नेपालका विश्वविद्यालयबाट उत्पादन हुने इन्जिनियरलाई ‘वासिङ्टन एकर्ड’ अनुसार विश्वव्यापी रूपमा रोजगारी, अध्ययन र व्यावसायिक दर्ता मान्यताका लागि सम्झौता भएको छ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकाल र परिषद्का अध्यक्ष प्रा.डा. पद्मबहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे।
उक्त कार्यका लागि नेपाल इन्जिनियरिङ परिषद्ले पहलकदमी थालेकाले सोका लागि लुम्बिनी प्राविधिक विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबिच सम्झौता भएको उपकुलपति डा. ढकालले बताए।
सम्झौताका क्रममा विश्वविद्यालयका इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. नीरज केसी, परिषद्का रजिस्ट्रार इन्जिनियर ध्रुवराज भट्टराईलगायत उपस्थित थिए। लुम्बिनी प्रदेश सरकारले नेपालगन्जमा सञ्चालन गरेको विश्वविद्यालयले विभिन्न कार्यक्रममा पठनपाठन गरिरहेको छ।
विश्वविद्यालयमा स्नातक तहमा चार वटा कार्यक्रम (बिटेक इन आइटी, बिटेक इनसिएस एन्ड एआई, बिटेक इन सिभिल इन्जिनियरिङ, बिटेक इन आइटी इन्जिनियरिङ) तथा स्नातकोत्तर तहमा दुई वटा कार्यक्रम एमटेक इन आइटी र एमटेक इनसिएस सञ्चालन भइरहेका छन्।
प्रकाशित: १८ कार्तिक २०८२ ०९:४८ मंगलबार





