१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जीर्ण सडक मर्मतमा प्रशासनको चासो

जिल्ला प्रशासन कार्यालय कालिकोटले कर्णाली राजमार्ग मर्मतका लागि भएका ठेक्काका बारेमा जानकारी लिएको छ। दर्जन भन्दा बढी ठाउँमा ठेक्का भएको तर समयमा काम नहुँदा सडक जीर्ण बन्दै गएपछि सडक डिभिजन कार्यालय जुम्लासँग ठेक्का कति र काम कहिले पूरा हुने भन्ने विषयमा जानकारी लिएको हो।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठ, इञ्जिनियर राजुप्रसाद पौडेलसहित ठेक्का सम्झौता गरेका ठेकेदारसहितलाई प्रशासन कार्यालयमा बोलाएर जीर्ण सडक सुधारका विषयमा जानकारी लिएको छ। प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले ठेक्का पार्ने र पेसी लिएर चुप लागेर बस्ने ठेकेदारलाई समेत बैठकमा उपस्थित गराउन पत्राचार गरेका थिए।

सो अनुसार आफूले सबै निर्माण व्यवसायीहरुलाई सहभागी हुन भने पनि केही सहभागी नभएको र बहुमत ठेकेदार सहभागी भएर अब थपिएको समयभित्र काम सक्ने प्रतिबद्धता जाहेर गरेका छन्। धेरै जसो ठेकेदारहरुले सम्झौता गरेको पहिलो समय अवधि सकेको र काम पनि नगरेको पाइएको छ।

केही निर्माण व्यवसायीहरुले भने पुरै ठेक्काको ८० प्रतिशतसम्म काम गरेको देखिएको छ। निमार्ण व्यवसायी जीवन शाही, गणेश आचार्यले काम अन्तिम चरणमा पुर्‍याएको पाइएको छ। ठेकेदार तारामान कठायतले पनि केही ठाउँका काम अन्तिम चरणमा पुर्‍याएको बताए। धेरै जसो ठेक्कामा वर्षातको कारण देखाउँदै काम नगरेको पाइएपछि तुरुन्त सक्न निर्देशन समेत गरिएको छ।

कालिकोटका सरोकारवालाहरुले भौगोलिक अवस्थाको मापन गरेर ठेक्का खोल्न र निग्रानी गर्न समेत कार्यालयलाई सुझाव दिएका छन्। मिलेमोतोमा ठेक्का हुने काम समयमा सम्पन्न पनि नहुने र नागरिकले दुःख पाउने अवस्थाको अन्तेका लागि गम्भीर हुन आग्रह गरेका थिए।

खुलालु पुल प्रवेशको सडक, सुनारखोला लगायतका जोखिम क्षेत्रको पहिचान गरी काम गर्न नागरिकले आग्रह गरेका छन्। कार्यालयले पनि केही ठाउँको ठेक्का भइसकेको र केही ठाउँको स्थलगत अध्यान पछि ठेक्का खोलेर काम सुरु गर्ने प्रतिक्रिया दिएको छ।

प्रकाशित: ६ आश्विन २०७९ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App