३ असार २०८३ बुधबार
image/svg+xml
समाज

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवापुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सीप गाउँघरबाट हराउँदै गएको हो।  

जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ भने चासो देखाएका छैनन्। जनै बनाउने सीप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै यहाँका युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ। 

तानसेन नगरपालिका–२ कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा नगरभित्रका विद्यार्थी, महिला, पुरुषलगायत ४० जनाले जनै बाट्ने सीप लिन थालेका छन्। नयाँपुस्ताले जनै बनाउन थालेपछि भने पुरानापुस्तामा उत्साह छाएको छ। तानसेनका ७५ वर्षीय बेद बस्याल जनै बाट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुसी लागेको बताउँछन्।  

‘जनैको महत्व युवापुस्ताले नबुझ्दा संस्कृति सङ्कटमा पर्दै गएको  अब भने यो संस्कृति बचाउन सकिन्छ की भन्ने लागेको छ’, उनले भने । बराङ्गदीका हरी घिमिरेलाई पनि परम्परागत जनै बाट्ने र लगाउने संस्कृति लोप हुन लागेकामा चिन्ता थियो। तर अहिले नयाँ पुस्ताले जनै बनाउन सुरुगरेभन्दा खुसी छन्।  

उनले भने, ‘पुरानो पुस्ताले जनै बनाएर परम्पराको संरक्षण गर्दै आए पनि नयाँपुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति हराउँदै जान थालेको थियो, अब भने केही हुन्छ कि भन्ने लागेको छ।’  

तागाधारीको पहिचान भनेकै जनै रहेकाले यसको संरक्षणको लागि स्थानीय सरकारले अभियानकै रुपमा जनै बनाउने सीप सिकाउन लागेको  वडाध्यक्ष महेश लाल श्रेष्ठले बताए। एकातिर संस्कृतिको जगेर्णा हुने र अर्कोतर्फ आयआर्जनमा टेवा पुग्ने भएकाले युवा पुस्ताले जनै बनाउन चासो दिनुपर्ने वडा अध्यक्षको भनाइ छ। 

पाल्पामा झन्डै १५ वर्षअघिसम्म गाउँगाउँमा ब्राह्मणहरुका घरमा जनै बाट्ने परम्परा रहे पनि हिजोआज भने हराउँदै जान थालेको छ। जनै संस्कृतिलाई बचाइँराख्न युवामा जनै बनाउने सीप सिकाउनुपर्ने छ। स्थानीय धर्मचन्द्र नेपालले बताए।  

युवाले जनै नबनाएकै कारण बर्सेनि विदेशबाट करोडौँ रुपैयाँको जनै आयात हुने गरेको छ। आयातित जनै भाती पु¥याएर बाटिएको हुँदैन। जनैमा पारिने गाँठोलाई सामान्यतया बह्मागाँठो पनि भनिन्छ। हिन्दू परम्परामा जनै (यज्ञोपवीत) मा रहने उक्त गाँठोले ब्रह्मा, विष्णु, महेशको प्रतीकात्मक अर्थ बोकेको मानिन्छ। 

तर, किनुवा जनैलाई विधिपु¥याएर बाटिएको हुँदैन। त्यसैले किनुवा जनै नभई एकप्रकारको धागो मात्र भएको तागाधारीहरु बताउँछन्।  

प्रकाशित: ३ असार २०८३ १६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App