coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखराका मेयर भन्छन्ः काम देख्न कम्तिमा ‘हनिमुन पिरियड’ सम्म त पर्खिनुस्

पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य। तस्बिरः उमेश पुन÷नागरिक

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नो काम हेर्न ‘हनिमुन पिरियड’ सम्म पर्खिन आग्रह गरेका छन्। महानगरको बजेट आईतबार पारित भएपछि सोमबार विहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो काम हेर्न कम्तिमा एकसय दिन कुर्न आग्रह गरे ।

आफू मेयर भएको चालीस दिनमात्र भएको बताउँदै उनले महानगरसँग ठूलो बजेट नहुँदा अहिलेसम्म सम्झनायोग्य काम गर्न नसकेको बताए। ‘म मेयर भएको भर्खर ३९–४० दिन मात्रै त भएको छ,’ उनले भने, ‘यो बीचमा हामीले धेरै अध्ययन गरेका छौं। के काम गर्ने भन्ने ‘प्लान’ बनाएका छौं। केहि दिनमै देखिनेगरी काम शुरु हुन्छ।’ उनले साउनको १–२ गतेदेखि जनतामा देखिने गरि काम शुरु हुने दाबी गरे।

धरान र काठमाडौंका मेयरले त चर्चा पाउनेगरी नै काम गरिरहेका छन् तर तपाईंलेचाहिं किन सक्नु भएन भन्ने प्रश्नमा उनले भने, ‘युट्यूबर अघिपछि लगाएर चर्चाका लागि मात्रै काम गर्नुपर्छ भन्ने मलाई लाग्दैन। धरान र काठमाडौंका मेयरको स्टाइलमा काम गर्ने हो भन्नेपनि मलाई लाग्दैन।’ उनले पाँच वर्ष काम गर्ने अवधि रहेकाले सिस्टम र विधि पु¥याएरै आफूले काम गर्ने बताए। चर्चाका लागि नै धरान र काठमाडौंका मेयरले काम गर्नु भएको छ त म भन्दिन,’ उनले भने, ‘तर एउटा मेयर दिनभर गिट्टी कुटेर बस्नुहुन्छ र त्यो समाचार बन्छ। त्यसरी नै एउटा मेयर दिनभर गिट्टी कुटेर बस्ने हो भने त जनताको काम गर्न सक्दैन। यो काम गर्ने स्टाईल हो भन्ने मलाई लाग्दैन।’

मेयर आचार्यले पूर्व मेयर मानबहादुर जिसीले आफ्ना ज्वाईंलाई ठेक्कामा दिएको पर्यटन बसपार्क र गल्फको जग्गा विधि नपु¥याई दिएको टिप्पणी गरे। ‘मलाई यो बारे पूर्व जानकारी थिएन न त कसैले मलाई ब्रिफिङ नै गरेको थियो,’ उनले भने, ‘यसबारे बुझ्न छानविन समिति बनाएका छौं । तर नाङ्गो आँखाले हेर्दा विधि र प्रक्रिया नपु¥याई हतारहतार सम्झौता गरेको देखिन्छ। थप कुरा त छानविन समितिको प्रतिवेदनमा आउला।’  

उनले सम्झौताबारे सरोकारवालाहरु महानगरका प्रमुख प्रशासकीय अधिकृत, कास्कीका प्रमुख जिल्ला अधिकारी, डिएफओलगायत कसैलाईपनि जानकारी नभएको दाबी गरे। उनले छानविन समितिको प्रतिवेदन अनुसार सम्झौता खारेज गर्ने प्रक्रिया अगाडि बढाउने बताए।

मेयर आचार्यले ल्याण्डफिलसाईट बारे चाँडै टुंगोमा पुग्ने बताए। अबको ल्याण्डफिलसाईट  प्रविधिको प्रयोग गरेर आधुनिक बनाईने बताउँदै उनले भने, ‘सहरबाट उठाएर फोहोर डम्पिङ गर्ने वा फोहोर चुहाउँदै लैजाने र प्रदुषित बनाउने खालको हुँदैन। त्यस्तो ग¥यो भने त कहिँ पनि ल्याण्डफिलसाईट बनाउन दिदैनन्।’ उनले फोहोरलाई घरघरमा छुट्याउने र बाँकी फोहोरलाई ल्याण्डफिलसाईटमा ‘रिसाईकल’ गर्ने बनाईने बताए।  

