२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

२२ करोड रुपैयाँ उखु बक्यौता नतिरेपछि अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ

सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद साह कलवार उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानको उजुरीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार मिलले गत आर्थिक वर्षमा खरिद गरेको उखुको करिब २२ करोड रुपैयाँ किसानलाई भुक्तानी नगरेपछि पीडित किसानहरूले प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले किसान र मिल व्यवस्थापनबीच पटक–पटक छलफल गराई बक्यौता रकम भुक्तानी गराउने प्रयास गरेको थियो। तर, उद्योग पक्षले रकम नतिरेपछि कानुनी प्रक्रिया अघि बढाएर सञ्चालक गुप्ता र उनका सहयोगी कलवारलाई पक्राउ गरिएको डीएसपी गौतमले बताए।

प्रहरीले दुवै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

उखु किसानहरूले लामो समयदेखि बक्यौता रकम माग गर्दै मिल व्यवस्थापनसँग पटक–पटक आग्रह गरेका थिए। भुक्तानी नपाएपछि उखु किसान संघको नेतृत्वमा उनीहरू जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेका थिए।

लामो समयदेखि भुक्तानी नपाउँदा आर्थिक संकटमा परेको बताउँदै किसानहरूले दोषीमाथि कडा कानुनी कारबाहीसँगै बक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। उनीहरूले मिल सञ्चालकको पक्राउलाई आफ्नो लामो आन्दोलनको महत्वपूर्ण उपलब्धिका रूपमा समेत लिएका छन्।

प्रकाशित: ३० असार २०८३ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App