७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

‘कुन दिन हामीलाई पनि मार्ने हुन्’

निरुको बलात्कारपछि भएको हत्याको विरोधमा नागरिक समाजले आयोजना गरेको विरोध कार्यक्रम। तस्बिर : नागरिक

कालिकोटको खाडाचक्र नगरपालिका–६ दाहाकी १६ वर्षीया निरु विश्वकर्माको बलात्कारपछि हत्या भएको एक वर्ष पुग्यो।

दलित किशोरीको बलात्कारपछि भएको हत्याको घटनालाई प्रहरीले गम्भीर रूपमा नलिँदा पीडित परिवार भने असुरक्षा महसुस गरिरहेको छ। २०७८ भदौ ४ गते गाउँमा (पैठ) मेला लागेको थियो। आमा लालकैराले बेलुकातिर घरमा छोरी नदेखेपछि मेला हेर्न गएको अनुमान लगाइन्। भोलिपल्ट बिहान पनि छोरी घरमा नदेखेपछि उनले छिमेकीलाई खबर गरिन्।  

हराएकी छोरीको तीन दिनपछि भदौ ७ गते घर नजिकैको मकैबारीमा शव भेटियो। ‘शरीरको आधा भागमा मात्रै कपडा थियो, दुईवटा सल र मोबाइल सेटसँगै थियो,’ आमा लालकैराले भनिन्, ‘घटनास्थलमा आएका पुलिसले बलात्कारपछि हत्या भएको हो भनेका थिए, अहिलेसम्म छोरोको बलात्कारी र हत्यारा प्रहरीले सार्वजनिक गर्न सकेको छैन् ।’

छोरीको बलात्कार र हत्यामा संलग्नहरू पक्राउ नपर्दा घरमा बस्न असुरक्षा भइरहेको उनले बताइन्। ‘छोरीलाई मार्नेहरूले कति बेला हामीलाई पनि मार्ने हुन् पत्तो छैन,’ उनले भनिन्, ‘न्याय नपाउँदाको पीडा त छँदैछ, त्यसमाथि हामीलाई पनि कतिबेला आएर छोरीका हत्याराहरूले मर्ने हुन् भन्ने डर लागिरहन्छ ।’

लालकैराले छोरीमाथि भएको बलात्कार र हत्याको अनुसन्धान गरिदिन जिल्ला प्रहरी कार्यालय कालिकोटमा निवेदन दिइन्। छोरीको हत्या भएको एक वर्ष पूरा हुँदा पनि अनुसन्धानले गति लिएको छैन ।

‘हाम्रो आवाज सुनिदिने र पहल गरिदिने कोही नभएकाले हो वा हत्याराहरू ठूला मान्छे भएर हो प्रहरीले पनि खासै अनुसन्धान गरिदिएन्,’ उनले भनिन्, ‘त्यहीँ भएर अहिले त प्रहरीको पनि भरोसा लाग्न छाडिसकेको छ ।’ घरमा बस्दा लालकैरालाई छोरीको झल्कोले सताउँछ। सरस्वती मावि हुपीडाँडामा कक्षा ९ मा पढ्दै गरेकी निरुको हत्यापछि लालकैरा अधिकांश समय घरबाहिरै हुन्छिन्। ‘घरमा छोरीको झल्कोले सताउँछ, घरमा बस्न पनि डर लाग्छ,’ उनले भनिन्, ‘ठुलो उमेरकी छोरीलाई कसरी भुल्न सक्नु ?’

दिदी दुधकला विक बहिनीको बलात्कार र हत्यामा गाउँकै मानिसहरूको संलग्नता भएको आशंका गर्छिन्। ‘कोही टाढाबाट आएर बहिनीमाथि ज्यादती गरेर मारेको जस्तो लाग्दैन्, गाउँकै कसैको यो घटनामा संलग्नताको आशंका हामीले गरेका छौं,’ दुधकलाले भनिन्, ‘हामीले प्रहरीलाई पनि यहीँ कुरा भनेका हौं, प्रहरीले कुनै चासो लिएन ।’

हत्या भएको स्थलबाट प्रहरीले मोवाइल सेट र दुई वटा पछ्यौंरा भेटाएको थियो। मोबाइलको कल डिटेलबाट पनि धेरै कुराहरू खुल्न सक्थ्यो। निरुको हत्या भएपछि अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोली पनि खटाइएको थियो। तर, प्रहरीले एक वर्षको अवधिमा के–के अनुसन्धान गर्‍यो भन्ने पनि खुलाएको छैन ।

निरुको परिवार छोरीमाथि भएको जघन्य अपराध र हत्याको अनुसन्धानमा प्रहरीले गम्भीर चासो नदिएको बताउँछ। ‘प्रहरीले उतिबेलै प्रभावकारी अनुसन्धान गरेको भए अहिलेसम्म सत्यतथ्य बाहिर आइसक्थ्यो, दोषीले सजाय पाउँथ्यो, हामी पनि ढुक्क हुन्थ्यौं,’ अंकल वशन्त विकले भने, ‘प्रहरीले अनुसन्धान नै फितलो गरेका कारण बलात्कार र हत्याको घटना रहस्यमै रह्यो ।’

निरु हत्या घटनाको अनुसन्धनका लागि एक वर्षपछि जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमाल घटनास्थल पुगेका छन्। शनिबार दाहा पुगेका उनले पीडित परिवार र स्थानीयसँग छलफल गरे। ‘यसअघि के कति अनुसन्धान भयो त्यसको बारेमा पनि बुझ्छु,’ पीडित परिवारसँगको भेटमा उनले भने, ‘नागरिकलाई सुरक्षा दिने दायित्व राज्यको हो, तपाईंहरू ढुक्क हुनुहोस्, घटनाको अनुसन्धान गरेर चाँडै नतिजा बाहिर ल्याउँछौं ।’

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले आफ्नो कार्यकालभित्र निरु हत्याकाण्डको टुंगो लगाउने बताए। ‘निरुको बलात्कार र हत्याको बारेमा भर्खरै थाहा पाएँ,’ उनले भने, ‘जिल्लासँगै प्रदेशबाट छुट्टै अनुसन्धान टोली गठन गरेर टुंगो लगाउँछ ।’ प्रदेश प्रहरी प्रमुख पोखरेलले केही दिनभित्र आफैं घटना भएको स्थलमा पुग्ने पनि बताए। 

‘किशोरीको बलात्कारपछि हत्या भएको एक वर्षसम्म अनुसन्धानले पूर्णता नपाउँदा परिवारले भोग्नुपर्ने पीडाका बारेमा मैले महसुस गरेको छु,’ उनले भने, ‘चाँडै यो घटनाको अनुसन्धान सकाएर सार्वजनिक गर्छौं ।’

प्रकाशित: ५ भाद्र २०७९ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App