'अवैध आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा निगरानीकै क्रममा शंकास्पद गतिविधि देखिएपछि ट्राभलमा छापा मारेका थियौं,' वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले भने, 'बरामद नगदको स्रोत, कार्यालयमा आएका चार जनाको बयानले हुन्डी कारोबार भन्ने खुलेकाले कारोबारीलाई पक्राउ गरेका हौं।'
प्रहरीले ट्राभलको कार्यालयमा फेला परेका चार व्यक्तिको बयान, ट्राभल कार्यालयमा फेला परेको खाता, पक्राउ परेका दुवै व्यक्तिको मोबाइलमा रहेको सन्देश र बरामद सामग्रीलाई प्रमाण बनाएको छ। वृत्तप्रमुख राठौरका अनुसार बरामद भएको ५० लाख रुपैयाँको चेक धर्मकुमार गुरुङको नाममा छ। उनी उक्त ट्राभलका मुख्य व्यक्ति हुन्। उनी पक्राउ परेका छैनन्।
डिएसपी राठौरले ट्राभलको आवरणमा हङकङ अस्ट्रेलिया र बेलायतबाट हुन्डीमार्फत नेपालमा रकम भिœयाउने गरेको खुलेको दाबी गरे। कार्यालयमा ३ करोड रुपैयाँभन्दा बढी रकम कारोबारको रेकर्डसमेत फेला पारेको र हुन्डीसँग सम्बन्धित रहेको डिएसपी राठौरको दाबी छ।
मनी चेन्जरदेखि सुनपसलसम्म हुन्डी
नेपालमा हुन्डीमार्फत हुने कारोबार आँकडा कतै यकिन छैन। नेपाल राष्ट्र बैंकको अनौपचारिक आँकलनमा रेमिट्यान्सका रुपमा नेपाल भित्रिने करिब ४० प्रतिशत रकम हुन्डी हुँदै भित्रिन्छ। राष्ट्र बैंकको तथ्यांकमा २०७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। बैंककै आँकलनअनुसार वार्षिक २ खर्बभन्दा बढी रकम अवैध बाटो हुँदै नेपाल भित्रिने गरेका छन्। हुन्डीमार्फत विदेशी रकमको परिमाण पनि सानो छैन तर त्यसको आँकलन कतै छैन।
ट्राभल र मनी चेन्जर आवरणमा हुन्डी कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको यो पहिलो घटना भने होइन। महानगरीय प्रहरी अपराध महाशाखाले असोज १४ मा सुन्धारा, न्युरोड र ठमेल क्षेत्रमा रहेका नौवटा ट्राभल र मनी एक्सचेन्जमा छापा मारेर २ करोड बढी रकमसहित नौ जना सञ्चालक पक्राउ गरेको थियो।
प्रहरीका विभिन्न निकायले हुन्डी कारोबारी आरोपमा पक्राउ गरेका व्यवसायीको पृष्ठभूमिले ट्राभल, मनी चेन्जर, सुन र शैक्षिक परामर्श व्यवसायीको हुन्डीमा संलग्नता बढी देखिन्छ। काठमाडौंको न्युरोड, ठमेल, दरबारमार्ग, खिचापोखरी, बौद्ध, स्वयम्भू, कलंकी र बालुवाटार क्षेत्रमा बढी हुन्डी कारोबार हुने देखिन्छ।
रेमिट्यान्सबापतको रकम हुन्डीमार्फत नेपाल भिœयाउन व्यक्तिगत रुपमा सक्रिय रहेकाको संख्या पनि बाक्लै छ। प्रहरीकै संरक्षणमा त्रिभुवन विमानस्थलमार्फत हुने विदेशी मुद्रा तस्करीको अनुसन्धानमा मुद्रा र सुन तस्करीमा संलग्न देखिएका दरबारमार्गका इबिसु ज्वेलर्स, विशालबजारस्थित सिल्भर क्विन हुन्डी कारोबारमा समेत जोडिएका थिए। प्रहरी अनुसन्धानमा मुरारीलाल गोयल, पवन अग्रवाल, बालकृष्ण अग्रवाल र प्रभु सर्राफ लगायतको हुन्डीमा संलग्नता खुलेको थियो।
