१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महानगरले सरसफाई विशेष अभियान थाल्यो

विराटनगरमा शनिबार निकालिने राधाकृष्णको रथ यात्रालाई ध्यानमा राखेर सरसफाई गर्दै विराटनगर महानगरपालिका मेयर नागेश कोइरालालगायत।

विराटनगर महानगरपालिकाले हरेक शुक्रबार सरसफाइ विशेष अभियान सुरू गर्ने निर्णय गरेको छ।

शनिबार बसेको महानगरपालिकाको बैठकले विराटनगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाई  विशेष अभियान सञ्चालन गरिने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए।

‘हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाई अभियान सञ्चालन गर्ने निर्णय  गरिएको छ’ मेयर कोइरालाले भने। महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्ध रुपमा लागिरहेको उनको भनाइ थियो। मन्दिर, मज्जिद र सार्वजनिक स्थलमा भिख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिइएको उनले बताए।

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विकास निर्माणसँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको बताइन्। महानगरले सुरु गर्ने सरसफाई विशेष अभियानमा महानगरवासीलाई समेत सहभागी हुन कार्कीले आग्रह गरिन्। प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका अनुसार विशेष समारोह गरेर आगामी हप्तादेखि नै महानगर सफाई अभियान सञ्चालन गरिनेछ।

यसैबीच, रथयात्रालाई ध्यानमा राखेर शनिबार मेनरोडको सफाई गरिएको छ। महानगरका मेयर कोइरालाको नेतृत्वमा तीनपैनीदेखि सफाई गरिएको थियो। सरसफाईमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, वडानम्बर १ का वडाध्यक्ष काजी बस्नेत, २ नम्बर वडाका अध्यक्ष कुमार पोखरेललगायतको सहभागिता रहेको थियो।

प्रकाशित: ४ भाद्र २०७९ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App