१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

श्रीमतीसँगको सहवासमा जब परस्त्रीको नाम उच्चारण भयो...

यातना र घृणाको बदला श्रीमानको हत्या

तुलबहादुरको हत्या आरोपमा पक्राउ परेकी उनकै श्रीमती कुमारी कामी र अनुसन्धानका लागि लियन्त्रणमा लिएकी साली मनिषा विक। तस्विरः संगम/नागरिक

जिल्लाको निसीखोला गाउँपालिका-४ स्थीत निसीखोलामा भदौ १ गते टाउको काटिएको युवकको शव फेला पर्‍यो। हातमा कोपिएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका-५ का तुलबहादुर विकको शव भएको पत्ता लगायो। उनको एक हप्ता अगाडि नै हत्या गरेर खोलामा फालिएको रहेछ।  

शवको पहिचान खुलेपछि प्रहरीले हत्याराको खोजी सुरु गर्‍यो। हत्याराको खोजी गर्दै चार पाँच वटा शिराबाट अनुसन्धान थालेको प्रहरी तब झस्कियो तब अनुसन्धानका रेखाहरु मृतक विककै श्रीमतीतर्फ सोझियो। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाउँदै गर्दा मृतककी श्रीमती कुमारी कामीको अनुहारमा न श्रीमानको मृत्युका शोक थियो न सुर्ता।

त्यै पनि प्रहरीले अनुसन्धानलाई अरु नै कोणबाट अगाडि बढायो। टाउको छिनाएको अवस्थामा विभत्स शव भेटिएपछि त्यसको अनुसन्धानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय गलकोटका इन्सपेक्टर सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवाली आँफै घटनास्थल पुगेका थिए। जिल्ला प्रहरी कार्यालयमा यस अघि कार्यरत रहेर सरुवा भैसकेको इन्सपेक्टर हेम भण्डारी पनि बागलुङ आएको बखत परेकाले त्यो घटनास्थलतर्फ गए। जिल्ला प्रहरी कार्यालय बागलुङमा हत्या आरोपी सार्वजनिक गर्न आईतबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा हत्या बारेमा जे तथ्यहरु सार्वजनिक गर्‍यो, त्यो धेरैलाई झस्काउने खालको छ।

प्रहरीले विकको हत्या आरोपमा उनकै श्रीमतीलाई पक्राउ गरेर बयान लिन थालेपछि घटनाको सनसनीपूर्ण विवरण खुल्दै गएको हो। प्रहरीका अनुसार मृतक विक साउन २४ मात्रै काठमाडौंबाट घर फर्किएका थिए। विदेश जानका लागि अप्लाई गर्न काठमाडौं पुगेर घर फर्केका उनी २५ गते दिउँसो साथीहरुसहित मदिरा सेवा गर्न आफू बस्दै आएको घर भन्दा ५ सय मिटर परको भट्टी पसलमा गए। आफू विदेश जाने तयारीमा रहेकाले साथीहरुसंग बिदाइ पार्टी गर्ने योजना अनुसार उनी भट्टी पुगेका थिए। मृतक विकको गोजीमा साढे दुई सय रुपैयाँ मात्रै पैसा थियो। रक्सी पिउन रकम अपुग भएपछि उनी घर फर्के र श्रीमतीसँग भएको ५० रुपैयाँ र सालीसँंग भएको एक सय रुपैयाँ गरी एक सय ५० रुपैयाँ लिएर फेरी भट्टी पसल पुगे।  

दिउँसो ८ जनाले संगै मदिरा सेवन गरे पनि साँझ ढल्दै गर्दा सबै एक एक गर्दै आफ्नो बाटो लागे। साँझको ८ बजेको सेरोफेरोमा मृतक विक र अर्का एक जना मात्रैे थिए। मदिरा पिउने पैसा सकिएपछि उनीहरु पनि त्यहाँबाट निस्केर आ(आफ्नो घरतर्फ लागे।

