१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

जनयुद्धका डोब: शीतलता दिँदै ‘मालगदिस’ विद्यालय

जता हेर्‍यो जनयुद्धका डोब (पीडाको भावमा) देखिने महोत्तरीको सुदूर उत्तरवर्ती खयरमारा बस्तीमा यी डोवमै मन शीतल बनाउने सम्झना पनि छ। खयरमाराका बस्तीभित्र त्यतिखेर आफन्त गुमाएको पिडा अझै भुल्न नसकेका परिवारजनका लागि सहिदहरूको सम्झनामा स्थापित विद्यालय मन बुझाउने छहारी बनेको छ।  

माओवादी जनयुद्धमा तत्कालीन सरकारी सेनाको निशानामा परेका सात माओवादी कमाण्डरको सम्झनामा स्थापित विद्यालय दिवङ्गतका परिवारजनका लागि शीतल छहारी बनेको हो। जहाँ गोलीगठ्ठा र बन्दुकको अभ्यास होइन, गरिब बस्तीका बालबालिका शिक्षाको उज्यालो घामसँग रमाउँदैछन्। सहिद विशालकुमार मालगदिस आधारभूत विद्यालय। सात माओवादी कमाण्डरको स्मृतिमा स्थापित विद्यालय परिसर पुग्दा छटपटिएको मनले सान्त्वना पाउने गरेको सहिद परिवार बताउँछन्।

‘विद्यालय परिसर पुग्दा चर्को गर्मीमा पनि शीतल हावाको अनुभूति हुन्छ', आफैँ पनि जनयुद्धमा होमिएका सहिद पिता खयरमारा बजारका कमल देवकोटा भन्छन्, ‘यहाँ पुग्दा छोरी र अन्य सहिद साथी नजिक छन् भन्ने लाग्दोरहेछ।’  आफ्नै निर्णयले जनयुद्धमा होमिएको हुँदा अरु पश्चाताप नभए पनि आम जनताको जीवन भने जहाँको त्यहीँ रहँदा मन कुँडिने गरेको देवकोटाको भनाइ छ। माओवादी जनयुद्धताका जिल्लाको एक क्षेत्रका राजनीतिक कमिसार रहेका देवकोटाकी छोरी सरलाको तत्कालीन शाही सेनाले हत्या गरेको थियो।

चुरे दक्षिण फेदीको बस्ती खयरमारा माओवादी जनयुद्धको आधार इलाका थियो। अहिले महोत्तरीको बर्दिबास नगरपालिका–१० र ११ मा पर्ने खयरमारा पुग्दा जनयुद्ध सम्झाउने धेरै कुरा भेटिन्छन्। जनयुद्धमा परिवारजन गुमाएकाहरुको आँसु, टुहुरा छोराछोरीको वियोग र घरको मुख्य मान्छे जनयुद्धमा मारिएपछि भताभुङ्ग भएको परिवार! यी उदाहरण बन्छन् जनयुद्ध सम्झाउन खयरमारामा। यसै ठाउँमा फरक अनुभूति ठाउँ बनेको छ, सहिद विशाल कुमार मालगदिस आधारभूत विद्यालय।  

यो जनयुद्धताकाको आधार इलाकामै दुःख, पीडा, वियोगसँगै जनयुद्धका लडाकुको सौर्य र समर्पणको स्मृति यो विद्यालयले सम्झाउने गरेको खयरमाराबासी बताउँछन्। खयरमाराले जनयुद्धमा वैचारिक, सैन्य र व्यवस्थापकीय कामका कमाण्डर उल्लेख्य सङ्ख्यामै दियो। जनयुद्धमा हाम फाल्ने लडाकु त कतिकति! तीमध्ये सहादत प्राप्त गरेका सात कमाण्डरको सम्झनामा यो विद्यालय स्थापना भएको हो।  

‘हाम्रो सिङ्गो बस्ती (खयरमारा) नै ‘माओवादी गाउँ’ भनेर चिनिन्थ्यो” जनयुद्धका सहिद मोहनचन्द्र गौतम (कुमार)की जीवनसङ्गिनी बर्दिबास नगरपालिकाका निवर्तमान उपप्रमुख कृष्णमाया गौतम भन्छिन्, ‘यहीँका बासिन्दा मात्र होइन, जनयुद्धमा होमिएका थुप्रै लडाकुको आश्रयस्थल थियो।’ खयरमारामा घरखेत नै भएका त्यतिखेरका केन्द्रीय नेता सिपी गजुरेल र शेरमान कुँवर (विशाल) सहितका नेताको सामिप्यता खयरमाराले पाएको गौतम सम्झन्छन्।  

