१६ चैत्र २०८० शुक्रबार
समाज

मधेस प्रदेश: सेटिङमा मौलाउँदै तस्कर

फाइल तस्बिर

अघिल्लो बुधबार राति साढे ८ बजे माडर भन्सार नाका क्षेत्रबाट भन्सार छलेर ल्याइएको कपडाका बोराले भरिएको बिआर ०१ बिएन ४७ नम्बरको कारले सिरहा–चोहर्वा सडकखण्डमा एक साइकलयात्रीलाई ठक्कर दियो। साइकलमा सवार सिरहा नगरपालिका–२२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छोडेर चालक फरार भए। दुर्घटनास्थल पुगेर अनुसन्धान गर्दा विष्णुपुर प्रहरी चौकीले कारभित्र तीनवटा बोरामा कपडा बरामद गर्‍यो। बरामद कपडासहित कारलाई जिल्ला प्रहरी कार्यालय सिरहामार्फत बिहीबार जिल्ला भन्सार कार्यालय माडरमा बुझाइएको थियो।

तस्करीका सामानसहित माडर नाका क्षेत्रबाट भित्रिएको उक्त कारको प्रवेश लागत त्यहाँको भन्सारमा छैन। गत आइतबारदेखि बुधबारसम्म सो कार माडर नाकाबाट प्रवेश गरेको आधिकारिक रेकर्ड नभएको भन्सार कार्यालयले जनाएको छ। कारको ग्राउन्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाकाबाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेको बोर्डर आउटपोस्ट माडरले जनाएको छ। प्रहरी स्रोतका अनुसार सो कार विष्णुपुर गाउँपालिकाका एक व्यक्तिले पारिबाट तस्करीका सामान ढुवानीमा प्रयोग गर्दै आएका थिए। दुर्घटनामा नपरेको भए सो कार र तस्करीका सामान बरामद हुँदैनथे। प्रहरीले बरामद गरेको कपडा ७६ हजार ६ सय र कार १५ लाख रुपैयाँसहितको मूल्यांकन गरेर भन्सारलाई बुझाएको छ। बाहिर र भित्रबाट कवाडजस्तै देखिने उक्त कार र कपडा दुवैको मूल्य अत्यधिक राखेर प्रहरीले बुझाएको भन्सारका एक कर्मचारीले बताए।

अत्यधिक मूल्यांकन गरेर सामान भन्सारमा बुझाएको प्रहरीले तस्कर र गाडीधनीको खोजीतर्फ भने गम्भीरता देखाएको छैन। सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले थोरै सामान बरामद भएकाले धेरै खोतल्नु आवश्यक नरहेको बताए। सिरहाका प्रहरी प्रवक्तासमेत रहेका डिएसपी सुभाष बुढाथोकीले भन्सार छलीका सामानसहित बरामद भारतीय कार कहाँबाट भित्रियो भन्ने जानकार िनभएको नभएको बताए । ‘बरामद सामान भन्सारलाई बुझाइसक्यौं,’ उनले भने।

असार २९ गते दिउँसो नेपालबाट मदिराले भरिएको बोरा लोड गरी भारतको जयनगरतर्फ आइरहेको अवस्थामा प्रहरीको गाडी देखेपछि मोटरसाइकल कमला पुलनजिक छाडेर चालकहरू भागे। जयनगर अनुमण्डल पुलिस पदाधिकारी विप्लवकुमार नेतृत्वको टोलीले चारवटा मोटरसाइकलमा मदिराका बोतल लोड गरिएका १२ बोरासँगै मोटरसाइकल नियन्त्रणमा लियो। प्रहरी अनुसन्धानबाट उक्त मदिरा नेपालबाट धनुषा र सिरहाका सीमा नाका हुँदै जयनगरसम्म पुगेको खुलेको छ।

