निर्वाचन आयोगले मतदातालाई मताधिकार प्रयोग गर्न वा नगर्न लोभ देखाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।
मतदातालाई कुनै पनि तरिकाले प्रभावित नगर्न आग्रह गर्दै त्यसो गरेको भेटिए ५० हजार रुपैयाँ वा एक वर्षसम्म कैद वा दुवै हुने आयोगले जनाएको छ।
आयोगले मतदातालाई मताधिकारको प्रयोग गर्न वा नगर्न तथा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी लिने वा दिने कामलाई कानुनी अपराधका रूपमा प्रस्तुत गरेको छ।
आयोगका अनुसार उम्मेदवार वा उनीहरूको प्रतिनिधिहरूले मतदातासँग नगद, उपहार, खानपान लगायतका कुनै पनि सामानका लागि भोट माग्नु वा लिनु गम्भीर अपराध मानिन्छ। यसलाई रोक्नका लागि कडाइका साथ निगरानी गर्ने आयोगले स्पष्ट पारेको छ।
आयोगले मतदाताहरुलाई सजग गराउँदै यस्तो प्रकारका गतिविधिहरुमा नलाग्न र आगामी निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन अनुरोध पनि गरेको छ। मतदाता र उम्मेदवारलाई जवाफदेही र कानुनी प्रक्रिया पालन गर्न महत्त्वपूर्ण भूमिका खेल्न आयोगले आग्रह गरेको छ।
प्रकाशित: १३ फाल्गुन २०८२ १८:४८ बुधबार





