११ माघ २०८२ आइतबार
image/svg+xml
समाज

सीमास्तम्भ गायब पार्दै वर सार्दै

कञ्चनपुरको पुनर्वास–९, बीचफाँटामा रहेको पिलर नम्बर १९५ ढलाएको वर्षौं भयो। ढलेको सीमा स्तम्भ भएको ठाउँमा अचेल नेपालीहरू जानै पाउँदैनन्। पिल्लर नम्बर १९६ भने वर्षौदेखि भारतीय पक्षले गायबै पारेका छन्। साविकको पिलर नम्बर १९६ देखि वरै अर्थात् नेपालतर्फ करिब ५ किलोमिटर उत्तर–पश्चिममा उनीहरूले नक्कली पिलर खडा गरे। जुन पुनर्वास नगरपालिका–८, कक्कड गाउँका अर्जुन केसीको खेतमा गाडिएको  वर्षौं भइसक्यो। भारतीय पक्षले दुधुवा नेशनल पार्कसँग जोडिएको नेपालको भू–भाग रहेको जंगलमा द्वन्द्वकालमा गायब पारेको थियो। पछि २०६० सालको सर्भेमा भने भारतीय पक्षले मनमर्जी रूपमा साविकको सीमादेखि ५ किलोमिटर वरै नेपालतर्फ पिल्लर नम्बर १९६ खडा गरेको हो।  

पुनर्वास नगरपालिका–८, का बन्दु रानाको लालपुर्जा रहेको खेतमा पनि भारतीय पक्षले पिल्लर गाडेका थिए। जुन ठाउँमा अहिले पनि रानाले खेतीपाती गर्न पाएका छैनन्। तर, मालपोत भने तिरिरहन्छन्। वडा नम्बर ९ का पूर्व वडाध्यक्ष नारायणप्रसाद जैसीका अनुसार २ लाख ५० हजार बर्ग मिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब २ सय बिघा जमिन अतिक्रमण गर्न भारतीय पक्षले पिलर नम्बर १९५ ढलाएको र १९६ नम्बर पिल्लर गायब पारेको हो। 

प्यारातालभन्दा पाँच सय मिटर दक्षिणमा रहेको पिलर नम्बर १९६ लाई भारतीय पक्षले गायब पारेर पुनर्वास नगरपालिका–८, कक्कडमा रहेको अर्जुन केसीको जमिनमा नक्कली पिल्लर निर्माण गर्‍यो। त्यही नक्कली पिलरलाई अहिले पनि भारतीय पक्षले आफ्नो भू–भाग रहेको भन्दै दाबी गरिरहेको बस्नेत बताउँछन्।

पिल्लर भत्काएर जैविक विविधताको महत्वपूर्ण प्याराताल भारतले वर्षौंदेखि कब्जा गर्न खोजिरहेको बताउँदै उनले भने,‘प्यारातालको मुहान क्षेत्रमा उम्रिको जलकुम्भी नेपाली पक्षले बलजफ्ती सफा गरे पनि दक्षिण–पूर्वी क्षेत्रमा रहेको जलाधार क्षेत्रमा भने हातै लगाउन पाएका छैनौं।’ मुहानबाट बग्दै गएको पानी ठूलो जलाधार क्षेत्रमा जम्मा हुने गरेको बताउँदै उनले भने, ‘त्यही ठूलो जलाधार क्षेत्रमा उम्रिएको जलकुम्भी सफा गर्न त के नेपाली पक्षलाई भारतीय पक्षले त्यहाँ जानै दिँदैन।’ प्यारातालभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फ सीमास्तम्भ नम्बर १९५ र १९६ (साविकको) रहेको बताउँदै उनले भने, ‘सीमादेखि वरै नेपालतर्फ रहेको प्याराताल भारतले आफूहरूको हो भनेर कुन आधारमा दाबी गरिरहेको छ, हामी रनभुल्लमा छौं।’ साविकको पिल्लर नम्बर १९५ र १९६ गायब पार्नेबित्तिकै पिलर नम्बर १९४ बाट पिलर नम्बर १९७ मा नक्सा कोर्दा प्याराताललगायत करिब २ सय बिघा नेपाली भूमि भारतीय पक्षले कब्जा गर्न सजिलो भएकाले ती पिलर गायब पारिएको हुनसक्ने स्थानीय पत्रकार दिपेन्द्र बस्नेत बताउँछन्।

‘त्यस क्षेत्रमा पानीको एक मात्र स्रोत भएको र जैविक विविधता रहेको ऐतिहासिक प्यारातालमा उनीहरूले गिद्दे दृष्टि लगाएका हुन्,’ उनले भने, ‘प्यारातालका विषयमा सधैँ भारतीय पक्षसँग हामी लडिरहेका छौं।’ प्यारातालभन्दा पाँच सय मिटर दक्षिणमा रहेको पिलर नम्बर १९६ लाई भारतीय पक्षले गायब पारेर पुनर्वास नगरपालिका–८, कक्कडमा रहेको अर्जुन केसीको जमिनमा नक्कली पिल्लर निर्माण गर्‍यो। त्यही नक्कली पिलरलाई अहिले पनि भारतीय पक्षले आफ्नो भू–भाग रहेको भन्दै दाबी गरिरहेको बस्नेत बताउँछन्।

नेपाली भूमि बचाउन आफूहरूको सधैं भारतीय सुरक्षाकर्मीसँग झगडा हुने गरेको बताउँदै पुनर्वास नगरपालिकाकी कार्यपालिका सदस्य मनमाया सुनारले भनिन्, ‘प्यारातालको मुहान क्षेत्र त हामीले लडेरै जलकुम्भी सफा गर्‍यौँ, तर तलपट्टिको जलाधार क्षेत्रमा जानै दिँदैन।’ नेपाली भूमि बचाउन पुनर्वास क्षेत्रका नागरिकले दिलोज्यान दिएको उनले बताइन्। उनले भनिन्,‘हामी यसरी नेपाली भूमिका लागि लडिरहेका छौं, तर सरकारले भने कुनै मतलबै गर्दैन।’  

नेपाली भूमि संरक्षणका लागि पुनर्वास क्षेत्रका नागरिकले वर्षौदेखि भारतीय पक्षसँग लडिरहेको पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले बताए। उनले भने,‘अहिले पनि आक्कल झुक्कल भारतीय एसएसबीहरू नेपाली भूमिमै पस्छन्, त्यो बेला पुनर्वासका नागरिक प्रतिकारमा लागेकै हुन्छन्।’ जैविक महत्वको प्यारातालको जलाधार क्षेत्रमा अहिले पनि नेपाली नागरिकलाई जान तथा माछा मार्न नदिइएको उनी बताउँछन्। ‘प्याराताल नेपालकै हो,’ मेयर शर्माले भने, ‘प्यारातालको जलाधार क्षेत्र नेपालीलाई निर्धक्क प्रयोग गर्न दिइएको छैन।’ यसका लागि आफूहरूले सीघ्र समाधान होस् भनेरै प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरिएको उनले बताए।  

भारतीय पक्षले प्याराताल मात्र नभई कञ्चनपुरको पुनर्वास, परासन, खुड्डाकंकड, रामपुर विलासपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, गड्डाचौकी, ब्रह्मदेवमा नेपाली भूमि मिचेको छ।

प्रकाशित: ४ श्रावण २०७९ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App