२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौंमा पनि वर्षा हुने

पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ।

सोमबार रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ। तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ।

मौसमविद् पौडेलले भने, 'पर्सी बुधबार काठमाडौंमा पनि हल्का वर्षा हुन्छ कि भन्ने अनुमान छ र तर प्रणाली कमजोर नै छ, ठूलो झरी भने छैन।' यसले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा गराउन सक्ने पनि उनले बताए।

यो प्रणाली आजराति पश्चिम नेपालबाट प्रवेश गर्ने र मङ्गलबार दिउँसोसम्ममा गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ। त्यसपछि मङ्गलबार राति अझै बाक्लिएर बुधबारदेखि भने देशैभरि फैलिने विभागले जनाएको छ। त्यसले काठमाडौंमा समेत बदली हुने र बुधबार रातिदेखि बिस्तारै हट्दै जाने पनि पौडेलले बताए।

यस्तो छ चेतावनी

विभागले सोमबार राति सार्वजनिक गरेको मौसम बदलीसम्बन्धीको विवरणमा माघ १३ र १४ गते सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको जनाइएको छ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ।

साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। त्यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरिएको छ।

प्रकाशित: १३ माघ २०८२ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App