७ वैशाख २०८१ शुक्रबार
समाज

सम्पत्ति नास हुने चिन्ताले जोखिमका बीच बेलकावासी घरमै

सप्तकोशी नदीले धार परिवर्तन गरी उदयपुर बेलकाका पाँचवटा वडाका मानव बस्तीमा प्रवेश गरेपछि सुरक्षित स्थानमा बस्न स्थानीय सरकारले गरेको आग्रहलाई जोखिमा परेका बासीन्दाले अटेर गर्दै आएका छन्। उनीहरु आफ्नो सम्पूर्ण जायजेथा जोगाउँनकै लागि भएपनि घर छाडेर नहिड्ने बताउने गरेका छन्।

केही नगन्य त्यसमा पनि बालबालिका र जेष्ठ नागरिकबाहेक अरु सबै जना घरमै जोखिमका बसेका छन्। उनीहरुले बरु घरमा भएका खाद्यन्न सामग्रीहरु भने सुरक्षित स्थानमा राखेका छन्। तर आफूहरु भने जोखिमकै बीच घरमै बसेका छन्। ‘घर छाडेर हिड्यो भने त घरको तख्ता खोज्न पनि कोशी ब्यारेजतिर पुग्नुपर्छ,’ बेलका वडा नं. ३ का नन्दकिशोर मेहत्ताले भने, ‘हामीले घर छाडेपछि सम्पत्ति केही पनि रहदैन्।’

उनका अनुसार यदि गाउँले घर छाडेर हिड्दा चोरी गर्ने समूहले घरमा भएका काठपातदेखि अरु चौपाय लुटेर लानेछन्। धान सुरक्षित स्थानमा लाने तयारी गरिरहेका बेलका वडा नं. ३ कै छत्रबहादुर तामाङले सुरक्षाकर्मीको टोली २४ सै घण्टा हाई अलर्टमा बसेकाले गर्दा मानिसको उद्दार सहजै हुने जिकिर गर्छन्।

‘सप्तकोशी वस्तीमा प्रवेश गर्दा थप बढेमा अवश्य पनि वस्ती छाडेर हिड्ने छौ,’ उनले भने, ‘अहिले तत्काल चाही गाउँलेले भएका सामानहरु भने सुरक्षित स्थानमा राखि सकेका छौँ।’ कतिपयको भने सप्तकोशीको मुख्य भङ्गालो नभएकाले कुनै डर मान्नुपर्ने अवस्था नभएको जिकिर छ। ‘सप्तकोशीले धार परिवर्तन मात्र गरेको हो, अहिले नै वस्ती नै छाडेर हिडि हाल्नुपर्ने अवस्था छैन,’ अर्का स्थानीय कान्छाकाजी थापाले भने । तर, उनले भनेजस्तो सहज भने छैन।

बुधबार बिहान ४ बजे सप्तकोसी नदीले पश्चिमतर्फ धार परिवर्तन गरि मानववस्तीमा प्रवेश गर्दा उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाका २० हजारभन्दा बढी विस्थापित भएका थिए। ती वस्तीमा शुरुवातको दिनको तुलनामा अरु पानी बढ्दो छ। ‘सुरुको दिन त केही हुँदैन जस्तो लागेको थियो, आज (शनिबार) देखि भने डर लाग्न थाल्यो,’ बेलका वडा नं. ३ कै रत्नकुमारी वानियाँले भनिन्, ‘अब चाही साँचिकै डर लागेकाले सुरक्षित स्थानमा जानुपर्छ होला।’

४० वर्षपछि सप्तकोशी पुरानै धारमा फर्किएर बेलका नगरपालिकाका वडा नं. १, २, ३, ८ र ९ वडामा प्रवेश गर्दा  पुरैबस्ती जोखिममा छ। ‘सम्पतिकै मायाले गर्दा सुरक्षित स्थानमा जान गाह्रो भइरहेको छ,’ बेलका वडा नं. ३ का अर्का उमेश माझीले भने। सप्तकोशी नदी बेलका नगरपालिका वडा नं. ८ डुम्रीबोटे नजिकैबाट कटान गरेर वस्तीतर्फ प्रवेश गरेको थियो।

बस्ती जोखिममा परेका स्थानीयलाई बेलका नगरपालिकाले सुरक्षित स्थानमा बस्न पटक–पटक आग्रह गर्दै आएको छ। शनिबार मेयर अशोक कार्की नेतृत्व टोली सप्तकोशी प्रवेश गरेका बस्तीमै गएर सुरक्षित स्थानमा गएर बस्न आग्रह गर्दा गर्‍यो। यतिसम्म मेयर कार्कीले भने, ‘तपाईंहरुले जे जे भन्नुहुन्छ, नगरपालिकाले सम्पूर्ण जिम्मा लिन्छ, तर सुरक्षित स्थानमा बस्न हिडनुहोस्।’

उनले नगरपालिकाको आग्रह अटेर गर्नेले आफ्नै रिक्समा मात्र बस्तीमा वस्नुपर्ने पनि बताए। अहिले कोशीले बाँध भत्काएर मानववस्ती प्रवेश गरेको स्थानमा २०४५ सालअघि कोशी बग्ने गथ्र्यो। २०४५ सालको भूकम्पपछि कोशीले विस्तारै धार परिवर्तन गरी पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए।

शनिबार साँझ सात बजे कोशी ब्यारेजमा गरिएको मापन अनुसार पानीको वहाव एक लाख ८३ हजार ३०० क्यूसेक प्रतिसेकेन्ड छ। ५६ वटा ढोकामध्ये ३३ वटा खुल्ला राखिएको छ। शुरुवातमा सप्तकोशीले धार परिवर्तन गरेको दिनभन्दा थप खतरा हुँदै गएको छ। तर, स्थानीय भने कोशी टप्पु वन्य जन्तु आरक्षले बेला बेलामा ऐलानी जग्गा सरकारले लिएर आरक्षको क्षेत्र विस्तार गर्ने बताउँदै आएकोले त्यही त्रासले गर्दा सुरक्षित स्थानमा सर्न अटेर गरेको मेयर कार्की बताए।

नगरपालिकाले पीडितलाई सम्पूर्ण खानपानको व्यवस्था मिलाउने र सहज ढंगले वस्न व्यवस्था मिलाउन जनाएर सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आएको छ। विपदका बेला पीडितलाई अन्याय हुने कुनै पनि प्रकारको काम हुन नदिने पनि नगरपालिकाले विश्वास दिलाएको छ।  

प्रकाशित: २१ श्रावण २०७९ १६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App