१७ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

साधुको भेषमा हतियार कारोबार

सिरहा–लामो दाह्री हातमा त्रिशुल र रातो रंगको झोला भिरेको व्यक्ति झट्ट हेर्दा साधु। साधुको भेषमा गैरकानुनी हतियारको धन्दा गर्लान् भनेर अनुमानसमेत गर्न मुस्किल।

सिरहा सुखिपुर–१ का भुटाइ दास साधुको भेषमा हतियार कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पछ्याउँदै जाँदा उनको साथमा रहेको रातो झोलाबाट दुई थान कटुवा पेस्तोल बरामद गर्यो। भारतीय बिआर ३२ एफ १६०३ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका दासलाई रोकेर खानतलासी गर्दा प्रहरीले दुई थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए। साधुको भेषमा ८ वर्षदेखि उनले अवैध हतियारको कारोबार गर्दै आएको प्ररम्भिक अनुसन्धानबाट खुलेको कोइरालाले बताए।

दासको झोलाबाट कटुवा बरमद भएपछि उनी चढेको मोटरसाइकल चालक हरिगोविन्द यादवसँग पनि प्रहरीले सोधपुछ सुरु गर्यो। सोधपुछबाट यादवको घरमासमेत हतियार हुनसक्ने प्रहरीले अनुमान गर्यो । प्रहरीको टोली यादवको हरकटी–५ स्थित घरमा पुग्यो। उनको घरमा खानतलासी गर्दा प्रहरीले मेड इन इटाली लेखिएको एक थान नाइन एमएमको स्वचालित पेस्तोल बरमद गर्यो। केरकार गर्दा उनी पनि पनि सोही समयदेखि अवैध हतियारको कारोबारमा संलग्न रहेको तथ्य फेला पर्यो। पक्राउ परेकासँग सोधपुछबाट उनीहरु भारतीय सहरबाट हतियार खरिद गरी वारि ल्याएर बिक्री गर्ने गरेको तथ्य पता लगाएको कोइरालाले बताए।

उनीहरुले सिरहालगायत बाहिरका जिल्लामासमेत हतियार बेचेको प्रहरीले पक्राउ गरेका व्यतिmहरुबाट खुलाएको छ। यादव भारतबाट हतियार खरिद गरी साधुको भेषधारी दासलाई ढाल बनाएर हतियार ओसारपसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको कोइरालाले बताए। साधुको भेषधारीबाट हतियार ओसारपसार गराउँदा कसैले सुइको नपाउन भने उद्देश्यले दासलाई प्रयोग गरेको कोइरालाको ठहर छ। समाजले साधुलाई सम्मानको दृष्टिले हेर्ने भएकोले हतियार कारोबारी साधुलाई यो धन्दामा समेटेको कोइरालाले बताए ।

 

13054409 874437566019291 854823483 o

साधुको भेषमा हतियार तस्करी गर्ने व्यक्तिसँग प्रहरीले बरामद गरेको हतियार

यो घटनाले हतियार कारोबारमा नयाँ तरिकालाई उद्घाटित गरेको प्रहरीले अधिकारी बताउँछन्। पछिल्लो समय भारतीय सहरबाट हतियार खरिद गरी मधेसका जिल्ला सिरहा र सप्तरीको नाकाबाट वारि छिराउँने क्रम बढेको छ। मधेस आन्दोलन सुरु भएदेखि यी जिल्लाका नाका प्रयोग गरी हतियार भित्रिने क्रम बढेको तथ्यांकले देखाउँछ। मधेस आन्दोलनको सुरुवातमै ठाढी नाकाबाट हतियार भित्र्याउने दुईजनालाई लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीको टोलीले सिमावर्ती इनर्वाबाट एकथान कटुवासहित पक्राउ गरेको थियो।

त्यपछि सिरहा प्रहरीले अन्य नाकामा हतियार भित्र्याउने संकास्पद व्यक्तिमाथि निगरानी बढायो। मधेस आन्दोलन सुरु भएदेखि हालसम्म प्रहरीले ठाढी, माडर र बरियारपट्टी नाका प्रयोग गरी भित्रिएका साना हतियारसहित १३ जनालाई पक्राउ गरिसकेको तथ्यांक छ। भारतीय सहरबाट भित्रिएको साना हतियार खरिद गरी यहाँका अपराधिक गिरोह बिभिन्न व्यक्तिलाई धमक्याउने, तर्साउने अपराधधन्दा चलाउन थालेको छ । केही वर्षदेखि सिरहा सप्तरीको समाजमा सुस्ताएको अपराधका घटना पुनः सलबलाउन थालेको छ। मधेस आन्दोलनसँगै यहाँको सीमानाकामा तस्करको रजाँई बढेपछि समाजिक असुरक्षा बढ्न थालेको जानकार बताउँछन्।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा डिआइजी केशरीराज घिमिरे पदभार सम्हालेपछि सीमा अपराध, तस्करी नियन्त्रणमा कडाई अपनाउन मातहतलाई कडा निर्देशन जारी गरेको छ। उनले अपराध र तस्करी नियन्त्रणका लागि क्षेत्रीय व्युरोको टोलीसमेत सिरहा र सप्तरीमा परिचालन गरेको छ। व्युरोको टोलीको समन्वयमा थालिएको अभियानको प्रभाव साना हतियार नियन्त्रणको हकमा देखिन थालिएको स्थानीय बताउँछन्। डिआइजी घिमिरेले भने,'इमान्दार काम गर्ने प्रहरीकर्मीलाई पुरस्कृत र गलत कार्य गर्नेलाई दण्डित गर्ने नीतिलाई क्रियाशिल बनाएको छु। तस्करी, अपाराधजन्य कार्यमा जुनसुकै प्रहरीकर्मीको संलग्नतालाई शुक्ष्म ढंगले हेर्दै छु । राम्रो काम गर्नेको कदर हुन्छ।'

प्रकाशित: ६ वैशाख २०७३ ००:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App