४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मन्त्री यादवद्वारा तीन आयोजना शिलान्यास र एकको उद्घाटन

निर्वाचनको घोषणा भए लगत्तै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले कपिलवस्तुमा एकै दिन ३ आयोजनाको शिलान्यास र एक आयोजनाको उद्घाटन गरेका छन्।

शिलान्यास गरिएको आयोजना मन्त्री यादव कै कपिलवस्तु क्षेत्र नम्बर १  ‘क’ मा पर्छ। जसपाका नेता तथा मन्त्री यादवले कपिलवस्तु जिल्लामा निर्माण हुने दुई वटा सडक र एउटाको पुलको शिलान्यास गरे भने निर्माण सम्पन्न एउटा पुलको उद्घाटन गरे। उनले जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ मा बिमिहा–सोहसा सडक आयोजना, मायादेवी र कपिलवस्तु नगरपालिका जोड्ने चाकलचौडा–पचेहरा सडकखण्ड, दोहनी–लोधडिह सडक खण्ड स्थित लोधडिह बक्स कल्भर्ट निर्माणको शिलान्यास गरेको सडक पुर्वाधार कार्यालय कपिलवस्तुका प्रमुख ईन्जिनियर हितेन्द्र रायमाझीले जानकारी दिए। 

त्यसैगरी यादवले निर्माण सम्पन्न भएको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ स्थित निगाली तिलौराकोट सडकखण्डको रामजकिया खोला पुलको उदघाटन गरेको प्रमुख रायमाझीले बताए। मन्त्री यादवले जिल्लामा विकास निर्माणका कार्य अगाडी बढाउन आफूले प्रयाप्त बजेट विनियोजन गराउन सकेकोे दाबी गरे। उनले जिल्लामा भौतिक पूर्वाधारका क्षेत्र सँगै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका लागी समेत बजेट विनियोजन गराउन आफू सफल भएको बताए।

भौतिक पूर्वाधार मन्त्रालय लुम्बिनी प्रदेशका सचिव अमृत श्रेष्ठले जिल्लाको विकासका लागी आएको बजेटले पारदर्शी रुपमा काम सम्पन्न गर्न जनताले समेत चासो लिनुपर्ने बताए । पूर्वाधार विकासले नागरिकको सर्वोपरि विकासलाई सहयोग पुर्याउने भएकाले स्थानीयले विकासको कार्यमा सहयोग गरेर साझेदार बन्नुपर्ने उनले बताए। समयमै गुणस्तरीय विकासको कार्य पूरा गराउन मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायले ध्यान दिने उनले बताए। शिलान्यास भएको अनुमानित १० करोड ९६ लाख ४८ हजार रुपैँया बढी रकममा निर्माण सम्पन्न  हुने अस्फाल्ट प्रविधिको बिमिहा–सोहसा सडकको लम्बाई ५ हजार ६ सय ९१ मिटर छ।  सो आयोजनाको सम्झौता २०७९ असार १४ मा गरिएको र १८ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ। सो सडकको ठेक्का श्री एशियाटिक–रिजाल जे.भि., रुपन्देहीले मुअ. कर सहित ९ करोड ७७ लाख ९९ हजार ३ सय २७ रुपैँया ७ पैसामा लिएको छ।

त्यसैगरी डिभिएसटी प्रविधिमा निर्माण हुने चाकलचौडा–पचेहरा सडकखण्डको लम्बाई ३ हजार ७ सय मिटर छ। अनुमानित ५ करोड ८४ लाख ९ हजार बढि रकममा निर्माण सम्पन्न हुने सो आयोजनाको सम्झौता २०७९ असार ६ मा गरिएको र १२ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ। सो सडकको ठेक्का श्री बटाजु – एशियाली जे.भि, रुपन्देहीले मुअ. कर सहित ५ करोड ३१ लाख ६७ हजार ८ सय ९ रुपैँया  ५ पैसामा लिएको छ।

मन्त्री यादवले शिलान्यास गरेको लोधडिह बक्स कल्भर्टको लम्बाई १६ दशमलव ५ मिटर रहेको छ। अनुमानित २ करोड ९ लाख २५ हजार बढी रकममा निर्माण सम्पन्न हुने सो बक्स कल्भर्टको सम्झौता २०७९ असार ७ मा गरिएको र १२ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ। सो कल्भर्टको ठेक्का श्री श्रीराम निर्माण सेवा, कपिलवस्तुले मुअ. कर सहित १ करोड ९७ लाख ७६ हजार ७ सय ६ रुपैँया ६४ पैसामा लिएको प्रमुख रायमाझीले बताए। उद्घाटन गरिएको रामजकिया खोलाको पुलको लम्बाई २५ मिटर रहेको छ। मुअ कर सहित ३ करोड २८ लाख ३६ हजार ४ सय २६ रुपैँया २ पैसामा निर्माण व्यवसायी कम्पनी श्री एशियाटिक –हिमाल जे.भि. नुवाकोट ६ अर्घाखाँचीले सो पुलको निर्माण सम्पन्न गरेको हो। २०७७ जेठ ३२ गते सम्झौता भएको सो आयोजनाको निर्माण कार्य २०७८ मंसिर २९ गते पुरा भएको हो।

शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा शिलान्यास गरिएको सडक र पुलको अयोजनाको कार्यक्रममा मन्त्री यादव सँगै भौतिक पूर्वाधार मन्त्रालय लुम्बिनी प्रदेशका सचिव अमृत श्रेष्ठ, सडक पूर्वाधार कार्यालय कपिलवस्तुका प्रमुख हितेन्द्र रायमाझी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दिन मुसलमान, शुद्धोधन गाउँपालिकाका निर्वतमान अध्यक्ष निसार अहमद खाँ, मायादेवी गाउँपालिका निवर्तमान अध्यक्ष बजरंगी कुर्मी र सम्बन्धित वडाका अध्यक्षसहितका जनप्रतिनिधिको सहभागीता रहेको थियो।

प्रकाशित: ९ भाद्र २०७९ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App