेपछि उनी शारीरिक र मानसिक रूपमा निकै कमजोर बनेका छन्।
‘मेरो बुढेसकालको लौरो थियो मेरो छोरो। दैवलाई पनि के रहर जागेको होला यस्तो बज्रपात पार्न ?’ हीरानाथ काँप्दै सुनाउँछन्, ‘मेरो छोरो बाँचेर आइदिए हुन्थ्यो, मलाई अरू केही चाहिँदैन। छोरो घरको ढोकामा सकुशल आइपुगेको हेर्न पाएँ भने मेरो यो जुनी सार्थक हुन्थ्यो।’
रसुवाको भोटेकोशी बाढीले राजपुरकै अर्का २३ वर्षीय तन्नेरी सुरेश विकलाई पनि परिवारबाट एकाएक टाढा बनाएको छ। रोजगारीका लागि भारतको हिमाचल प्रदेशमा बस्दै आएका सुरेश गाडीको चालक अनुमतिपत्र बनाउने प्रक्रियाका लागि नेपाल फर्किएका थिए। तर सरकारी प्रक्रियामा ढिलाइ भएपछि समय खेर फाल्नुभन्दा रसुवा पुगेर चिनियाँ सामान ओसारपसार गरी व्यापार गर्ने भनेर साथीहरूले बोलाएपछि उनी रसुवा पुगेका थिए।
सुरेशकी काकी पवित्रा विकका अनुसार सुरेशले बाढी आउनुभन्दा एक दिनअघि अर्थात् भदौ ९ गते साँझ घरमा फोन गरेका थिए।
‘सुरेशले फोन गरेर काम राम्रै चलेको छ भनेको थियो। दसैंमा धेरै सामान र खर्च लिएर घर आउँछु भनेको थियो,’ पवित्राले भनिन, ‘त्यसको भोलिपल्टै एकाएक बाढीले सबै बगाएको खबर आयो। त्यसपछि उसको फोन कहिल्यै लागेन।‘
दिनहुँ फोन नलागे पनि परिवारले आशाको दियो निभ्न दिएको छैन। ‘हामीलाई अझै पनि सुरेश बाढीबाट जोगिएर कतै सुरक्षित रूपमा ओत लागेर बसेको होला भन्ने विश्वास छ,’ पवित्राले भनिन्, ‘कतै उद्धार भएर अस्पताल वा शिविरमा बसेको भए उसले एकपटक खबर गरिदिए पनि हाम्रो यो छटपटिएको मन शान्त हुन्थ्यो।’
बाढीले रसुवाका भौतिक घर, पसल, सडक र गाडीहरू मात्र बगाएन, बाँकेका यी विपन्न परिवारहरूको जीवनको बलियो भरोसा र भविष्यलाई समेत अनिश्चितताको भुमरीमा धकेलिदिएको छ।
रसुवाको त्यो विनाशकारी बिहानीपछि बाँकेका यी बस्तीहरूमा आफ्ना मान्छे सकुशल फर्कने आशा र अनिष्टको भयानक डर एकसाथ चलिरहेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको पछिल्लो तथ्याङ्कअनुसार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बाँके जिल्लासँग सम्बन्धित मात्रै २७ जना नागरिक अझै बेपत्ता छन्।
प्रकाशित: १५ भाद्र २०८३ १५:४० सोमबार





