१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

रसुवा विपद्: चार सुरुङभित्र सेनाको उद्धार अपरेसन जारी

रसुवामा आएको भीषण बाढीपछि सुरुङभित्र फसेका नागरिकहरूको उद्धारका लागि नेपाली सेनाले चारवटा सुरुङमा उद्धार टोली परिचालन गरेको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सेनाका करिब ८ हजार ४ सय जनशक्ति कार्यक्षेत्रमा खटिएका छन्।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार अपर त्रिशूली–३ ‘ए’, अपर त्रिशूली–‘बी’ र रसुवागढीअन्तर्गतका सुरुङसहित अन्य प्रभावित क्षेत्रमा सेनाको टोली खटिएको छ।

केही स्थानमा चिनियाँ तथा भारतीय उद्धार टोलीसँग समेत समन्वय गरेर कार्य भइरहेको छ। जसअन्तर्गत चिलिमे क्षेत्रमा भारतीय उद्धार टोलीसँगै नेपाली सेनाको टोली संयुक्त रूपमा परिचालन गरिएको छ। बाढीपछि विभिन्न सुरुङभित्र पानीको सतह जमेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको सेनाले जनाएको छ।

यसैबीच, अपर त्रिशूली–२१६ को सुरुङमा प्राविधिक टोलीसहित कामदार फसेको भनिएको विषयमा भने यकिन विवरण पुष्टि हुन सकेको छैन। सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा ४६ जना सुरुङभित्र थुनिएको खबर आए पनि उक्त संख्या आधिकारिक रूपमा पुष्टि नभएको प्रवक्ता बस्नेतले बताए। सुरुङबाट कति जना बाहिर निस्किए, कतिको उद्धार भयो र कति जना अझै भित्र छन् भन्ने स्पष्ट विवरण संकलन भइरहेको उनको भनाइ छ।

बाढीका कारण सुरक्षार्थ खटिएका नेपाली सेनाका कर्मचारीसमेत प्रभावित भएका छन्। प्रवक्ता बस्नेतका अनुसार राष्ट्रिय निकुञ्ज तथा जलविद्युत् आयोजनाको सुरक्षार्थ तैनाथ नेपाली सेनाका ४४ जना कर्मचारी हाल सम्पर्कविहीन छन्। बाढी आएको समयमा उनीहरू विभिन्न कार्यक्षेत्रमा रहेका थिए।

प्रभावित क्षेत्रमा हवाई उद्धारका लागि नेपाली सेनाका सात र निजी क्षेत्रका सात गरी कुल १४ वटा हेलिकप्टर त्रिशूलीलाई आधार बनाएर परिचालन गरिएको छ।

सेनाका अनुसार हालसम्म करिब ३ हजार ५ सय जनाको सकुशल हवाई उद्धार गरिसकिएको छ। जमिनतर्फ डाँडाका रिज तथा नदी किनारका क्षेत्रहरूमा रसुवादेखि नवलपुरसम्मै खोजी भइरहेको र नुवाकोट तथा रसुवामा तुलनात्मक रूपमा बढी फौज परिचालन गरिएको सेनाले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८३ १५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App