coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना बिर्साउने दसैं बजार

पोखराको चिप्लेढुंगास्थित फुटपाथमा दसैं बजारको रौनक। तस्बिरः उमेश पुन,नागरिक

अघिल्ला दुई वर्षका दसैंलाई कोरोना संक्रमणले ‘डिस्टर्ब’ गर्‍यो। कोरोना संक्रमण फैलिएको पहिलो वर्ष त धेरैले हिँडडुलै गरेनन्। यतिसम्म कि दसैंमा टीका थाप्न पनि नआउनू भन्दै आफन्तले सन्देश पठाए। बाँचे अर्काे वर्ष दसैं मनाउँला भनेर धेरैजसो घरभित्रै बसे।

कोरोनाको त्यो अप्ठेरोमा हिँडडुल त भएन नै बजारमा पनि उति सारो चहलपहल भएन। कारण, कोरोना संक्रमणको त्रास अधिक थियो। संक्रमणले तर्साउँदा ढुक्कको यात्रा, भेटघाट र जमघट भएन। कोरोना संक्रमण फैलिएको पहिलो वर्षको दसैं धेरैले घरभित्रै मनाए।

पोहोरको दसैंताका कोरोना संक्रमण केही कम भए पनि अहिलेजस्तो निष्फिक्री यात्रा भने भएन। कोरोना त्रासले गर्दा सकेसम्म भेटघाट गर्न नपरोस् भन्ने र भिडबाट टाढा हुन खोज्ने धेरै भए। परारको तुलनामा पोहोरको दसैंमा केही बढी हिँडडुल र भेटघाट बढेको थियो। तर नागरिकमा त्रास भने कायमै थियो। परारको तुलनामा पोहोरको दसैंताका सर्वसाधारणको हिँडडुल मात्र नभई बजारमा पनि केही चहलपहल बढेको थियो। त्यसले कोरोनाको मारमा परेको व्यापार व्यवसायलाई पनि थोरै फस्टाउने अवसर दिएको थियो।

तर यसपटक भने कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी चहलपहलयुक्त दसैं बनेको छ। बजारमा किनमेल गर्नेको भिड छ। दुई वर्षसम्म ढुक्कले दसैं मनाउन नपाएका मानिस यसपटक टाढाटाढासम्म यात्रा गर्दैछन्। बसपार्कमा सवारी कुर्नेको भिड छ। टिकट पाउन पनि मुस्किल परेको छ। सर्वसाधारणले सकसका साथ यात्रा गरिरहेका छन्। अघिल्ला दुई वटा दसैंलाई दुखम्सुखम् पार लगाएका सर्वसाधारण यो वर्ष भने केही ढुक्कले दसैं मनाउने तयारीमा छन्। कामका लागि बाहिर गएका पनि घर फर्किरहेका छन्। यातायात व्यवसायीले सवारीसाधन थपेर यात्रुलाई सेवा दिएका छन्।

कोरोना संक्रमण कमजोर हुँदै गएपछि यसपटक कसैले टीका थाप्न नआउनू भनेका पनि छैनन्। बजार, यातायातका साधन, पसल सबैतिर अहिले भिडभाड देखिन्छ। विभिन्न प्रयोजनका लागि गाउँबाट सहर पसेका मानिस जन्मघर फर्किरहेका छन्।

व्यवसायी अहिलेको दसैंको रमझम निकै बढेको बताउँछन्। कोरोनाले गर्दा अघिल्ला दुई वर्ष किनमेल गर्न खुलेर बजार निस्कन नपाएका मानिस यसपटक ढुक्क भएर निस्केका छन्। व्यवसायीका अनुसार परार र पोहोरभन्दा अहिले बजारमा किनमेल निकै बढी छ। तर सामानको मूल्य बढेकाले उपभोक्ता मारमा परेका छन्।

पोखरा ट्रेडमल उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीका अनुसार कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी व्यापार यो वर्षको दसैंमा भएको बताउँछन्। ‘कोरोना संक्रमण सुरु भएको पहिलो वर्ष त पसल खोल्नै त्रास थियो। पोहोर पनि सोचे अनुसारको व्यापार भएको होइन तर यसपटक भने व्यवसाय फस्टाएको छ,’ उनले भने।

कोरोनाको असरले गर्दा उपभोक्ताको क्रयशक्ति केही कमजोर बनेको भए पनि बजारमा चहलपहल बढ्दो छ।

उनले भने, ‘यो पटक सबै सामानको मूल्य अधिक बढेको छ। यसले कम आयस्रोत भएका उपभोक्तालाई भने मार परेको छ।’ अहिले पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक क्षेत्रमा सडक नै ढाकेर व्यापार भइरहेको छ। फुटपाथमा समेत सामान राखिएकाले हिँडडुल गर्न पनि सकस भएको उनले बताए।

यातायात व्यवसायीका अनुसार यो पटक तेब्बर बढी संख्यामा बस सञ्चालन गरिएको छ। पृथ्वी राजमार्ग बस कम्पनी लिमिटेडका अध्यक्ष योगेन्द्र केसीका अनुुसार दसैं लागेपछि सबैजसो रुटमा सवारीसाधनको संख्या बढाइएको छ। कोरोनाले गर्दा दुई वर्षसम्म खुलेर हिँडडुल गर्न नपाएका नागरिक यसपटक निस्फिक्री यात्रामा निस्केका छन्। बसमा यात्रुको चाप बढेको अध्यक्ष केसीले बताए। ‘सबै रुटमा अहिले बस संख्या थपिएको छ। तेब्बर संख्यामा सवारीसाधन थपेर यात्रु ओसारपसार भइरहेको छ,’ उनले भने, ‘यसले यातायात व्यवसायीलाई पनि राहत भएको छ।’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पनि यसपटक दसैंका लागि यात्रु अभाव नभएको बताए। उनका अनुसार पोखरा-काठमाडौं जाने यात्रु कम भए पनि काठमाडौंबाट पोखरा आउने यात्रुको अभाव छैन। बरु मागअनुसार सवारीसाधनको व्यवस्था गर्न नसकिएको उनले बताए। ‘काठमाडौं–पोखरा रुटमा अहिले पर्याप्त यात्रु छन्। पोखराबाट काठमाडौं जाने यात्रु कम छन, यो स्वाभाविक हो,’ उनले भने।

प्रकाशित: १६ आश्विन २०७९ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App