तुलबहादुरले भोलिपल्ट ढोरपाटन मेला हेर्न जाने कुरा साथीहरुँंग गरेका थिए। तर उनी त्यही रातिबाट वेपत्ता थिए। प्रहरीले अनुसन्धान अगाडि बढाउँदा मृतककी श्रीमतीले विक ढोरपाटन जान्छु भनेर निस्किएको भनेर बयान दिएपछि प्रहरीले श्रीमतीतर्फ आशंका गरेन। अनुसन्धानको घेरालाई साँघुरो बनाउँदै लैजाने क्रममा प्रहरीले मृतक विकको कल डिटेल र फेसबुक डिटेल चेक ग¥यो। कल डिटेल र फेसबुक डिटेल चेक गर्दा विकको अन्य थुप्रै महिलाहरुसँग लामो कुराकानी भएको भेटियो।  

साउन २५ गते राति ८ बजेपछि एक जना महिलासँग फेसबुकमा कुरा भएको भेटेपछि प्रहरीले त्यतैतर्फ अनुसन्धान अगाडि बढायो। त्या राति ती महिलाले सामाजिक सञ्जालमा केराको तस्विर पठाएर केरा खान आउनु भन्ने म्यासेज पठाएकी थिइन्। मृतक विकले भ्वाईस मेसेज पठाएका थिए। प्रहरी अब अनुसन्धान सकियो अपराधी पत्ता लाग्यो भनेर हौसियो। तर डिटेल चेक गर्दा ती महिलाको ठेगाना नुवाकोट पत्ता लागेपछि प्रहरी एकाएक शून्यमा आईपुग्यो र नयाँ शिराबाट अनुसन्धान अगाडि बढाउन बाध्य भयो। मोबाईल कल डिटेल चेक गर्दा उनकै साली पर्ने मनिषा विकसँग पनि धेरै कुरा हुने गरेको भेटिएपछि प्रहरीले अनुसन्धान त्यतातर्फ तेस्र्यायो।

जिल्ला प्रहरी प्रमुख आँफै अनुसन्धानमा संलग्न भएकाले प्रहरी आँफैलाई पनि छिटो अनुसन्धान सक्नुपर्ने दबाब थियो। शनिबार एसपी आँफैले अन्य अनुसन्धान अधिकारीसहित साली पर्ने मनिषा विकलाई तीन घण्टा केराकार गरे। एसपी ज्ञवाली भन्छन्, ‘कुरो चुहाउन निकै गाह्रो भयो, हामीले एउटा माइन्ड गेम खेल्यौं, तिम्री दिदीले बहिनीसँग धेरै फोनमा कुरा हुन्थ्यो, बहिनीले मारेको हुनुपर्छ भनेर बयान दिएकी छिन्। साँचो कुरा हो भन भनेपछि बल्ल घटनाको पर्दा खुल्न सुरु भयो।’ मनिषाले प्रहरीलाई घटनाको बेलिविस्तार लगाउन सुरु गरिन्। २५ गते राति ९ बजेतिर तुलबहादुर रक्सीले मातेर घरमा आएको र दुई वर्षकी छोरीलाई कुटपिट गरेपछि आफूसंगै माथिल्लो तलामा लगेर सुताएको उनले सुनाईन्।

मनिषाले प्रहरीलाई दिएको बयान अनुसार राति साढे ११ बजेको समयमा तुलबहादुरकी श्रीमती कुमारी कामी हातैभरी रगतसहितको खुकुरी बोकेर आएकी थिईन्। बहिनीले के भो भनि सोध्दा तेरो भिनाजुलाई मारिदिएँ भनेर जवाफ दिईन्। किन मारेको भनि सोध्दा तैले बिहे गरेकी छैनस् यो कुरा तैले अहिले थाहा पाउँदैनस् भनेर जवाफ दिईन्। मनिषाले प्रहरी सामु यति कुरा खोलेपछि प्रहरीले अनुसन्धान कुमारी कामीतर्फ केन्द्रित गर्‍यो। उनले सबुद लुकाउन हर मग्दुर प्रयास गरेकी थिईन्। रगतका छिटाहरु परेका भित्ता पुरै लिपपोत गरिएको थियो। सामान्य आँखाले देख्न सकिने सबै प्रमाण नष्ट गरिएको थियो। कुमारीलाई प्रहरीले पहिले नै इलाका प्रहरी कार्यालय बुर्तिबाङमा लिएर राखेको थियो। बहिनीले सबै कुरा ओकलेपछि प्रहरीले प्रमाण जुटायो। हत्यामा प्रयोग भएको घन, खुकुरी बरामद ग¥यो। श्रीमानको मृत्युपछि पनि शोक न सुर्ता कुनै पिरलोमा नदेखिएकी कुमारीलाई केरकार गर्न थाल्यो।

