विद्युत महसुलको बक्यौता नतिर्ने ग्राहकको धमाधम लाइन काट्न सुरु गरिएको छ। नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले लाइन काट्न सुरु गरेको हो। लाइन काटेर एक सातादेखि २१ लाख रुपैयाँभन्दा बढी रकम असुल गरिसकेको छ। बक्यौता असुलीका लागि वितरण केन्द्रले ग्राहकमाथि कडाइ गर्दै आएको छ।
नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जकुमार मिश्रका अनुसार विद्युत लाइन काटिएका ग्राहकहरुबाट केन्द्रले २१ लाख ७६ हजार ५ सय १७ रुपैयाँ बक्यौता असुल गरेको छ। बक्यौता असुलीपश्चात १ सय ३३ जना ग्राहकको लाइन पुनः सुचारु गरिएको मिश्रले बताए। यस्तै कालोपाटीमा सूचीकृत मध्ये आइतबार एक जना ग्राहकबाट १ लाख रुपैयाँ असुलउपर गरिएको वितरण केन्द्रले जनाएको छ।
समयमै विद्युत महसुल भुक्तानीका लागि सबै ग्राहकलाई अनुरोध गर्दै वितरण केन्द्र प्रमुख मिश्रले बक्यौता असुलीका लागि लाइन काट्नु बाध्यता भएको बताए। केन्द्रले ६१ दिनभन्दा बढी महसुल बक्यौता रहेका ग्राहकको विद्युत लाइन जुनसुकै बेला काट्न सकिने उल्लेख गरेको छ।
प्रकाशित: २२ मंसिर २०८२ १२:४० सोमबार





