हेटौंडा–भीमफेदी–कुलेखानी सडक खण्ड अन्तर्गत भीमफेदी–६ जुरिखेतमा भारतीय नम्बर प्लेटको स्कारपियोले सुमोलाई ठक्कर दिँदा नौ जना घाइते भएका छन्। ओभरटेक गर्ने क्रममा दुई सवारी साधन एकापसमा ठोकिएर दुर्घटना भएको हो।
प्रहरीका अनुसार काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको ना ३ च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट आएको BR22AZ 2517 नम्बरको भारतीय स्कारपियोले ओभरटेक गर्न खोज्दा ठक्कर दिएको थियो। ठक्करपछि दुवै सवारी साधन सडकमा पल्टिएका थिए।
दुर्घटनामा सुमोका चालक पर्साका ४८ वर्षीय महाबुव आलम मन्सुरी र हेटौंडाका ४१ वर्षीय यात्रु न्युटन बहादुर क्षेत्री घाइते भएका छन्।
स्कारपियोमा सवार चालक सरुप पटेलसहित भारतको बेतिया बस्ने अन्य सात जना पनि घाइते भएका छन्। घाइतेमध्ये १५ वर्षीया नन्दनी कुमारी सराफको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। सुमोमा सवार अन्य दुई यात्रु भने सकुशल रहेकाले आफ्नो गन्तव्य तर्फ लागेका छन्।
घटनाको जानकारी पाएलगत्तै इ.प्र.का. भीमफेदीबाट प्र.ना.नि. बिकु नारायण कासिछुवा र सशस्त्र प्रहरी बल कारागार सुरक्षा बेसबाट स.प्र.नि. सुरेश चौधरीको कमाण्डमा टोली खटिएको थियो।
हाल सडकमा कुनै अवरोध नरहेको र दुवै सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ५ वैशाख २०८३ २१:०३ शनिबार