साउन १० गते महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित दसगजामा भारत तस्करीका लागि भण्डारण गरेर राखिएको विभिन्न ब्रान्डको मदिरा बरामद गरियो। प्रहरीले उक्त मदिराको १८ लाख ५० हजार २३० रुपैयाँ मूल्य कायम गरी आन्तरिक राजस्व कार्यालय धनुषामा बुझायो। असार २८ गते बिहान धनुषाको नगराइन नगरपालिका–४ स्थित जनकपुर–तुलसियाही सडक हुँदै भारततर्फ जान लागेको ज१च १२६८ नम्बरकोे पिकअप गाडी मदिराका कार्टुनले भरिएको थियो। गस्तीमा रहेको प्रहरीले गाडी रोकी जाँच गर्दा दिलवाले नामक रक्सीको ३ सय कार्टुन बरामद गरियो। गाडी चालक धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का २३ वर्षीय नुरे आलम शेषसँग भएको अनुष्का ट्रेडसको बिलमा अर्कै गाडीको नम्बर उल्लेख थियो (ना२च ३३१९)। प्रहरीले चालक आलमसँग सोधपुछ गर्दा गाडीमा लोड गरिएको मदिरा भारत लान लागेको खुलेको धनुषा प्रहरीले बताए। त्यसपछि प्रहरीले आलमसहित गाडी र मदिरा नियन्त्रणमा लिएको थियो।

जयनगर पुलिस अधिकारीका अनुसार नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने थुप्रै मानिस र सवारीसाधन नियन्त्रणमा छन्। धेरैजना अझै थुनामै छन्। तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिने त परको कुरा, झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले मदिरा निषेध गरेको छ। जसका कारण नेपालबाट सीमावर्ती भारतीय गाउँसहरमा मदिरा तस्करी हुँदै आएको छ। भारतसँग सीमा जोडिएका महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, सप्तरी र सिरहाका विभिन्न नाकाबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो संगठित रूपमा फैलिँदै गएको छ।

सिरहा, सप्तरी, धनुषा र महोत्तरीका सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो। मदिरा तस्करी टाउकोमा बोकेर पैदलै र मोटरसाइकलको प्रयोग गरेर भइरहेको पाइएको छ। मदिरा तस्करलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय पुलिससँग त्रास हुन्छ। त्यसैले मदिरा तस्करहरू वारि बसेर पारिका एसएसबी र पुलिस नियाल्छन् र मौका मिल्नासाथ सीमा कटाइहाल्छन्। कतिपय नाका क्षेत्रमा मदिरा तस्करले एसएसबीसँग मिलेमतो गर्ने गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन्। सीमा नाका क्षेत्रका बालकदेखि युवकसम्मले भरिया बनेर मदिरा सीमापारि पुर्‍याउँदै आएको त्यस क्षेत्रका स्थानीय बताउँछन्।

सीमा क्षेत्रबाट मदिरा तस्करी मौलाएको छ। तस्करीबारे मुख खोल्नेलाई ज्यानकै जोखिम छ। त्यसो गर्नेलाई पहिला पैसाले चुप लगाउन खोजिन्छ, नमाने धम्क्याएर चुप लागाइन्छ। मदिरा तस्करीका लागि सप्तरीका हनुमाननगर, कंकालिनी, कुनौली, छिन्नमस्ता बरसाइन नाका उर्वर बनेका छन्। हुनमाननगरबाट कोसी नदी हुँदै डुंगामा मदिराका बोरा लोड गरेर भारततर्फ पुर्‍याउन तस्करहरूको संगठित सञ्जाल नै परिचालित छ। मदिरा तस्करसँग तालमेल नमिल्दा प्रहरी र सशस्त्र प्रहरीले बेलाबेला बेवारिसे भनिएको मदिराका केही बोरा बरामद गरे पनि तस्करको संगठित सञ्जालसम्म पुग्न सकेको छैन।

भारतबाट लत्ताकपडालगायत सामान तस्करीका लागि पनि मधेस प्रदेशका सीमा नाका सुरक्षित मानिन्छ। भन्सार अधिकारीसँगको सेटिङमा भारतबाट भन्सार छलीका सामान बोकेको ट्रक नै भित्र्याउने नाकाका रूपमा वीरगन्ज पनि रहेको छ। असार २१ गते वीरगन्ज महानगरपालिका–६ लोहारपट्टी सडकखण्डबाट प्रहरीले ना६ख २३४४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर जाँच गर्दा बिलबिजकबिनाका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान फेला पर्‍यो। सामानसहित उक्त ट्रकलाई ६८ लाख ३१ हजार ४ सय १९ रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो।

