जिल्लाको बाह्रबिसे-तातोपानी खण्डअन्तर्गत भोटेकोशी गाउँपालिका-४ चारकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जना अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार आज बिहान बा ८९ प ९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा अष्ट्रेलियाली नागरिक ७१ वर्षीय पेटर ज्याक्सन र ६८ वर्षीया जनेट ज्याक्सन घाइते भएका थिए।
दुवै जनालाई स्थानीय स्तरमा उद्धार गरी धुलिखेल अस्पतालको शाखा हिन्दी अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत नर्भिक अस्पताल, काठमाडौं पठाइएको थियो।
जनेटको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको प्रहरी नायब उपरीक्षक खरेलले उल्लेख गरे। उनका अनुसार मोटरसाइकल चालक पेटर भने हाल नर्भिक अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचाररत छन्।
प्रकाशित: ११ आश्विन २०८२ २१:२३ शनिबार





