२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खेवाङका पहिरो पीडितलाई १२ लाख रुपैयाँ बढी राहत रकम हस्तान्तरण

ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ७ खेवाङका पहिरो पीडित तथा प्रभावितलाई १२ लाख रुपैयाँ बढी रकम हस्तान्तरण गरिएको छ। काठमाडाैँ–खेवाङ हातेमालो समाजमार्फत् भएको समन्वय र आह्वानमा संकलित १२ लाख ११ हजार ४ सय ८६ रुपैयाँ पीडित तथा प्रभावित ४९ परिवारलाई वर्गीकरण गरेर हस्तान्तरण गरिएको खेवाङका वडाध्यक्ष बुद्धिप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार पीडितलाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’, र ‘घ१’ गरी पाँच वर्गमा वर्गीकरण गरिएको थियो। ‘क’ वर्गको एक परिवारलाई ५१ हजार ४ सय ८६ रुपैयाँ प्रदान गरिएको छ। ‘ख’ वर्गका १३ परिवारलाई जनही ४५ हजार रुपैयाँका दरले ५ लाख ८५ हजार रुपैयाँ तथा ‘ग’ वर्गका १९ परिवारलाई जनही २० हजार रुपैयाँका दरले ३ लाख ८० हजार रुपैयाँ वितरण गरिएको छ। यस्तै ‘घ’ वर्गका १८ परिवारलाई जनही १० हजार रुपैयाँका दरले र ‘घ१’ वर्गको एक परिवारलाई १५ हजार रुपैयाँ प्रदान गरिएको वडाध्यक्ष दाहालले जानकारी दिए।

काठमाडाैँ-खेवाङ हातेमालो समाजका सहजकर्ता राजन तिवारी (लेनिन), वडाध्यक्ष दाहाल, काठमाडाैँ-खेवाङ हातेमालो समाज ताप्लेजुङका संयोजक नेत्र अधिकारी, खेवाङका वडा सचिव तारादेवी दाहाल, प्रहरी चौकी खेवाङका प्रहरी सहायक निरीक्षक राजकुमार निरौलाको उपस्थितिमा राहत रकम वितरण गरिएको हो।

काठमाडाैँ–खेवाङ हातेमालो समाजको समन्वयमा अमेरिकामा रहेका अर्जुन दाहाल, नारायण अधिकारी, बिरु गुरुङ र केशव दाहालको संयोजनमा ६ लाख २ हजार २ सय ५९ रुपैयाँ संकलन भएको थियो।

यस्तै बेलायतमा रहेका शेरबहादुर लिम्बू र श्रीप्रसाद लिम्बू (पिपले परिवार) को संयोजनमा २ लाख ४ हजार ४ सय ४९ रुपैयाँ, मलेसियामा रहेका मनि लिम्बू र बुद्धिमान ताम्लिङ (उज्वल) को संयोजनमा २६ हजार ६ सय ६५ रुपैयाँ, जम्मुकास्मिर क्षेत्रमा भारतीय सेनामा कार्यरत रवीन ताम्लिङको संयोजनमा १५ हजार र हातेमालो समाजको संयोजनमा स्वदेश तथा विदेशका विभिन्न दाताबाट ३ लाख ६३ हजार १ सय २३ रुपैयाँ गरी उक्त रकम संकलन भएको थियो।

गत असार पहिलो साता आएको बाढी र पहिरोले सिरिजङ्गासहित विभिन्न गाउँपालिकामा क्षति भएको थियो। खेवाङमा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते र दर्जनौं परिवार विस्थापित,पीडित तथा प्रभावित भएका छन्।

प्रकाशित: २४ श्रावण २०७९ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App