१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सर्पकाे टाेकाइबाट कम्युनिष्ट नेता कडायतको निधन

टीकापुरका पुराना कम्युनिष्ट नेता कालुसिंह कडायतको सर्पले टोकेर निधन भएको छ। घरमै सुतेको अवस्थामा उनलाई सर्पले टोकेको हुनसक्ने आफन्तले बताएका छन्। उनले आफूलाई सर्पले टोकेको थाहा पाएनन्।

आज बिहान एकाएक अस्वस्थ भएपछि उनलाई आफन्तले उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएका थिए। उनलाई चिकित्सकले थप उपचारका लागि रिफर गरेको थियो। उनलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बर्दियाको राजापुरमा निधन भएको चेतबहादुर बोहराले जानकारी दिए।

अछामको मेल्लेख गाउँपालिका गवालीमा वि.सं. २०१२ सालमा जन्मेका कडायत लामो समय कम्युनिष्ट आन्दोलनमा रहे। उनी इमान्दार कम्युनिष्ट कार्यकर्ताका रुपमा चिनिन्छन्। उनी २०५४ सालको स्थानीय निर्वाचनमा टीकापुर नगरपालिकाको वडा नं. १ मा वडा सदस्यका रुपमा विजयी भएका थिए।

वडाध्यक्ष सूर्यचन्द्र भट्टराईले राजीनामा दिएपछि कडायतले कार्यकाल भरी कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए। उनले केही वर्ष शिक्षण पेशा अँगालेका थिए। उनी शिक्षण पेशा त्यागेर कम्युनिष्ट आन्दोलनमा सरिक भएका थिए। नेकपा एमालेमा आवद्ध कडायत कुशल संगठकका रुपमा चिनिन्थे।

उनले टीकापुरमा एमालेको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यकर्ताहरु सम्झिन्छन्। उनी हाल टीकापुर नगर कमिटीको सल्लाहकार, जेष्ठ नागरिक मञ्चको सदस्य, शिक्षक संगठनको आजीवन सदस्य रहेका थिए। उनी यसअघि एमाले जिल्ला कमिटी कैलालीको सदस्य समेत भैसकेका थिए।

प्रकाशित: २४ श्रावण २०७९ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App