भोटेकोशीमा बाढीका कारण भत्किएका पुल र सडकको पुनर्निर्माण तथा मर्मत गर्न कम्तीमा ३० अर्ब रुपैयाँ खर्च हुने सडक विभागले प्रारम्भिक अनुमान गरेको छ। विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सडक र पुलको पुनर्निर्माण प्रक्रिया विभागले अघि बढाइसकेको छ।
‘क्षतिको विस्तृत अध्ययन सुरु गरिसकेका छौं,’ उनले भने। विभागका अनुसार रसुवाको मितेरी पुलदेखि धादिङको मलेखुसम्म ४१ वटा पुल रहेकोमा ३५ वटामा बाढीले क्षति पुर्याएको छ। तीमध्ये ३२ वटा पूर्ण रूपमा क्षति भएका छन् भने तीन वटामा आंशिक क्षति भएको छ। ६ वटा पुल भने सुरक्षित छन्। ती पुलका कारण त्रिशूली वारिपारि आवातजावात गर्न सहज भएको विभागले जनाएको छ।
विभागअन्तर्गत गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजनाले बेतावत्रीदेखि टिमुरेसम्म सडक पुननिर्माण तथा मर्मत गर्न सोमबार टेन्डर निकालेको छ। इच्छुक ठेकेदार कम्पनीहरूलाई नुवाकोटस्थित आयोजना कार्यालयमै पुगेर वा इमेलमार्फत दरभाउ पेस गर्न बुधबारसम्मको समय दिइएको छ। क्षतिग्रस्त ठाउँमा पर्खाल लगाउने, सडक खन्ने, पहिरो पन्छाउनेलगायत १३ वटा काम ठेकेदार कम्पनीले गर्नुपर्ने छ। विभागले उक्त सडकखण्डमा केही उच्च कर्मचारीलाई केही दिनदेखि खटाएको छ। विभागका अनुसार उक्त खण्डअन्तर्गत हाल ४० किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ भने १० किलोमिटर सडक आंशिक रूपमा क्षति भएको छ। बाढीले टिमुरेमा रहेको मितेरी पुल, दुई बेलिब्रिज पुल तथा हाइड्रो पावरका पुलसमेत बगाएको छ।
कहिले खुल्छ कृष्णभिर?
काठमाडौंको लाइफलाइन नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभिरमा पैदल हिँड्नसमेत नसक्ने गरी पहिरो गएको छ। सडक भासिएको छ। यसैकारण आइतबारदेखि उक्त सडकखण्ड ठप्प छ। कृष्णभिरमा बाटो कहिले खुल्छ भन्ने ज्ञिजासामा सडक विभागका इन्जिनियरहरू अन्योलमा छन्। उनीहरूले सोमबार पहिरो गएकै ठाउँमा पुगेर अध्ययन गर्न सकेनन्। माथिबाट ढुंगामाटो खस्ने र तलतिरबाट नदीले माटो झर्ने गरिरहेकाले ड्रोनबाट सडकको अध्ययन भइरहेको बताइएको छ।
कृष्णभिरको पहिरोबारे अध्ययन गर्न विभागले एउटा टोली पठाएको छ। टोलीले मंगलबारसम्म प्रतिवेदन बुझाउने र त्यसपछि निर्णय गर्ने विभागका महानिर्देशक जैसीले बताए। उनका अनुसार सामान्यता पहाड काटेर या मुनिबाट पर्खाल, पाइल बिछ्याएर बाटो खुलाउने गरिन्छ। ‘तर कृष्णभिरको हकमा कसरी बाटो खुलाउने भन्ने विषयमा अझै केही निर्णय गर्न सकिएको छैन,’ उनले भने, ‘अझै पनि पहिरो गइरहेको छ।’
नागढुंगा–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले भने यही स्थितिमा कृष्णभिरमा सडक खुलाउन ५/६ महिना लाग्न सक्ने बताए। उनका अनुसार दसैंअघि उक्त सडकमा गुडाउन सम्भव नै छैन। किनभने पहाड काटेर बाटो खुलाउनसमेत निकै अप्ठ्यारो पर्ने गरी पहिरो गएको छ। मलेखुदेखि मुग्लिनका बिचमा कृष्णभिर छ। उक्त भिर मलेखुबाट करिब १० किलोमिटर पर छ।
पौडेलका अनुसार त्रिशूली पारी समानान्तर सडक बनाई मलेखु–मुगलिङ सडकखण्डको सडकको विकल्प तयार भइरहेको छ। फिसलिङको पुल कटेर त्रिशूलीपारि पुग्ने, त्रिशुली पारि हुँदै बेनीघाट पुग्ने र बेनीघाट पुगेपछि पुनः त्रिशूलीवारि आउन सकिने गरी विभागले समानान्तर सडक बनाइरहेको छ। यसरी फिसिलिङबाट बेनीघाट पुग्दा सडकको दुरी करिब २० किलोमिटर पर्छ। त्यसमध्ये दुई किलोमिटर सडकमा ट्र्याक खन्न बाँकी रहेको पौडेलले बताए।
विभागका एक कर्मचारीका अनुसार कृष्णभिरमा गत असारदेखि नै नदीले क्षति पुर्याउन थालेको थियो तर त्यतिबेला बेवास्ता गरियो। ‘गत असारमै राम्रोसँग मर्मत गरेको भए सम्भवतः यतिबेला पहिरो जाने थिएन कि?’ एक कर्मचारीले भने। कृष्णभिरमा पहिलो जाँदा हाल मुगलिन–नागढुंगा सडक सुनसान छ भने हेडौंडादेखि काठमाडौं आउने सडकमा सवारीसाधनको चाप छ।
प्रकाशित: १६ भाद्र २०८३ ०८:१५ मंगलबार





