२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पोखरालाई फोहोर व्यवस्थापनको सकस

पोखरा महानगरले धरान र दिल्ली घुम्यो, तर, फोहोर व्यवस्थापनको तरिका टुंग्याएन

पोखराको बाच्छेवुडुवास्थित ल्याण्डफिलसाइट।

फोहोर व्यवस्थापनको चूनौती खेप्दै आएको पोखरा महानगरपालिका अझैसम्म टुंगोमा पुग्न सकेको छैन। पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी एकदेखि सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तयारीपछि पोखरा महानगर फोहोर व्यवस्थापनको झनै दबावमा छ।

विमानस्थल सञ्चालनको दिन नजिकिँदै जाँदा जतिसक्दो छिटो हाल फोहोर व्यवस्थापन गरिरहेको ल्याण्डफिलसाइट अन्यत्र सार्नुपर्ने दबावमा महानगर छ। तर, अहिलेसम्म कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने महानगरले टुंगो लगाउन सकेको छैन। किनकी विमानस्थल र हाल फोहोर व्यवस्थापन गरिरहेको ल्याण्डफिल साइट करिब २ किलोमिटर भित्रका दूरी हुन्।

ल्याण्डफिलसाइट नजिक पर्दा फोहोरका कारण आकर्षित हुने चराको उडानले विमानस्थलबाट हुने हवाई उडानमा चूनौती थपिने विज्ञहरुले बताएका छन्। त्यसैले गर्दा जतिसक्दो छिटो ल्याण्डफिलसाइट अन्यत्र सार्नुपर्ने दबावमा महानगर छ।  

फोहोर व्यवस्थापनको तरिका बुझ्न विभिन्न सहरमा अध्ययन गर्न पुगेको पोखरा महानगरको टोलीले अब के गर्ने भन्नेबारे अझै निर्णय गरिसकेको छैन। तर, धरान र भारतको दिल्लीको समेत फोहोर व्यवस्थापनको अभ्यास अध्ययन गरेर महानगर टोली पोखरा फर्किसकेको छ। भौतिक उपस्थितिमै अध्ययन गरिएको भएपनि तत्काल निर्णयमा पुग्न भने नसकेको महानगरले जनाएको छ।  

महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले धरान र दिल्लीको समेत अध्ययन भइसकेपनि पोखराको फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय भने नभएको बताए। ‘हामीले धरान र दिल्लीको समेत फोहोर व्यवस्थापनको अभ्यास हेरेर आयौं। तर, पोखरामा कसरी व्यवस्थापन कसरी गर्ने भन्ने अझै टुंगो लागेको छैन,’ तिम्सीनाले भने, ‘विमानस्थल सञ्चालनको दिन नजिकिँदै जाँदा जतिसक्दो छिटो व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसैले दबावमा काम गर्नुपर्ने अवस्था छ।’

धरानमा फोहोरबाट ग्यास निकालिएको र भारतमा भने विद्युत नै उत्पादन गरिएको उनले बताए। ‘हामीले धेरैतिर बुझ्यौ। तर, अब कसरी गर्ने भनेर अझै टुंगो लागेको छैन,’ उनले भने, ‘पोखराको फोहोर व्यवस्थापनमा कुन विधि अपनाउने भन्ने निर्णय भइसकेको छैन। विज्ञको सुझाव लिएर पोखराले निर्णय गर्नेछ। जतिसक्दो छिटो टुंगोमा पुग्ने प्रयासमा छौँ।’

महानगरका मेयर धनराज आचार्यका अनुसार भारतको दिल्लीले २०१७ देखि मात्र फोहोरबाट विद्युत उप्पादन गर्न थालेको थियो विभिन्न तीनवटा प्लान्टबाट दिल्लीमा फोहोरबाट विद्युत उत्पादन गरिएको छ। ती प्लान्टबाट क्रमशः २४, १२ र १४ मेगावाटको विद्युत निकालिएको छ।

‘भारतमा फोहोरबाट विद्युत निकालिएको रहेछ। एक सय टन फोहोरबाट एक मेगावाट विद्युत निकालिएको छ,’ मेयर आचार्यले भने, ‘त्यसैगरी ग्यास पनि निकालिएको छ।’ पोखरा महानगरले भने अब कुन तरीका अपनाएर व्यवस्थापन गर्ने भन्ने टुंगो लगाउने उनले बताए। ‘हामीले अब कुन तरिकाबाट पोखराको फोहोर व्यवस्थापन गर्ने भन्ने निर्णयमा जाने हो। त्यो निर्णय भइसकेको छैन,’ उनले भने।  