पछिल्लो समय पर्सामा तस्करी फस्टाउँदो छ। पर्साको अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढ्दो छ। असार २९ गते भारतीय सहर रक्सौलको भेलाही सिमानाको कुकुहियाँ गाउँ हुँदै ल्याइरहेको तस्करीका सामान रोक्न खोज्दा एसएसबीसँग तस्करको झडप नै भयो। तस्कर समूहले एउटा पिकअप गाडी, पाँचवटा ठेला र चारवटा साइकलमा कपडा लोड गरी भेलाही नाका हुँदै तस्करीका सामान वारि ल्याउने क्रममा एसएसबीका जवानले नेपाल–भारत सीमावरै रोकेका थिए। तीन जना तस्कर, २८ पोका कपडा, ठेला र बिआर०६जी ९७१९ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएपछि तस्करहरूले एसएसबीमाथि आक्रमण गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन एसएसबीले हवाई फाइरिङसमेत गर्नुपरेको थियो । झडपमा एसएसबीका तीन जवान घाइते पनि भएका थिए।

रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठुलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्सलगायत सामान भित्रिने गरेको प्रमाण हो यो। वारिका सुरक्षा अधिकारीसँग सेटिङ मिलाएर हुने तस्करीलाई एसएसबीले रोक्न खोज्दा तस्कर जाइलाग्छन्। विभिन्न सीमा नाकाबाट भित्रिने भन्सार राजस्व छलीका कपडालगायत सामान वीरगन्जको गोदाममा भण्डारण गरी कारोबारीले देशका विभिन्न सहरमा पुर्‍याउने गरेका छन्।

घुमुवामार्फत असुली

मधेस प्रदेशका जिल्लाहरूमा कार्यरत रहँदा प्रहरी आचरणविपरीत कार्य गरेको आरोपमा थन्क्याइएका प्रहरीलाई घुमुवा र इन्चार्जको जिम्मेवारी दिइएको छ। सिरहामा जिल्ला प्रहरी कार्यालका घुमुवाका रूपमा वर्षौंदेखि उही अनुहार परिचालित छन्। उनीहरू अरू थोकभन्दा पनि तस्करसँग सेटिङ मिलाउने र तस्करका सामान गोदामसम्म पुर्‍याउने अनुकूल वातावरण मिलाइदिने कार्यमा खटिने गरेको स्थानीयको गुनासो छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखले आर्थिक संकलन गराउन कारबाही खाएका प्रहरीहरूलाई घुमुवा र नाकाको जिम्मा लगाएको गुनासो गरिएको छ।

नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले घुमुवाका रूपमा परिचालन भई तस्करसँग रकम असुली गरेको आरोपमा कारबाही गरी बाराबाट धनुषाको प्रहरी गणमा खटाएका प्रहरी हवल्दार सञ्जय जैसवाललाई अहिले बारा र पर्सा जिल्लामा सादा पोसाकका प्रहरी ‘घुमुवा’का रूपमा खटाइएको छ। अहिले उनीमाथि बारा र पार्सामा तस्करीको रकम असुल्ने कार्यमा खटिएको आरोप छ। २०७८ चैत ११ गते बाराबाट कारबाही गरेर जैसवाललाई दंगा प्रहरी गण ढल्केबर पठाइएको थियो। डिआइजी मसउद आलम खाँले मधेस प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी समालेपछि जैसवाललाई पुनः घुमुवाका रूपमा परिचालन गरेको बताइएको छ।

पर्सा जिल्लामा घुमुवा हुँदा तस्करसँग रकम असुली गरेको आरोपमा कारबाही गरी सिरहा पठाइएका प्रहरी सहायक निरीक्षक श्याम साह सोनार अहिले पुनः पर्सा पठाइएका छन्। हालको दरबन्दी सप्तरी भए पनि सोनारलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत देखाएर पर्सामा खटाइएको छ। उनी वीरजन्ज क्षेत्रमा तस्कर र उद्योगीहरूबाट रकम असुल्ने कार्यमा संलग्न रहेको वीरगन्जका व्यवसायीहरूको गुनासो छ।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले पहिला कारबाही गरेर तानिएका सादा पोसाकका प्रहरीलाई पुनः सोही जिम्मेवारी र ठाउँमा घुमुवाका रूपमा खटाउन नहुने बताउँछन्। कारबाही खेपेका र बदनाम छवि भएका प्रहरीहरूलाई नाका र सादा पोसाकमा खटाइएको पाइए प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने प्रवक्ता राईले बताए।

प्रकाशित: २६ श्रावण २०७९ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App