१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मिटरब्याज पीडित खोज्दै दोलखा प्रहरी

मिटरब्याजमा संलग्नलाई कारबाही अभियान थालेको दोलखा प्रहरीले मिटर ब्याजबाट पीडित बनेकाहरुको खोजी सुरु गरेको छ। मिटर ब्याजबाट चर्को रकम असुल्ने र अपराध गर्नेहरु जिल्लामा बढेसंगै जिल्ला प्रहरी कार्यालयले त्यसबाट पिडित बनेकाहरुको खोजी थालेको हो।  

केही दिनअघि दोलखा प्रहरीले मिटरब्याजमा संलग्न रौतहटका तेजबिक्रम कार्कीलाई एमालेकी निवर्तमान सांसद रेखा झाको ललितपुरस्थित फ्ल्याट बाट पक्राउ गरेको थियो। तेजबिक्रमले दोलखाका प्रकाश कार्कीलाई मिटरब्याजमा रकम लगानी गरेर पटक पटक अपहरण गरेको र बन्धक बनाएको पिडितले बताएका छन्। तेजबिक्रमले प्रकाशलाई १ करोड लगानी गरेर १२ करोड असुलेका थिए। पटक पटक रकम दिंदै आएपनि रौतहटको आफ्नो साईटमा निर्माण सामग्री नियन्त्रणमा लिने, कब्जा गर्ने गरेको उनको आरोप छ।

जिल्ला प्रहरी स्रोतका अनुसार निवर्तमान सांसद झा र तेजबिक्रम व्यवसायीक पार्टनर रहेको देखिएको छ। 'झा र कार्कीको व्यवसायीक सम्बन्ध रहेको अनुसन्धानबाट देखिन्छ' जिल्ला प्रहरी स्रोतले भन्यो', हाललाई तेजबिक्रमलाई म्याद थप गरेर अनुसन्धानमा राखेका छौं, केही प्रमाणका आधारमा झालाई समेत बयानका लागि बोलाउदैछौं। तेजबिक्रमबाट पिडित भएकाहरु धमाधम प्रहरीको सम्पर्कमा आईरहेको जिल्लाका प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले जानकारी दिए।  

प्रहरीले जिल्लाका अन्य मिटरब्याजीबाट पीडित भएकाहरुको पनि खोजी सुरु गरेको छ। जिल्लामा त्यसबाट पीडितहरु थुप्रै रहेको जानकारी पाएपछि उनीहरुलाई सम्पर्कमा ल्याउन खोजी भईरहेको पौडेलले सुनाए।  

चरिकोट-मुडे सडकका निर्माण व्यवसायीले मिटर ब्याजीहरुबाटै पीडित भएका कारण साईटबाट डुबेर हात झिक्नुपरेको थियो। उनी अहिले कसैको सम्पर्कमा छैनन्। दोलखा नैलस्थायी घर भएका मिटरब्याजीहरुको चंगुलमा उनी नराम्रो संग फसेका थिए।

चरिकोट सहित जिल्लाका थुप्रै  व्यवसायीलाई काठमाडौं बसेर गाडीको रिकण्डिसन चलाउँदै आएका एक जना मिटरब्याजीको करोडौं लगानी छ। रकम उठाउन उनले गुण्डा प्रयोग गर्ने गरेका छन्। उनीबाट पिडित मैनापोखरी बजारका एक जना व्यवसायी केही दिनअघि प्रहरीको अनौपचारिक सम्पर्कमा आएका थिए।

तेजबिक्रमका पछाडी दोलखा जिल्लाका केहीको संलग्नता हुन सक्ने प्रहरी आशंका छ। केही दिनअघि जिल्लाका केही प्रभावशाली व्यवसायी र मिटरब्याजी उपर जिल्ला प्रशासनमा मुद्दा परेको थियो। सदरमुकाम चरिकोटका एक जना प्रतिष्ठीत व्यवसायीका छोरासहित प्रभावशाली व्यक्तीहरुविरुद्ध परेको चर्को मिटर ब्याज र ठगी सम्बन्धी उजुरी बिभिन्न दबाबमा जिल्ला प्रशासनबाट मिलापत्र गराएर पठाईएको थियो। प्रहरीले पिडितहरुको खोजी कार्य जारी राखेको जनाएको छ। पिडितहरुलाई सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: ७ आश्विन २०७९ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App