१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा ७,६८० ‘गाउँ ब्लक’ पीडितले पाए लालपुर्जा

वर्षौँ लामो प्रतीक्षापछि कपिलवस्तुका ७ हजार ६८० जना ‘गाउँ ब्लक’ पीडितले अन्ततः जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

वि.सं. २०२६ सालको नापीका क्रममा छुट भएका र २०७३ सालमा पुनः नापी गरिएका जग्गाहरूको लालपुर्जा यस वर्ष वितरण गरिएको हो।

नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक भण्डारीका अनुसार जिल्लामा हालसम्म ७ हजार ६८० जना गाउँ ब्लक पीडितलाई लालपुर्जा वितरण गरिसकिएको छ।

जिल्लाका साविक ८१ गाविसमा १ हजार १७२ वटा गाउँ ब्लक रहेका छन्। जसमध्ये १ हजार १६५ ब्लकको नाप नक्सा तयार भइसकेको र हालसम्म ३ सय ९२ ब्लकको लालपुर्जा वितरण सम्पन्न भएको प्रमुख भण्डारीले जानकारी दिए।

वि.सं. २०२६ सालमा पहिलो पटक नापी हुँदा घना बस्ती भएका कारण कित्ताकाट गर्न कठिन भएपछि एउटै कित्तामा राखिएको जग्गालाई ‘गाउँ ब्लक’ भनिन्थ्यो।

सोही समस्या समाधान गर्न २०७२ सालमा पुनः नापी सुरु गरिएको थियो। नापी प्रमुख भण्डारीले गाउँ ब्लक जग्गाको समस्या समाधानका लागि जिल्लामा ५ वटा टोली परिचालन गरिएको र २०६५ सालदेखि नै नापी गरी लालपुर्जा वितरणको काम निरन्तर भइरहेको बताए।

यसै अभियानअन्तर्गत कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ का ६२५ जना गाउँ ब्लक पीडितहरूलाई एक समारोहका बीच लालपुर्जा वितरण गरिएको छ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख अब्दुल कलाम, प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रेग्मी, नापी कार्यालयका प्रमुख जनक भण्डारी र वडा नं. १ का अध्यक्ष प्रमोद कुमार चौधरीले संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका थिए।

वर्षौँदेखि भोगचलन गर्दै आए पनि लालपुर्जा नहुँदा समस्यामा परेका स्थानीयले प्रमाण पत्र पाएपछि खुसी व्यक्त गरेका छन्।

महाराजगन्ज नगरपालिका–१ का ७० वर्षीय वकिल मनिहरले जीवनको उत्तरार्धमा आफ्नै पालामा लालपुर्जा पाउनु ठूलो खुसीको कुरा भएको बताए।

‘बर्षौँदेखि जोतभोग गरे पनि कागज थिएन,’ उनले खुसी हुँदै भने, ‘आज लालपुर्जा हातमा पर्दा बल्ल जग्गाको वास्तविक मालिक भएको अनुभूति भएको छ।’

प्रकाशित: ९ मंसिर २०८२ १९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App