शुक्रबार मध्यरातमा भएको रक्तपातपूर्ण झडपको करिब ४० घण्टापछि सुरक्षाकर्मीको टोली कैलाली कारागारभित्र प्रवेश गरेको छ।
कैदीबन्दीले भित्रबाट ताला लगाएर पूर्ण नियन्त्रणमा लिएको कारागारमा आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली राष्ट्रिय मानव अधिकार आयोगको रोहवरमा हतियारसहित प्रवेश गरेको हो।
सुरक्षाकर्मी भित्र प्रवेश गरेसँगै स्थिति सामान्य बन्दै गएको र कैदीबन्दीको गणना सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
प्रहरी प्रवेश गरेलगत्तै कारागार प्रशासनले कैदीबन्दीहरूको संख्या यकिन गर्न गणना सुरु गरेको थियो। गणनाअनुसार पुरुष ब्लक ‘ए’ मा ३९६, ब्लक ‘बी’ मा १९८ र महिला ब्लकमा ५६ जना रहेका छन्।
घटनामा एक जनाको मृत्यु र ४९ जना घाइते भएको संख्यासहित कुल ७०० कैदीबन्दीको संख्या घटनाअघिको तथ्यांकसँग मेल खाएको प्रशासनले जनाएको छ।
यसैबीच, झडपमा गम्भीर घाइते भएका थप एक कैदीलाई काठमाडौं वा नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको छ। यसअघि शनिबार साँझ एक गम्भीर घाइतेलाई नेपाली सेनाको स्काई ट्रकबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो।
कसरी भयो घटना ?
शुक्रबार राति ब्लक ‘ए’ का कैदीबन्दीले भित्ता फोडेर ब्लक ‘बी’ का कैदीमाथि आक्रमण गर्दा धनगढीका भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए। घटनापछि आक्रोशित कैदीबन्दीले भित्रबाट ताला लगाएर थुनुवा कक्ष आफ्नो नियन्त्रणमा लिएका थिए, जसकारण सुरक्षाकर्मी प्रवेश गर्न सकेका थिएनन्।
घटनापछि दुई दिनसम्म कारागार बाहिर आफ्ना आफन्तको अवस्था बुझ्न कैदीबन्दीका परिवारजनको भीड लागेको थियो। भित्रको अवस्थाबारे यकिन जानकारी नहुँदा उनीहरू चिन्तित बनेका थिए। तर, आइतबार सुरक्षाकर्मी प्रवेश गरी स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनेको मानवअधिकार आयोगका प्रमुख प्रकाश भट्टले जानकारी दिए।
१५० जना क्षमताको कैलाली कारागारमा हाल करिब ७०० कैदीबन्दी राखिएको छ। क्षमताभन्दा चौगुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती देखिएको र पटक-पटक तनाव तथा झडपका घटना हुने गरेका छन्।
प्रकाशित: २५ श्रावण २०८२ १८:५१ आइतबार





