सर्लाहीको गोडैता नगरपालिका–१० का ४२ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। घटनामा गम्भीर घाइते भएका उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मण्डलको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर सर्लाही प्रस्थान गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै मण्डलको अवस्था नाजुक रहेको उल्लेख गरेका छन्। उनले घटनाबारे प्रधानमन्त्री, गृहमन्त्री तथा सम्बन्धित निकायलाई जानकारी गराइसकेको र घाइतेको शीघ्र उद्धार तथा उपचारको व्यवस्था गर्न आग्रह गरेको बताएका छन्।
सांसद सिंहले घाइतेलाई तत्काल हेलिकप्टरमार्फत सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारलाई घटनाप्रति संवेदनशील हुन आग्रह गर्दै आवश्यक सबै सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन्।
यता, आत्मदाहको प्रयास गर्ने विवेक मण्डलका बुवा उपेन्द्र मण्डलले छोराको मानसिक अवस्था केही समयदेखि अस्वस्थ रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार पारिवारिक सदस्यले मण्डलमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको जानकारी दिएका छन्।
डीएसपी गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै गम्भीर घाइते मण्डलको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको बताए।

प्रकाशित: २६ असार २०८३ १८:५० शुक्रबार




-600x400.jpg)