घूसदेखि फिरौतीसम्म
अघिल्लो वर्ष घूससहित पक्राउ परेका अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा हरिवंश कार्कीबारे अनुसन्धान गर्दा घूसको रकम हुन्डीमार्फत अन्य देश हुँदै नेपाल भिœयाउने गरिएको खुलेको थियो। अवैध सुनसहित पक्राउ परेका भारतीय नागरिकसँग घूस लिएको आरोपमा अख्तियारको फन्दामा परेका उनले बयानमा घूस र हुन्डीको कनेक्सन खुलाएका थिए।
अपहरण घटनाका फिरौती लिन अधिकांश आपराधिक समूहले हुन्डी नै प्रयोग गर्ने गरेका छन्। एक वर्षअघि थाइल्यान्डमा अपहरणमा परेका तीन नेपाली विद्यार्थीसँग उतै रहेका पाकिस्तानी समूहले हुन्डीबाटै फिरौती रकम मगाएका थिए। हुन्डीमाथिको निगरानीबाटै प्रहरी सो समूहका नेपालका सहयोगी पक्राउ गर्न सफल भएको थियो। वैदेशिक रोजगारीमा आउने कमिसनबापतको रकम विदेशमा रहेका एजेन्टसम्म पुर्यायउन हुन्डीकै प्रयोग हुने प्रहरी अनुसन्धानमा खुलेको थियो।
मौमसी कारबाही
अबैध सुन र मुद्रा तस्करी, काला बजारी, अवैध आम्दानी र ट्याक्स छलीबाट आर्जन सम्पत्ति बाहिर पठाउन र वैध आवरणमा पुनः नेपाल भिœयाउन संगठित समूह हुन्डीमा सक्रिय छन्। वैदेशिक रोजगार क्रममा विभिन्न देशमा रहेका नेपालीको रकम नेपाल हुन्डी हुँदै भिœयाउने समूहको सक्रियता उस्तै छ।
हुन्डीले गम्भीर आर्थिक अपराधका रुपमा संगठित आकार लिइसक्दासमेत नियन्त्रण र अनुगमनको जिम्मेवार निकाय भने निष्त्रि्कयप्रायः छ। नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग सामान्य छलफलभन्दा अगाडि बढेका छैनन्। हुन्डी कारोबारीको आरोपमा पक्राउ परेकाको सम्पत्ति र त्यसको स्रोत खोजी गर्ने सम्पत्ति शुद्धीकरण विभाग पनि सुस्त छ।
बैंकिङ कसुर नियन्त्रणमा राष्ट्र बैंकसँगको प्रभावकारी सहकार्य र फरार अभियुक्त खोजीमा फैसला कार्यान्वयन निर्देशनालयसँग सहकार्य गरी प्रभावकारी काम गरेको प्रहरी संगठनको सूचीमा समेत हुन्डी जालो भत्काउनु प्राथमिकतामा देखिन्न। बेलाबखत हुन्डी कारोबारी पक्राउ गरे पनि प्रहरी विभागमा बुझाउनैमा सीमित छ।
प्रहरी प्रवक्ता डिआइजी माधव जोशी हुन्डी अन्तर्राष्ट्रिय जालोका रुपमा फैलिएकाले नियन्त्रण प्रयास चाहेजस्तो प्रभावकारी नदेखिए पनि प्रहरीको प्राथमिकताको विषय रहेको दाबी गर्छन्। वैध बाटोबाट भिœयाउन सकिने रकमसमेत हुन्डी हुँदै आउँदा नियन्त्रणमा समस्या देखिएको बताउँदै उनी 'वैध आम्दानीलाई वैध माध्यमबाट ल्याउन प्रोत्साहित गरी गैरकानुनी कारोबार नियन्त्रण गर्नुपर्ने' सुझाए।
'प्रहरीले गम्भीर रुपमा नलिएको होइन, कानुनी प्रावधान, अन्तर्राष्ट्रिय रुपका कारण नियन्त्रण प्रभावकारी नदेखिएको हुनसक्छ,' डिआइजी जोशीले भने, 'ढिलोचाँडो हुन्डीमाथि संगठित आक्रमण आवश्यक छ र हुन्छ।'
प्रकाशित: ७ वैशाख २०७३ ०१:४२ मंगलबार