६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीको विभिन्न पालिकामा अतिक्रमित सडक खाली गराउने अभियान सुरु

सर्लाहीको हरिवन नगरपालिकाले हरिवन बजारस्थित पूर्व–पश्चिम राजमार्गको सम्पूर्ण अतिक्रमण हटाउन सुरु गरेको छ। मुख्य राजमार्गको अतिक्रमण हटाउने अभियान सुरु गरिएको तर केही व्यासायीहरुले छठसम्मको अन्तिम समय सीमा माग गरेको हरिवन नगरपालिकाले जनाएको छ।

हरिवनका नगर प्रमुख रमेश बुढाथोकीले राजमार्गमा ७५ फिटभित्रको अतिक्रमण खाली गराउन सुरु गरिएको जानकारी दिए। राजमार्गको ७५ फिटभित्र रहेका ठेला, अटो, म्याजिक, भाडाको गाडीलगायत बजारको व्यवस्थापन र अतिक्रमण हटाउने कार्य नगरपालिकाले सुरुवात गरेको नगर प्रमुख बुढाथोकीले जानकारी गराएका छन्।

अतिक्रमण गरी बनाइएका संरचना भत्काइ ७५ फिट कायम गर्न नगरपालिकाले डोजर प्रयोग गर्न थालेको छ। हरिवन बजार क्षेत्रमा ७५ फिटभित्रै व्यापार व्यवसाय गर्ने स–साना व्यवसायीले छठसम्म समयसीमा दिन र त्यसपछि विकल्पसहित अतिक्रमण हटाउन आग्रह गरेका छन्।

जिल्लामा अन्य पालिकाले पनि राजमार्गको अतिक्रमण खाली गर्न धमाधम सूचना जारी गरिरहेका छन्। लालबन्दी नगरपालिकाले एक हप्ताको समय सीमा सकिएको र अब लालबन्दी बजार क्षेत्रमा राजमार्गको ७५ फिट खाली गराउन सुरु गरिने जनाएको छ।

यस्तै, हरिपुर नगरपालिकाले पनि नवलपुर–मलंगवा सडक अन्तर्गत हरिपुर बजार क्षेत्रको अतिक्रमण हटाउने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ। सर्लाहीमा विभिन्न पालिकाले सडक अतिक्रमण हटाउने अभियान सुरु भएपछि चारैतिरबाट प्रशंसा भएको छ।

सडक मिचेर बनाइएका संरचना तथा गरिने व्यवसायले सर्वसाधारण यात्रुलाई अप्ठ्यारो हुने, दुर्घटनाको डर हुने तथा सहरको सौन्दर्यलाई हानी गर्ने हुनाले सडकलाई अतिक्रमणरहित बनाउन सबैको सहयोग अपेक्षित रहेको बुद्धिजीवीहरुको भनाइ छ।

प्रकाशित: २८ भाद्र २०७९ १५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App