१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णाली राजमार्ग खुलाउन सकस

कर्णाली राजमार्ग अवरुद्ध भएको दुई हप्ता पुग्न लाग्यो। सरकारको प्राथमिकतामा नपुग्दा राजमार्गको पहिरो खुल्न सकेको छैन। मेशिनहरु (डोजर) मंगलबारबाट इन्धन नहुँदा रोकिएका छन्। राजमार्गको दैलेख खण्ड खुलेपनि कालिकोटदेखि जुम्लासम्म ठूलोठूलो पहिरोले अवरुद्ध छ। सरकारले कर्णाली राजमार्ग खुलाउन हवाई मार्गबाट इन्धन नलगे खुल्न महिनौं दिन लाग्छ।

हप्ता दिनदेखि राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाले १९ वटा मेशिन लगाएको छ। मुगु तर्फका मेशिनहरु तेल नहुँदा काम गर्न सकेका छैन। जुम्लादेखी कालिकोटतिर काम गरिरहेका केही मेशिनहरु इन्धन नहुँदा रोकिएका छन्। मेशिनका लागि इन्धन हवाई मार्गबाट बाहेक विकल्प छैन। सरकारले कर्णालीमा आएको बाढी र पहिरो सामान्य लिएका कारण राजमार्ग खुलाउन महिनौदिन लाग्ने जुम्लाका स्थानीयहरु बताउँछन्। जुम्ला र कालिकोटमा भण्डार भएको इन्धन मंगलबारबाट सकिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए। ‘मेशिनहरु रातदिन नभनेर काम गरिहेका छन् तर, ईन्धनका कारण रोकिने अवस्था आयो।’ श्रेष्ठले भने, ‘सडक विभागले पहिरो पन्छाउन ठुला ढुंगामा डिल गर्ने मेशिनसहित ईन्जिनियर पठाएको छ तर, उहाँहरुलाई टिकट नदिँदा नेपालगंज रोकिनु परेको छ।’

उनका अनुसार मंगलबारसम्म कालिकोटको सेराबाडादेखी नाग्मसम्म २६ किलोमिटर सडक अवरुद्ध भएको छ। कालिकोटको नाग्मदेखी गमगढीसम्म ९३ किलोमिटर सडकमा १८ किलोमिटरभित्रको पहिरो हटाउन बाँकी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। त्यस्तै पिलीमा अवरुद्ध ५ किलोमिटर सडक सडक सोमबार राती खुलेको छ। पिलीदेखी नाग्मसम्म राजमार्गको अवशेषसम्म नहुँने गरी पहिरो र बाढीले राजमार्ग भत्काएको जुम्लादेखी हिँडेर आएका धर्मराज उपाध्यायले बताए। सेरीबाडा, भिक्म र बाली भन्नेस्थलमा विस्फोटक पदार्थ विस्फोट गराएर ठूला ढुंगाहरु हटाउने तयारी भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। जुम्ला कालिकोट खण्डमा १२ वटा र मुगुमा ७ वटा मेशिनले काम गरिरहेको छ। ‘जुम्लामा प्रमुख जिल्ला अधिकारीसंग तेल (ईन्धन) ल्याउने ब्यवस्थापन गरिदिन भनेका छौं।’ श्रेष्ठले भने, ‘तेल नहुँदा  केही मेशिन रोकिएका छन् अव बुधवारबाट सवै मेशिन रोकिने अवस्था हुने छ।’  

शनिबार दैलेख तर्फको सडक खुलेको छ। तर, एकतर्फी खुलेपनि राजमार्गको अवस्था बेहाल छ। कर्णाली राजमार्ग यसपालीको पानीले क्षतविक्षत पारिदिएपछि दशैंमा घर गएकाहरु फर्कन पाएका छैनन्। फर्कनेहरु हिँडेर सास्ती खेप्नुपरेको छ। हवाई सेवा थप नहुँदा टिकट नपाईने समस्या उस्तै छ। राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट ६ देखी १० दिन लगाएर सुर्खेत पुग्ने गरेका छन्। सरकारले वैकल्पिक मार्गका रुपमा रहेको दैलेख बजार महावु कालिकोट जुम्ला सडक खुलाउनुपर्ने आवाज जनताहरुबाट आएको छ। यो मार्ग खुले सडक सहज हुनुका साथै जुम्ला पुग्न ४८ किलोमिटर छोटोपर्ने ईन्जिनियिरहरु बताउँछन्।

प्रकाशित: १ कार्तिक २०७९ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App