१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

किराँत धर्मगुरुबाट फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक अनावरण

तस्बिर: फाल्गुनन्दको सालिक अनावरण गरिदैं।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा बनेको किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिकको बिहीबार अनावरण भएको छ। १५ फिट अग्लो र एउटै ढुङ्गाबाट बनेको १ सय ३५ क्विन्टल वजन भएको सालिकको किराँत धर्मगुरु आत्मनन्द लिङ्देन र गुरुआमा पवित्राहाङ्मा साँवाले अनावरण गरेका छन्।  

फाल्गुनन्द लिङ्देनको १ सय ३८ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रमसंगै फुङलिङको तोक्मे क्षेत्रमा निर्माण भएको उक्त सालिक अनावरण गरिएको हो। फुङलिङमा पटक–पटक महागुरु फाल्गुनन्द लिङदिनेको उपस्थिति भएको स्मरण र सम्मानमा सालिक निर्माण भएको भई अनावरण गर्न पाएको निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले जानकारी दिए।  एउटै ढुङ्गा कुँदेर महागुरु फाल्गुनन्दको यति धेरै अग्लो र वजनदार सालिक नेपालकै पहिलोपटक निर्माण गरिएको निर्माण समितिले दावी गरेको छ। सालिक निर्माणको क्रममा करिव एक करोड रुपैंया खर्च भएको र अहिलेसम्मको निर्माण लगानीमा धार्मिक व्यत्तित्व र दाताहरुको सहयोग रहेको फेम्बोले बताए।  

सालिका अनावरण संगै फुङलिङ नगरपालिका वडा नं ६ काहुलेमा निर्माण भएको किराँत हाङसाम माङहिम तथा किराँत साम्यो माङ्सेवासावा थुम पाञ्जुम्भो भवनको समेत उद्घाटन समेत भएको छ। सालिक अनावरण पछिको प्रदेश १ का प्रमुख पर्शुराम खापुङको उपस्थितिमाऔपचारिक कार्यक्रम भएको थियो। सोहि क्रममा धर्मगुरुबाट आर्शिबचन समेत भएको फाल्गुनन्दको १ सय ३८ औं जन्मजयन्ती मूल समारोह समितिका अध्यक्ष कर्ण पालुङ्वाले बताए। किराँत धर्मका महागुरु फाल्गुन्द लिङ्देनलाई समाज सुधारकको रुपमा लिइन्छ। आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, समान शिक्षा, समाज सुधार,किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहेका लिङ्देनले आफ्नो जीवनकालमो देशद्रोहीको अभियोग पनि खेप्नु परेको थियो।  

वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत सङ्घ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छन्। फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ’सत्य धर्म मुचुल्का’को नीति विश्व समुदायले अनुशरण गर्ने गर्छन्। फाल्गुन्दलाई आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्च सम्मान गर्नुपर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकी चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्नुपर्ने, मासुमंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दीब्य ज्योती प्राप्त भएको मानिन्छ।  

आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुनहुदैन, मदिरा सेवनगरी असामाजिक क्रियाकलाप गरी मति भ्रष्ट हुनु हुदैन, बिबाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडकसँग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न, समाजका जननी ‘युमा साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उचो स्थान दिनु वा सम्मान गर्नु पर्दछ, ‘मेजमान’ तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न,हिम साम्माङ’ तथा ‘युमासाम्माङ’लाई पशुबली चढाउदा उनी खुशी हुदैनन् त्यसैले पशुबली गर्नु हुन्न बरु त्यसको अलवा फलफूल, नैबेद्ध, चढाएर मात्र ‘माङसेवा’ गर्नु पर्छ सामाजिक चेतना फैलाउने मुख्य सुत्रधारको रुपमा फाल्गुनन्दलाई लिने गरिन्छ।

महागुरु फाल्गुनन्द लिङदेनको जन्म बिक्रम सम्बत १९४२ को कात्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो। उनका बाबु जगनबाज लिम्बु, लिङदेन र आमा हंसमती लिम्बु थिए । आमा बाबूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन थियो।  

 

 

प्रकाशित: २५ कार्तिक २०७९ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App