उनले पोखरा–३३ मा ल्याण्डफिलसाईट बनाउने कि नबनाउने भन्नेबारे त्यहाँको वातावरणीय प्रभाव मूल्याङ्कन भएपछि थाहा हुने बताए। ‘त्यहाँ बनाउने वा नबनाउने भनेर केहि पनि भनेका छैनौं, उनले भने, ‘तर प्रभाव मुल्यांकन नगरि निर्णय गर्न सक्दैनौं। यो नगरी ठाउँ डिक्लियर गर्दैनौ मात्र भनेको हो। त्यो ठाउँ छाडेको होईन।’

मेयर आचार्यले पोखराका सबै वडामा सार्वजनिक शौचालय बनाउने घोषणा गरे। पोखराका मुख्य सहरमै सार्वजनिक शौचालय नहुँदा यात्रुहरुले हैरानी खेप्नु परिरहेका बेला मेयर आचार्यले भने, ‘प्रत्येक वडामा सार्वजनिक शौचालय बनाउँछौं। यत्तिले मात्र पुग्दैन यसलाई थप्दै जान्छौं।’

मेयर आचार्यले पोखराको पृथ्वीचोकमा बसपार्कका लागि जति क्षेत्रफल छुट्टाईएको थियो त्यति नै क्षेत्रफलमा सिटी बसपार्क बनाईने बताए। सुकुम्बासीले ओगटेर एक चौथाई मात्र जग्गा बाँकी रहेका बेला उनले भने, ‘सुकुम्बासी होस् वा लालपूर्जा नै पाएको भएपनि त्यसलाई अधिग्रहण गरेर जति क्षेत्रफल हो त्यतिमै सिटी बसपार्क बन्छ।’ उनले बसपार्कमा ग्राभेल गर्नुका साथै नालापनि निर्माण गरिएकाले अस्थायी बसपार्कमा यसलाई सञ्चालन गर्न शुरु गरिने बताए।  

अबदेखि पृथ्वीचोक बसपार्कबाट पोखराका सबै वडामा गाडी छुट्ने व्यवस्था मिलाईने उनले बताए। मेयर आचार्यले पोखरा–३२ लामेआहालमा प्रदेश स्तरीय टर्मिनल बसपार्क पनि बनाईने बताए। त्यसका लागि प्रदेश सरकारले जग्गा प्राप्तिको लागि प्रक्रिया अगाडि बढाएको भन्दै उनले त्यसमा महानगरले सहजीकरण गर्ने बताए। 

उनले टर्मिनल बसपार्क नजिकै अटो भिलेज निर्माण गरिने बताए। उनले भने,‘टु ह्वीलर, फोर ह्वीलर र अटोसँग सम्बन्धित ठूला भेहिकलका लागि छुट्टाछुट्टै अटोपार्क बनाउँछौं।’ उनले टर्मिनल बसपार्कबाट पोखराको कोरसिटी आईपुग्न कस्तो सवारी साधन चलाउने भन्नेबारेमा अध्ययन भइरहेको बताए। ‘त्यहाँदेखि पोखरा भित्रिन सटल बस चलाउने कि ? ईलेक्ट्रिकल बस राख्ने कि ? कस्तो सवारी साधन चलाउने भन्नेबारेमा अध्ययन भइरहेको छ’–उनले भने।

मेयर जिसीले पोखरामा बहुतले पार्किङ बनाउने योजना रहेको बताए। सडक पार्किङ र त्यहाँबाट शुल्क उठाउने कार्य हटाउन महानगरले तयारी गरिरहेको बताए। उनले अहिलेको महानगर कार्यालय भवन भएको ठाउँ र नयाबजारस्थित प्रदर्शनी केन्द्रलाई पार्किङ बनाउने बारेमा छलफल चलिरहेको बताए।

मेयर आचार्यले पोखरालाई सौन्दर्यकरण गरिने बताए। त्यस अन्तर्गत पहिलो चरणमा पोखराको सानो रिङरोड भनेर चिनिने सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाबजार, पृथ्वीचोक, लेकसाईड पहिलो चरणमा सौन्दर्यकरण गरिने बताए। ‘ती क्षेत्रमा ईभिनिङ लाईट हाल्ने, फ्लावरिङ गर्ने, डिभाईडर राख्ने वा व्यवस्थापन गर्ने, ग्रिनरी गर्नेबारेमा सोंचेका छौ,’ उनले भने। यसले पोखरा साँच्चिकै राम्रो र सिंगारिएको छ अथवा व्यवस्थित हुँदैछ भन्ने अनुभूति पर्यटकलाई दिलाउने विश्वास उनको छ।

प्रकाशित: २७ असार २०७९ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App