छ वर्षअघि ताराखोला गाउँपालिका-५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ।
रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन्। प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको बताए। जातका स्याउको बिरुवा लिएर लगाएका रोकाको १४० बोटले फल दिएका छन्। उनको बगान चार रोपनीमा फैलिएको छ। उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन्। अध्यक्ष रोकाले भने, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु। ”
स्याउखेतीका निम्ति उनले एक लाख ५० हजार रूपैयाँ लगानी गरेको बताए। विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन। यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सिंचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउँछन्। ढोरपाटन र निसेल ढोरमा स्याउखेती हुँदै आएको छ। जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेती हुने गरेको जानकारी दिंदै उनले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन हुने बताए।
प्रकाशित: ३० श्रावण २०८२ १०:३० शुक्रबार





