७ वैशाख २०८१ शुक्रबार
समाज

पोखरा महानगरले भन्योः ३५ दिनभित्र अन्डरग्राउण्ड खाली गर्नु

पोखराको नयाँ बजारस्थित सीता भवनको अन्डरग्राउण्डमा सञ्चालित मोबाइल पसल। तस्बिर: उमेश पुन

पोखरा महानगरपालिकाले सिटीभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गरेको छ।

महानगरपालिकाले पोखरा सिटीभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गरेको हो। पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अन्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्न सूचना जारी गरेको महानगरपालिकाले जनाएको छ।

खाली गरिएको अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग गर्न महानगरपालिकाले जारी गरेको सूचनामा आग्रह गरिएको छ। महानगरपालिकाको सूचनामा भनिएको छ, ‘पैंतीस दिनभित्र भूमिगत तलालाई खाली गरी पार्किङको रुपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ अन्यथा कानून बमोजिम कारबाही गर्नेछ।’ पोखराका चोकहरुमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ। नत्र महानगरले नक्सा पास नै गरिदिँदैन।

अन्डरग्राउण्ड पार्किङ बनाएमा भने सो तलाको पचास प्रतिशत राजश्वसमेत घरधनीले छुट पाउँछन्। महानगरको प्रावधानमै रहेर घरधनीले घर निर्माण गर्ने गरेका छन्। राजश्वमा छुट पनि लिन्छन्। तर घर निर्माण भइसकेपछि भने अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग भने अधिकांशले गर्दैनन्। बरु त्यो तलालाई उनीहरुले व्यवसायिक प्रयोजन र गोदाम (भण्डार)का रुपमा प्रयोग गर्ने गरेका छन्।

करिब २५० घरधुरीले अन्डरग्राण्डमा पार्किङ बनाउने भनेर नक्सापास गराउँदै पचास प्रतिशत छुट लिएपनि व्यवहारमा उतारेका छैनन्। २५० मध्ये करीब ६० घरले मात्रै महानगरको मापदण्डमा रहेर अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग गर्ने गरेको पोखरा महानगरपालिकाका इञ्जिनियर सुरेन्द्र पौडेलले बताए। उनीहरुले अरुका लागि पार्किङ दिनु त परको कुरा आफ्नै साधनपनि सडकमा लगेर पार्किङ गर्ने गर्छन्।

त्यसरी पार्किङ गर्नुपर्ने ठाउँमा मोटरसाइकल ग्यारेज, मोबाइल पसल, खाजाघर, दोहोरी साँझ, कपडा पसललगायतका व्यवसाय हुने गरेका छन्। एकातिर पार्किङका लागि बनाइएको घरको अन्डरग्राउण्डलाई व्यवसाय गर्ने थलो र गोदाम बनाइरहँदा अर्कोतिर पार्किङको समस्या पोखरेलीले झेलिरहेका छन्। पोखराका चोक तथा नजिकका क्षेत्रहरु पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोकमा पार्किङ अभाव छ।

सोही कारण सर्वसाधारणहरु पार्किङ खोज्दै तलमाथि गर्न बाध्य छन्। अर्कोतर्फ पार्किङ गर्ने ठाउँ नभेटेपछि बाध्य भएर दोहोरो, तेहेरो पार्किङ गर्नुपर्ने समस्या पोखरेलीले भोग्दै आएका छन्। महानगरपालिकाले अटेर गरेर अन्डरग्राउण्ड खाली गरेर पार्किङ स्थल नबनाए आफैंले डोजर प्रयोग गरेर हटाउने जनाएको छ।

महानगरपालिकाका इञ्जिनियर पौडेलले सूचनालाई बेवास्ता गरेर अन्डरग्राउण्ड खाली नगरे खर्च घरधनीले व्यहोर्ने गरी महानगर आफैंले हटाउने बताए। ‘सुरुमा उहाँहरुलाई आग्रह गर्ने हो। आग्रह गर्दा, सूचना जारी गर्दापनि अटेर गरिरहे महानगर आफैंले डोजर लगाउनुको विकल्प रहँदैन,’ उनले भने।

महानगरले एक महिनाअघि पनि सूचना जारी गरेको थियो तर कसैले पनि अन्डरग्राउण्ड खाली गरेनन्। उसो त २०७४ सालमा निर्वाचित जनप्रतिनिधिलेपनि यसैगरी अन्डरग्राउण्ड खाली गर्न भन्दै सूचना जारी गरेको थियो। तर त्यतिबेला पनि घरधनी र व्यवसायीले अटेर गर्दा सो अभियान असफल भएको थियो।

प्रकाशित: १३ भाद्र २०७९ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App