कीर्तिपुरस्थित एपिएफ स्कुलमा ११ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाएको छ।
अख्तियारले सशस्त्र प्रहरी निरीक्षक तथा विद्यालयकी लेखा अधिकृत कल्पना गुरुङ र एमडी एड्भेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा (टासी) माथि अनुसन्धान थालेको हो।
यसअघि उनीहरूलाई असार २० गते सशस्त्र प्रहरीको आन्तरिक अनुसन्धानबाट आर्थिक हिनामिनामा संलग्न रहेको निष्कर्षपछि पक्राउ गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा उनीहरूविरुद्ध भ्रष्टाचारसमेत भएको देखिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साउन ७ गते र जिल्ला प्रहरी परिसर काठमाडौंले साउन ८ गते अख्तियारलाई पत्राचार गरेका थिए। त्यसपछि अख्तियारले आइतबारदेखि भ्रष्टाचार मुद्दामा औपचारिक अनुसन्धान सुरु गरेको हो।
अनुसन्धानका लागि विशेष अदालतले दुवैलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त म्याद स्वीकृत गरेको हो।
अब अख्तियारले एपिएफ स्कुलको आर्थिक हिनामिना प्रकरणमा भ्रष्टाचारसम्बन्धी कसुरको कोणबाट विस्तृत अनुसन्धान अघि बढाउने जनाएको छ।
प्रकाशित: १० श्रावण २०८३ १९:३१ आइतबार





