गत चार दिनदेखि अशान्त बनेको सदरमुकाम गौरमा शान्ति सद्भाव कायम राख्न सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ।
गत बिहीबार गौर ६ सबगढास्थित जन्तीमा डिजेबाजा बजाउने विषयमा दुई समुदायबिच झडप सुरु भएको थियो। झडप उग्र रूप लिँदै जाँदा प्रशासनले शुक्रबार दिउँसोदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
आइतबार जिल्ला प्रशासन कार्यालय गौरमा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेको थियो। सोही निर्णय अनुसार नागरिक समाजको अगुवाइमा हिन्दु, मुस्लिम समुदाय, स्थानीय प्रशासन र राजनीतिक दलसहितको उपस्थितिमा आपसी भाइचारा कायम राख्न सद्भाव र्याली निकालिएको गौर नपाका प्रमुख मेयर शम्भु साहले बताए।
नागरिक समाजका अध्यक्ष जगरनाथ केसरीको नेतृत्वमा सबगढाको मुख्य सडकबाट सुरु भएको र्यालीले गाउँ परिक्रमा गर्दै शान्ति, एकता र सहअस्तित्वको सन्देश दिएको छ।
स्थानीय अगुवाहरूले अब कुनै पनि प्रकारको उक्साहटमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन्।
केही दिनको अशान्तिपछि निकालिएको र्यालीमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नारायण दल गणका कर्णेल विश्वास विष्ट, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, राजनीतिक दलका नेताहरू, हिन्दु र मुस्लिम पक्षका अगुवाहरू, सञ्चारकर्मीहरू, सुरक्षाकर्मीहरू र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।
प्रकाशित: ११ फाल्गुन २०८२ १०:५८ सोमबार