कुमारीले हत्याको जे कारण बताईन्। प्रहरी पनि एक पटक झस्कियो। कुमारीले प्रहरीलाई दिएको बयान अनुसार राति सहबास गर्ने क्रममा तुलबहादुर अरु नै परस्त्रीको नाम लिई बर्बराएपछि आफूले श्रीमानको हत्या गरेको बताएकी छिन्। तुलबहादुर र कुमारीको २०७३ सालमा विवाह भएको थियो। उनीहरुको दुई वर्षको छोरी पनि छिन्। कुमारीले प्रहरीलाई बयान दिए अनुसार विवाह भएदेखि नै तुलबहादुरले श्रीमतीलाई श्रीमतीको रुपमा दिनुपर्ने माया दिँदैनथे। कहिले भारत गएर बस्ने कहिले काठमाडौं गएर बस्ने गर्थे। त्यति मात्रै होईन संगै हुँदा पनि तँ जता सुकै जा म त फलानोलाई ल्याउँछु भन्दै विभिन्न युवतीहरुको नाम लिएर तनाव दिईरहने गर्थे। शारीरिक र मानिसक यातना दिन्थै। तेरो न दाजुभाई छन् न तेरो माइतीको धनसम्पत्ती छ। फलानी कति राम्री छे, तेरो अनुहार पनि गतिलो छैन भनेर यातना दिईरहन्थे।

२५ गते राति पनि श्रीमान श्रीमतीबीच सहवास हुँदै गर्दा उनले अरु नै महिलाको नाम लिएर बर्बराएको कुमारीले बयान दिएकी छिन्। त्यतिमात्रै होईन सहवास सकिएपछि सुत्नेबेला पनि भोली ढोरपाटन जाने हो, फलाना फलानासँग जाने हो, त जतासुकै जा मत त्यही केटीसँग बस्छु भनेर बारम्बार टर्चर दिएपछि आफूले पहिले घनले पछिबाट घाँटीमा हानेर हत्या गरेको उनले बताएको प्रहरीले जानकारी दिएको छ। उनको रिस लामो समयदेखि आवेग विस्फोट हुँदा उनको रिस त्यतिमै मात्र थामिएन। दाउराको चिर्पटले पाँच सात पटकसम्म श्रीमानलाई प्रहार गरिन्। अनि खुकुरीले आधा घाँटी रेटेर मृत्यु भएपछि मात्रै छोडिन्। श्रीमानको हत्या गरेपछि डोकोमा बोकेर नजिकै रहेको निसीखोलामा लगेर तुलबहादुरको शवबाट टाउको छिनाएर टाउको र जिउ खोलामा फ्याँकेको उनले बयानमा भनेकी छिन्।  

अहिले प्रहरीले मृतक तुलबहादुरकी श्रीमती २२ वर्षीया कुमारी कामी र साली १८ वर्षीया मनिषा विकलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। कुमारीले हत्या आरोप स्वीकार गरे पनि प्रमाण मेटाउन र लास ठेगान लगाउन मनिषाको सहयोग थियो थिएन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। ‘अनुसन्धान सुरु गरेको ५६ घण्टामा हत्यारा पत्ता लगायौं,’ जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवाली भन्छन्,‘अन्य विभिन्न पाटाहरुमा अनुसन्धान बाँकी छ।’

प्रकाशित: ५ भाद्र २०७९ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App