१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

कर्रा खोला नजिकैको खाल्डोमा डुबेर हेटौंडामा एक बालकको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ रोएनी कोलोनीस्थित कर्रा खोला किनारमा जमेको पानीको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका–१७ बस्ने केशव राईका छोरा करिब १३–१४ वर्षीय युकेश राई रहेका छन्।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब १:१० बजेको समयमा ४/५ जना साथीहरूसँगै पौडी खेल्ने क्रममा युकेश पानी जमेको खाल्डोमा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली तत्काल घटनास्थलमा खटिएको थियो।

उद्धार कार्यलाई तीव्रता दिन बागमती प्रदेश विपद व्यवस्थापन प्रहरी गुल्म हेटौडा र सशस्त्र प्रहरी बलसँग समेत समन्वय गरिएको थियो। स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा दिउँसो करिब २:०० बजे उनलाई डुबेकै स्थानमा फेला पारिएको थियो।

उद्धारलगत्तै उपचारका लागि हेटौंडा अस्पताल पठाइएका युकेशलाई दिउँसो २:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव अहिले सोही अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैबीच, वर्षातको समयमा खोलानालामा बहाव बढ्ने भएकाले पौडी नखेल्न प्रहरीले विशेष अनुरोध गरेको छ। आफ्ना बालबालिकाहरूलाई डुवान हुन सक्ने जोखिमयुक्त स्थानमा जान नदिन तथा बाढी आएको बेला खोला, खोल्सा वा लच्काहरू जबरजस्ती पार नगरी सुरक्षित रूपमा पानीको सतह घटेपछि मात्र यात्रा गर्न प्रहरीले अपिल गरेको छ।

प्रकाशित: २ श्रावण २०८३ १६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App