यतिखेर खयरमारासँग जनयुद्ध सम्झाउने पारिवारिक विछोडको पीडा खेप्दै आएका परिवारजन मात्र नभएर त्यस युद्धमा सहादत प्राप्त गरेका अमर सहिदको सम्झनास्वरुप स्थापित यो विद्यालय छ। सहिद विशाल कुमार मालगदिस आधारभूत विद्यालय अर्थात् माओवादी जनयुद्धमा सहादत प्राप्त गरेका खयरमाराका सात सहिदको सम्झना सधैँ ज्युँदो राख्ने शिक्षाको पवित्र मन्दिर।  

यी सातमा ‘विशाल’ भनिने शेरमान कुँवर, ‘कुमार’ भनिने मोहनचन्द्र गौतम र पाँच अक्षरको ‘मालगदिस’ मा अन्य पाँच मानबहादुर स्याङ्तान्, लक्ष्मण देवकोटा, गङ्गामायाँ स्याङ्तान् ,दीपा कार्की र सरला देवकोटाको सम्झना रहेछ। विशाल स्थायी रुपले सिन्धुलीका बासिन्दा रहेपनि खयरमारालाई बाक्लै कर्मथलो बनाएका तत्कालीन माओवादी नेताका रुपमा खयरमारावासीले सम्झन्छन्। अन्य छ ९६० भने खयरमाराकै बासिन्दा रहेका सहिद विशाल कुमार मालगदिस आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद देवकोटा बताउँछन्।

‘उहाँ सातैजना हाम्रो ठाउँको दुःखसुखमा साथ रहनुहुने नेता हुनुहुन्थ्यो, अहिले जनयुद्धकालीन घाँउ विर्साउने उहाँहरुकै नाउँमा स्थापित यो विद्यालय छ’, देवकोटा भन्छन्, ‘विद्यालय परिसर प्रवेश गर्नासाथ ‘बोर्ड’मा रहेको नाउँले उहाँहरुलाई सम्झाउँछ, वाँकी अरु त सवै व्यथाकै कथा छन्।’

सहिदका नाउँमा २०६७ सालमा स्थापित यो विद्यालयमा अहिले ११३ छात्रा र १०५ छात्र गरी २१८ जना अध्ययनरत छन्। गरिब बस्तीका छात्रछात्राको यो विद्यालयमा ६७ जना जनजाति समुदायका र ३६ जना दलित समुदायका छोराछोरी अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक दीर्घराज गौतम बताउँछन्।  

‘विद्यालयमा स्थायी दुई र स्थानीय स्रोतबाट एकजना गरी तीन शिक्षकले कक्षा–६ सम्मको पठनपाठन चलाउँदै आएको प्रधानाध्यापक गौतम बताउँछन्। विद्यार्थी सङ्ख्या र कक्षाअनुसार कमसेकम छ शिक्षक हुनुपर्ने आफूहरुले बर्दिबास नगर कार्यपालिकाको शिक्षा तथा खेलकुद शाखासँग मागगर्दै आएको उनको भनाइ छ। आवश्यकता अनुसार शिक्षक दरवन्दी नपाउदा कक्षा सञ्चालनमा निकै अप्ठ्यारो झेल्नु परेको गौतमले बताए।  

खयरमारा खोलाको किनार नजिकको करिब दुई कठ्ठा जग्गामा निर्मित चार कोठे भवन अपूग भएपछि अहिले अर्को भवन निर्माणकै चरणमा छ। सहिदहरुको नाउँमा स्थापित यस विद्यालयलाई भौतिक रुपमा सम्पन्न बनाइ गुणस्तरीय शिक्षाका लागि सम्झनयोग्य ठाउँ बनाउनसके उनीहरुप्रति सच्चा श्रद्धाञ्जली हुने खयरमाराबासी बताउँछन्।

प्रकाशित: २५ भाद्र २०७९ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App