युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई कानुनविपरीत व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश नपठाउन सचेत गराएको छ।
शुक्रबार एक सूचना जारी गर्दै विभागले कानुनी विपरीत कुनै म्यानपावर कम्पनीले व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश पठाएको पाइएमा हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा (३) मा इजाजतप्राप्त संस्थाले व्यक्तिगत श्रम स्वीकृति गराई कामदार विदेश पठाउन नपाउने व्यवस्था रहेको स्पष्ट पारेको छ।
त्यसैगरी, युरोपलगायत विभिन्न देशमा वैदेशिक रोजगार विभागबाट इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित कम्पनीले उक्त देशमा कामदार पठाउन विभागबाट पूर्वस्वीकृति लिएको छ वा छैन भन्ने कुरा यकिन गर्न विभागले सबैलाई आग्रह गरेको छ।
विभागले कुनै म्यानपावर कम्पनी, संस्था, कन्सल्टेन्सी वा व्यक्तिले व्यक्तिगत श्रम स्वीकृति गराई विदेश पठाइदिने भन्दै आर्थिक कारोबार गर्न खोजेमा तत्काल विभागलाई जानकारी गराउन पनि अनुरोध गरेको छ।
यस्ता गतिविधिबारे सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिने विभागले जनाएको छ।
प्रकाशित: ११ मंसिर २०८३ १७:४३ शुक्रबार





-600x400.jpg)