४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पाथीभरा म्याराथनका बिजेताले साढे एकलाख पुरस्कार पाउने

एकलाख जनाले अवलोकन तथा सहभागिता जनाउने लक्ष्यसहित आउँदो असोज ११ गतेदेखि ताप्लेजुङमा हुने पाथीभरा म्याराथनका बिजेताले पाउने पुरस्कार रकम सार्वजनिक भएको छ।

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव मूल समारोह समितिले सोमबार पत्रकार सम्मेलन मार्फत महोत्सव अवधिमा एकलाख मानिसहरु पाथीभरा दर्शनसहित महोत्सवको अवलोकनमा सहभागी हुने लक्ष्य रहेको जनाएको छ। ‘पाथीभरामा वर्षभरीमा कम्तिमा ५ लाख जनाले दर्शन गर्ने र महोत्सव अवधिमा कम्तिमा एकलाख जनाले पाथीभराको दर्शन तथा महोत्सवको अवलोकन गर्ने अनुमान गरेका छौं’ पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक तारानाथ घिमिरेले भने।

पाथीभरा दर्शनको मुख्य सिजनकै बेला महोत्सव आयोजना भएकोले दर्शनार्थी र महोत्सवका सहभागीको संख्या अपेक्षाकृत लक्ष्य भन्दा बढी हुने मूल समारोह समितिले अनुमान गरेको छ।

घिमिरेका अनुसार खुल्ला म्याराथनतर्फ प्रथम हुनेले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैंयाका साथ प्रमाणपत्र पाउने छन्। द्धितीय हुनेले नगद १ लाख ११ हजार १ सय ११ र तृतीय हुनेले ५१ हजार १ सय ११ रुपैंया पुरस्कारका साथ प्रमाणपत्र पाउने छन्।

यस्तै महिला हाफ म्याराथनमा प्रथम हुनेले ८१ हजार १ सय ११ रुपैंयाका साथ प्रमाणपत्र प्राप्त गर्दा द्धितीय हुनेले ५१ हजार १ सय ११ का साथ प्रमाणपत्र पाउने छन्। तृतीय हुनेले नगद ३१ हजार १ सय ११ रुपैंयाका साथ प्रमाण्पत्र प्राप्त गर्ने मूल समारोह समितिले जनाएको छ।

खुल्ला म्याराथन तथा महिला हाफ म्याराथनमा दशौं स्थान सम्मको नतिजा ल्याउनेलाई प्रोत्साहन स्वरुप जनही ५ हजार रुपैंया नगदका साथ प्रमाणपत्र प्रदान गरिने भएको छ।

पुरस्कारको सबै रकम हिमालयन् गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिले गरेको हो। ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङ्देवा घर भई हाल काठमाण्डौमा पर्यटन व्यवसायीका रुपमा रहेका हिमालयन् गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिका महाप्रवन्धक ईश्वरी पौडेलले म्याराथनको सुरुआत २०६५ सालबाट नै पुरस्कार रकम प्रायोजन गर्दै आएका छन्।

पौडेलको अगुवाईमा रहेको हिमालयन् गाईड्स नेपालकै सफल पर्यटन व्यवसायी केन्द्रको रुपमा परिचित रहेको छ। विश्वका अग्ला शिखर सगरमाथा,कञ्चजंघा सहितका नाम चलेका हिमालको आरोहण तथा एक्सपीडिसन गराउनेमा हिमालयन् गाईड्स नेपालका अब्बल पर्यटन व्यवसायी केन्द्रमध्येमा रहेको छ।  

साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हुने महोत्सव तथा म्याराथन यसबर्ष सो भन्दा केहि महिना अघि असोज दोस्रो सातामै हुन लागेको हो।

कोरोना संन्त्रासका कारण २०७६ साल फागुनमा भएको महोत्सव पछि महोत्सवको अर्को संस्करण सञ्चालन हुन सकेको थिएन। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म तीनवटै निकाय संयुक्त आयोजक रहेका छन्। बडादशैं र भीमकाली गुल्मको वार्षिक उत्सव समेतको अवसर पारेर यो कार्यक्रम गर्न लागिएको हो।  

प्रकाशित: ६ भाद्र २०७९ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App