२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

समातिए सरकारी वकील कार्यालयबाट भागेका थुनुवा

फाइल तस्बिर

म्याद थपका लागि जिल्ला सरकारी वकील कार्यालय लगिएका बेला भागेका थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुन चोरी आरोपमा पक्राउ परेका घोराही १७ का लक्ष्मण बिश्वकर्मा म्याद थपका क्रममा सरकारी वकील कार्यालय लगेका बेला त्यहिँबाट भागेका थिए।  

बिहिबार भागेका उनलाई प्रहरीले शुक्रबार राती गढवादेखि कोइलावास जाने बाटोमा नियन्त्रणमा लिएको हो। ‘कोइलाबास नाका भएर भारत जाने उसको योजना मुताबिक यो मान्छे अफरोड (जंगलको बाटो) हुँदै निस्कन खोजेको रहेछ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले भने ‘त्यहि क्रममा हामीहरुले यसलाई नियन्त्रणमा लियौँ।’

डिएसपी गौतमका अनुसार गत २२ गते नारायाणपुरबाट सुन चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। ‘बच्चाले लगाउने सानो मुन्द्री खालको सुनको गहना र केहि नगद चोरेर भाग्दै गरेको अवस्थामा हामीहरुले उसलाई गत २२ गते नियन्त्रणमा लिएका थियौँ,’ डिएसपी गौतमले भने ‘बिहिबार थप अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकील कार्यालयमा पुर्याइएको थियो।’ सरकारी वकील कार्यालयमा म्याद थपका लागि कागजात तयार हुँदै थियो। त्यसै क्रममा उनले आफूलाई शौचालय जान मन लागेको भनेका थिए।  

‘दिसा लाग्यो भनेपछि उसको हातमा लगाइएको हतकडी खोलियो,’ डिएसपी गौतमले भने ‘सरकारी वकील कार्यालयको दोस्रो तलामा रहेको शौचालयमा उ गयो।’ शौचका लागि भनेर गएका बिश्वकर्माले झ्यालमा लगाइएको सिसाहरु उकाए। ‘शौचालयमा शिशाहरु लगाइएको र ती सिसामा पनि लक लगाइएको रहेछ,लक खोल्दा वित्तिकै सिसा फुटाउनै नपर्ने अवस्था भयो,’ डिएसपी गौतमले भने ‘अनि सिसा खोलेर त्यहिँबाटै निस्कीयो र हाम फालेर भागेको थियो।’  

म्याद थपका लागि लगिएको थुनुवा भागेपछि प्रहरीले खोज तलासलाई तिब्र बनाएको थियो। डिएसपी गौतमका अनुसार उनले फरक फरक नम्बरबाट घर परिवार तथा साथीहरुलाई सम्पर्क गरेर पैसा मागिरहेको सूचना प्रहरीले पाएको थियो। ‘उसले घर परिवार तथा साथीहरुलाई फोन गरेर पैसा सहयोग मागिरहेको सूचना हामीहरुले पाई रहेका थियौँ,’ गौतमले भने ‘उसको कन्ट्याक्ट ट्रेसिङ भैरहेको थियो, अनि हामीहरु उ भएको ठाउँसम्म पुग्न सफल भयौँ।’

प्रहरीका अनुसार बिश्वकर्मा यसअघि पनि चोरी गरेको कसुरमै साढे ३ वर्ष जेल सजाय भुक्तान गरिसकेका थिए। फलतः उनलाई पुनः कारागार बस्नु पर्ने सकसले भाग्नै सहि भन्ने सोच पलाएको डिएसपी गौतमले बताए। ‘मैले उसलाई नियन्त्रणमा लिएर आउने बेलामा सोधेँ,उसले आफू पहिला पनि जेलमा साढे तीन वर्ष बसेको र अब फेरी बस्नु नपरोस् भनेर भाग्नै उचित ठानेको भन्यो,’ बिश्वकर्मालाई नियन्त्रणमा लिन गएका डिएसपी गौतमले भने ‘उसको भनाइ अनुसार उसलाई फेरी जेलमै बस्नु पर्ने बाध्यता आउने र जेलमा बस्नु भन्दा भाग्नै बेस भन्ने लागेको देखियो।’  

प्रकाशित: २५ भाद्र २०७९ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App