पोखराको सडकमा थुपारिएको फोहोर।

प्रवक्ता तिम्सीनाका अनुसार भारतको दिल्लीमा झै फोहोरबाट विद्युत निकाल्न पनि सकिन्छ। तर, यो विधी निकै नै खर्चिलो छ। २४ मेगावाट विद्युत निकाल्न करिब ४ अर्ब रुपैयाँ खर्च भएकोले त्यो आर्थिक रुपमा पोखराको लागि सहज नहुन पनि सक्छ दिल्लीको तुलनामामा निकै नै कम फोहोर संकलन हुने भएकोले पोखराले लगानिका हिसाबले पनि प्रभावकारी माध्यम रोज्ने उनले बताए।  

तत्कालको विकल्प

आगामी जनवरी एकदेखि विमानस्थल सञ्चालनमा आउने हुँदा त्यो भन्दा अगाडि नै पोखराको हालको ल्याण्डफिलसाइट अन्यत्र सार्नैपर्ने हुन्छ तर, अहिलेसम्म कुन विधिबाट फोहोर व्यवस्थापन गर्ने वा ल्याण्डफिलसाइट कहाँ सार्ने भन्ने टुंगोमा महानगर पुगिसकेको छैन। त्यसैले तत्कालका लागि नयाँठाँउ खोजेर ल्याण्डफिलसाइट सार्ने र पछि व्यवस्थापनको तरिकामा जाने तयारी भइरहेको महानगरका प्रवक्ता तिम्सीनाले बताए।

 ‘हामीलाई विमानस्थलको दबाव छ। अब प्रविधि भित्र्याएर जाँदा ढिलाइ हुन्छ। त्यसैले तत्कालका लागि नयाँ ल्याण्डफिलसाइट पहिचान गर्ने र फोहर व्यवस्थापन गर्दै जाने, अनि दीर्घकालीन पूर्वाधार पनि बनाउनुको विकल्प छैन,’ उनले भने, ‘बरु त्यसका लागि तत्काल ठाउँ खोज्ने काम सुरु गरेका छौ। कुन विधिबाट व्यवस्थापन गर्ने भन्ने निर्णय नभइसकेकोले पनि तत्कालका लागि ल्याण्डफिलसाइट नै खोज्नुको विकल्प छैन।’

उनले अब खोजिएको ल्याण्डफिलसाइटमा आवश्यक प्लान्ट राखिहाल्ने भन्दा पनि तत्कालका लागि फोहर थुपार्ने गरी योजना बनाएको बताए। ‘प्लान्ट राखेर तत्काल सम्भव छैन, प्लान्ट राखिसक्दा ढिला हुन्छ। त्यसैले पछि उपयुक्त प्लान्ट राख्नेगरी अहिलेका लागि डम्पिङसाइट मात्र बनाउनुपर्छ, त्यही अनुसार ठाउँ खोजिमा महानगर जुटेको छ,’ उनले भने, ‘अहिले नै कुनखालको प्लान्ट राख्ने भन्ने पनि टुंगो लागेको छैन। त्यसैले पनि हालका लागि डम्पिङ क्षेत्र खोज्नुपर्ने भएको छ।’

महानगरले यसअघि प्रस्ताव गरेका ठाउँमा स्थानीयको विरोध भएपछि काम रोकिएको थियो। अब नयाँ ठाउँ पहिचानको लागि महानगरले काम अघि बढाएको उनले बताए। पोखराले अहिले दुइसय रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापन गरिरहेको छ। पोखरामा दिनमा ३० वटा गाडीले सहरभित्रको फोहोर संकलन गर्छ। दिनमा करिब एक सय टन फोहोर ल्याण्डफिलसाइटमा फ्याक्ने गरिएको छ। त्यसबाहेक अस्पतालबाट निस्कने थप सातटन जति फोहोर हुन्छ। एउटा गाडीले दिनमा तीनट्रिपसम्म फोहोर उठाउने गरेको छ। 

प्रकाशित: १६ भाद्र २०७९ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App