१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

झिनियाँको माग थेग्नै मुस्किल

अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ। दसैँ सुरु भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यसपटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन्।

पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्याउँनै नसकिएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउँछिन्। रामपुर नगरपालिका–५ राङभाङमा एक दशकअघिदेखि उद्योग स्थापना गरेर यही व्यवसाय गर्दै आएकी पूर्वी पाल्पाका पहिलो व्यवसायी उनी माग धेरै आउँदा पनि कतिपय बजारमा पठाउन नपाइएको बताउँछिन्। 'एक महिना अघिदेखि तिहारलाई प्राथमिकता दिएर झिनियाँ बनाइरहेका छौँ' व्यवसायी श्रेष्ठ भन्छिन्,'यस पटक अन्यत्र धेरै उत्पादन नभएको र पहिलाको तुलनामा झिनियाँ खोज्ने धेरै ग्राहक बढेकाले पुर्याउन कठिन परिरहेको हो।'  

लामो समय झिनियाँ व्यावसायमा बिताएकी उनलाई यसको उत्पादनसम्बन्धी राम्रो ज्ञान छ। पुरानो व्यवसाय भएकाले धेरै टाढाबाट माग आउने गर्दछ। घरभित्रै बसेर छोटो समयमा पनि लाखौँ कमाइ गर्न सकिने यो व्यवसायमा मिहिनेत गरियो भने राम्रो सफलता हातपर्ने व्यवसायी श्रेष्ठको अनुभव छ। पहिला एक्लै उत्पादन गर्दै आएकी उनले पछिल्ला वर्षमा झिनियाँको माग बढी आउन थालेपछि कामदार नै राखेर थप उत्पादन गर्दै आएकी हुन्। यस व्यवसायमा आवद्ध रहेदेखि नै परनिर्भर हुनु नपरेको र आफूले पनि सकुञ्जेलसम्म यही व्यवसायलाई निरन्तरता दिने व्यवसायी श्रेष्ठको सोच छ।  

यहाँ तिहारको समय मात्र नभइ अन्य समयमा पनि निरन्तर झिनियाँ उत्पादन भइरहेको छ। उत्पादित झिनियाँ हाल प्रतिदर्जन  १०० मा फुटकर र होलसेल  ९० मा धमाधम बिक्री भइरहेको छ। अहिले तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायत विभिन्न बजारमा झिनियाँ खपत भइरहेको अर्का व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउँछन्।  

उनी भन्छन्, 'उत्पादन गर्न सकेमात्रै पनि भयो, बजारको चिन्ता छैन, झिनियाँ रोटी तिहारमा सबैका घर घरमा अनिवार्यजसो बनेको छ, व्यावसायिकरुपले उत्पादन गर्दा  र प्रयोगकर्ता बढ्दै जाँदा हामीलाई काममा भ्याइनभ्याइ छ।' व्यवसायी रुद्रनारायणका अनुसार यस पटकको दसैँ र तिहारमा गरेर झिनियाँबाट करिब  छ लाख बराबरको व्यापार हुने अनुमान छ। उत्पादन धेरै गर्न सकियो भने फाइदा राम्रो हुने उनको अनुभव छ।    

पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो। घर घरमा तिहारमा हातले घुमाउने सानो सोचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने काम गरिँदैन। त्यसकारण पनि बजारका पसल र उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन्।

'बिहानदेखि साँझ आँखाले ठम्याउँदासम्म झिनियाँ बनाउँदा पनि ग्राहकलाई पुयाउँनै हम्मेहम्मे हुन्छ, जताततैबाट माग आइरहेको छ' लक्ष्मी भन्छिन्। ६ वर्षदेखि यस व्यवसायमा आवद्ध उनी यस पटकको तिहारमा एक लाख बराबरको व्यापार हुने बताउँछिन्। घरमै बसेर पनि राम्रो कमाइ गर्न सकिने, व्यापारमा सहजता र बिक्री पनि सजिलै हुने भएकाले व्यावसायिक तवरबाट झिनियाँ उत्पादन गर्न थालेको लक्ष्मीको भनाइ छ।  

झिनियाँबाट राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायमा हिजोआज महिलाको आकर्षण बढ्न थालेको छ। घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन। झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनियाँ भण्डार गरेर बजारमा पठाउन सकिन्छ।  

गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो भएको छ। बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गर्दै आफ्नो जीविका धानेका छन्। यसले पनि महिलामा परनिर्भरता हट्दै गएको छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ। हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढिरहेको छ। तिहार बाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ।  

चामलको पिठो पकाएर मेसिनको सहायताले झिनियाँ बनाइ सुकाएर तयार गर्ने गरिन्छ। विशेषतः पहिले पहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ। घरायसी खाजाका रुपमा पनि झिनियालाई लिने गरिन्छ। रासस 

प्रकाशित: ८ कार्तिक २०७९ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App